राष्ट्रियसभाका १९ नयाँ सदस्यका लागि माघको दोस्रो सातासम्म निर्वाचन हुने – Nepal Press

राष्ट्रियसभाका १९ नयाँ सदस्यका लागि माघको दोस्रो सातासम्म निर्वाचन हुने

दिनेश थपलिया भन्छन्- प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन वैशाखमा गर्नेगरी परामर्श गरेका छौं

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्नेगरी तयारी गरेको छ ।

आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रियसभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचनको तयारी गरेको हो । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा जानकारी गराए ।

उनले फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताए । आयोगले माघको १०, ११ अथवा १२ गते भित्रमा निर्वाचन गर्नेगरी तयारी गरिरहेको बताए । त्यसैगरी रिक्त रहेको स्थानमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदहरुमा आगामी वैशाख महिनामा निर्वाचन गर्नेगरी सरकारलाई परामर्श दिइएको उनको भनाइ छ ।

थपलियाले भने, ‘आगामी फागुन २१ गते रिक्त हुन आउने एकतिहाइ, यो चोटी १९ जना पर्नुभएको छ । रिक्त चाहीँ २० वटै हुँदैछ तर निर्वाचन चाहीँ १९ वटा पदको निर्वाचन माघको दोस्रो हप्ता सम्पन्न गर्नेगरी आवश्यक तयारी गरेका छौं । मिति नेपाल सरकारले तोक्नुपर्ने भएको हुनाले आयोग तयारी अवस्थामा छ । सम्भवतः माघको १०, ११, १२ भित्रमा कुनै उपयुक्त समयमा हामी यो राष्ट्रिय सभाको रिक्त हुने १९ वटा पदको निर्वाचन गर्छौं । त्यसैगरी प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य १ र स्थानीय तहका २४ विभिन्न पदमा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । त्यसको निम्ति पनि हामी अनौपचारिक रुपमा छलफलमै छौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि आउँदो वैशाखतिर त्यो निर्वाचन गर्दा उपयुक्त हुन्छ भन्ने आयोगले अनौपचारिक परामर्श दिएको छ । हामी ३ महिनाको समय भयो भने जुनसुकै अवस्थामा पनि निर्वाचन सम्पन्न गर्नसक्छौं । आवश्यक तयारी भइरहेको छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तहमार्फत मतदाता नामावली संकलन गर्ने काम अगाडि बढाउने पनि जानकारी दिए । त्यस्तै विदेशमा भएका तर मतदाता नामावलीमा नाम नभएका नेपालीको पनि मतदाता नामावलीमा नाम संकलन गर्ने गरी काम अगाडि बढेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर