रातारात १० करोड भारु कमाउन खोज्दा दाङका कांग्रेस नेताहरूको पोलापोल, मुख्य योजनाकार सुरक्षा माग्दै प्रहरीमा – Nepal Press

रातारात १० करोड भारु कमाउन खोज्दा दाङका कांग्रेस नेताहरूको पोलापोल, मुख्य योजनाकार सुरक्षा माग्दै प्रहरीमा

काठमाडौं । केही दिनअघि जिल्ला प्रशासन कार्यालय दाङमा एउटा उजुरी पर्‍यो । घोराही-१५ निवासी नेपाली कांग्रेसका नेता, इन्जिनियर कुलराज खनालले आफ्नो जीउज्यानको सुरक्षाको माग गर्दै प्रशासनमा उजुी दर्ता गराए ।

उजुरीमाथि कारबाही प्रकृया अघि बढाउन भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा प्रशासनले पठायो । प्रहरीले उजुरी दिने व्यक्तिले आफूलाई खतरामा पार्नेहरूको नामसहित दिएकाले छलफलका लागि बोलायो ।

छलफल चल्दै गर्दा त्यसको अन्तर्य खुल्दै गयो, यो प्रकरणमा १० करोड भारुको चक्कर रहेछ । भारु नोटको लागि अवैध कारोबार गर्न विभिन्न व्यक्तिबाट पैसा उठाउने क्रममा मुख्य योजनाकार रहेका खनालले नै पैसा फसेपछि जोगिनका लागि उजुरी हालेको छलफलमा कुरा उठ्यो ।

खनालले मास्टरप्लान बनाई अवैध तरिकाले यसरी पैसा कमाउन सकिन्छ भनेपछि उनीसँग पैसा भएका र चाँडो रातारात धनी बन्न चाहने विभिन्न व्यक्तिहरू जोडिन पुगे । कुनै बेला भारतीय बजारमा २ हजारको नोट बन्द गर्ने हल्ला चल्दा यहाँका पैसावाला व्यापारीको मिलेमतोमा खनालकै मुख्य योजनामा यो काम भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

करिब १० करोड नेपाली रूपैँयाको भारु नोट लिन गएको टोली रित्तो हात फिर्ता भएपछि यो ठूलो ठगीको पर्दाफास भएको हो । रित्तो हात आएको टोलीले नेपाली पैसा सबै भारतीय टोलीले लगेको दाबी गरेको छ । भारु नोट प्रकरणबारे बजारमा हल्ला चलेको धेरै भएपनि अहिले मात्रै प्रशासन हुँदै जिल्ला प्रहरी कार्यालयसम्म उजुरी पुगेको हो ।

यद्यपि, प्रहरीले भारु नोटको अवैध कारोबार गर्ने यो गिरोह नै मुख्य भए/नभएको बारेमा त्यति प्रभावकारी अनुसन्धान गर्न सकेको छैन । दुवै पक्षबीच छलफल गरेर टुंग्याउने पक्षमा प्रहरी देखिन्छ । यसमा कांग्रेसकै नेताहरू संलग्न रहेकाले पनि प्रहरीले गहिराइसम्म जान नचाहेको हो ।

यति ठूलो परिमाणमा भारु नोटको अवैध कारोबारबारे प्रहरीको अनुसन्धान फितलो देखिन्छ । खनालले योजना बनाएर गरेको या कारोवारमा घोराहीका पैसावाला मानिने खड्ग बुढाथोकी, महेश श्रेष्ठ, दुर्गा घर्ती, किशोर केसी, गणेश भण्डारी, महेन्द्र बस्नेतसम्म जोडिएका छन् ।

बुढाथोकी कांग्रेस क्षेत्र नम्बर २ का सल्लाहकार र यसअघि वेष्टर्न बैंक घोराहीको १८ करोड हिनामिनामा मुछिएका व्यक्ति हुन् । श्रेष्ठ कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । भण्डारी कांग्रेस नेता नारायण भण्डारीका छोरा हुन् । दुर्गा कांग्रेस क्षेत्र नम्बर २ ‘क’ को प्रदेश सभापति लडेका नेता हुन् भने केसी गुण्डागर्दीमा स्थापित छन् ।

पैसा लगानी गर्ने यी सबै घर घडेरी, जग्गा बैंकमा ऋणमा राखेर जोडिएका छन् । यद्यपि, प्रहरी छलफलमा सहभागीहरुले खनालले नै आफूहरूलाई जोडेको बयान दिएका छन् । यो उजुरी जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले हेरिरहेका छन् ।

उनले मिलेर आउन समेत पीडित र पीडक दुवैलाई समय दिएर पठाएका छन् । तर, दुवै पक्ष मिलेर नआए फरक तरिकाले अनुसन्धान गर्ने डीएसपी मल्लले बताएको छलफलमा सहभागी एकजना व्यवसायीले बताए ।

खड्गदेखि भण्डारीसम्मले न्यूनतम ५० लाखदेखि अधिकतम अढाई करोडसम्म लगानी गरेको प्रहरी स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले भारु नोट प्रकरणबारे प्रहरीमा उजुरी आएको बताए ।

उनले यो बारेमा उजुरी दिने पीडित र पीडक भनिएका पक्ष राखेर छलफल गरिएको पनि जानकारी दिए । क्यासिनो खोल्नका लागि भारु नोटको लेनदेन गरेको प्रहरी अनुसन्धानमा खुलेको र अन्य कुराहरू र त्यसको वैधानिक स्रोतबारे पनि अनुसन्धान चलिरहेको उनले नेपाल प्रेसलाई जानकारी दिए । भारु नोटको मुख्य कारोबारी व्यक्तिसम्म पुग्ने गरेर अनुसन्धान केन्द्रित गरिएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर