आरके शर्मालाई प्रश्न- हारेको मान्छे निर्वाचित अध्यक्ष भन्दै माला लगाएर हिँडनु हास्यास्पद भएन ? – Nepal Press
नेपाल टक

आरके शर्मालाई प्रश्न- हारेको मान्छे निर्वाचित अध्यक्ष भन्दै माला लगाएर हिँडनु हास्यास्पद भएन ?

बद्री केसीलाई आरके शर्माको प्रस्ताव- फेरि चुनाव गराउने भए म अध्यक्ष सेक्रिफाइस गर्न तयार छु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा भर्खरै सम्पन्न ११ औं महाधिवेशन चरम विवादग्रस्त बन्यो, जुन अहिलेसम्म सुल्झेको छैन । नेपालको समृद्धिमा योगदान गर्न भनेर खुलेको संस्थाका अगुवाहरू नै कुर्सीका लागि नग्न परेड खेलिरहेका छन् ।

महाधिवेशनका क्रममा भएको निर्वाचनबाट डा. बद्री केसी अध्यक्षमा विजयी भएका थिए । तर, पराजित उम्मेदवारद्वय आरके शर्मा र महेश श्रेष्ठले अनलाइनबाट गराइएको मतदान त्रुटिपूर्ण भएको भन्दै परिणाम नमान्ने घोषणा गरे । यतिमात्र होइन, आरके शर्माको नेतृत्वमा अर्को समानान्तर कार्यसमितिसमेत बनाएर एनआरएनलाई औपचारिक विभाजन गरिएको छ ।

शर्मा भने आफूले एनआरएन फुटाएको स्वीकार गर्दैनन् । मतदानका विषयमा विवाद भइसकेपछि तीन पूर्वअध्यक्ष र हालका तीन प्रत्याशीहरूबीच सबै प्रक्रियालाई स्थगित गरेर १५ दिनभित्र छानबिन गर्ने भनी भद्र सहमति भएको, तर केसीले उक्त सहमति तोडेपछि आफूहरूले यस्तो कदम चाल्नुपरेको उनको भनाइ छ ।

शर्माले मिल्ने भए एनआरएनएको पुन निर्वाचन गराउनुपर्ने प्रस्ताव केसीसँग गरिरहेका छन्, जसलाई स्वीकार्न केसी तयार छैनन् । छानविन समिति बनाएर विवादको हल खोज्न केसीको जोड छ, जसलाई स्वीकार्न शर्मा तयार छैनन् ।

यता, सरकारले भने पराजित समूहले बनाएको समानान्तर कार्यसमितिप्रति सदासयता देखाएको छ । प्रधानमन्त्री र मन्त्रीहरूले पराजित कार्यसमितिलाई धमाधम भेट गरिरहेका छन् भने विजयी टीमसँग भेट्न मानेका छैनन् ।

प्रजातान्त्रिक तवरबाट भएको निर्वाचन स्वीकार नगरेका पराजित समूहका अध्यक्ष आरके शर्मासँग नेपाल प्रेसका लागि चिरञ्जीवी पौडेलले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छः

– तपाईंले एनआरएनएको निर्वाचन परिणामलाई नमान्ने भनेर संस्था नै फुटाउनुभयो । पराजय स्वीकार्न किन यति गाह्रो भएको ?

सबैभन्दा पहिले तपाईंले क्लीयर्ली बुझ्नुपर्ने कुरा हो भने मैले एनआरएन फुटाएको होइन । ११ औं महाधिवेनशनको निर्वाचन प्रक्रियामा धेरै त्रुटि देखिए । म व्यक्तिविशेषलाई आक्षेप लगाउन पनि चाहन्न, एउटाको नाममा अर्काले भोट हाले, नेपालमा भएको मान्छेका नाममा अमेरिकाबाट मतदान भयो, कतारमा भएको मान्छेको नाममा नेपालबाट भोट खसाइयो । यस्ता धेरै त्रुटी भएपछि तीन पूर्वअध्यक्ष र अहिलेको अध्यक्षका तीन प्रत्याशी बसेर साझा सम्झौता भएको थियो । जनमानसमा राम्रो म्यासेज गएन, दुई हप्ताभित्र यसको छानबिन गरेर सत्यतथ्य के हो भन्ने पत्ता लगाउँ, अनि त्यसका आधारमा अघि बढौं भन्ने क्लीयर कुरा भएको थियो । तर, डा. बद्री केसीले यस्तो सहमति तोड्नुभएपछि नयाँ परिस्थिति उत्पन्न भएको हो ।

– लिखित सहमति नै भएको थियो ?

लिखित कि मौखिक भन्दा पनि यो एउटा सामाजिक संस्था हो । सबै कुरा लिखित नै चाहिन्छ भन्ने हुँदैन । निर्वाचन आयुक्तले निर्वाचन प्रक्रियामा त्रुटि भएको भनेर सार्वजनिक सूचनामा राख्नुभएको छ । त्यसपछि तीन अध्यक्षद्वारा यो कार्यसमिति भंग नहुने गरी अबका कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ भनेर भनिएको हो । त्यसपछि दुई हप्ताभित्र सत्यतथ्य छानबिन गरेर जाउँ भन्न थियो ।

तर, एउटा सम्झौता भइसकेपछि बिहान कसैलाई पनि थाहा नदिइकन, बन्द भएको कार्यक्रम सुचारु गर्ने नोटिसविनै १० घन्टा नबित्दै शपथ खान जरुरी थिएन होला नि । यो कुरामा यति हतासबाजी गर्नुपर्ने किन ? म तपाईंमार्फत मेरो पूर्वअध्यक्ष बद्री केसीलाई सोध्न चाहन्छु ।

तपाईंहरूले नै विश्वास गरेर अष्ट्रेलियन कम्पनी ‘भेरो’ लाई मतदानको जिम्मा दिनुभएको हो । यो एउटा स्थापित कम्पनी पनि हो, जसले अष्ट्रेलिया सरकारकै धेरैवटा मतदान गराइसकेको छ । तपाईंहरूको चुनावमा एउटा सानो प्राविधिक त्रुटि देखिएको थियो, जुन कम्पनीले सच्याइसक्यो । यसैलाई लिएर यति ठूलो बखेडा गर्न मिल्छ ?

निर्वाचनमा मेरो क्लीयर मत के थियो भन्दा ‘भेरो’ लाई दिने हो भने नेपालमा एउटा सफ्टवेयरलाई कार्वन कपी गरेरमात्रै निर्वाचन गराऊँ । मैले पूर्वमहासचिव गौरी जोशीलाई पनि पर्सनल्ली भनेको थिएँ । जसरी जिते पनि सिस्टम गडबड गरे भन्छन्, एट लिस्ट एउटा कार्वन कपि गरेर जाउँ भनेर सुझाव दिएको थिएँ । अहिलेसम्मका मिटिङ हेर्नु भयो भने मेरो अडान त्यही थियो ।

– भन्नाले भेरोप्रति तपाईँलाई विश्वास थिएन ?

भेरोप्रति मलाई पूर्ण विश्वास नभएरै मैले कार्वन कपि राखौं भनेर हरेक मिटिङमा उठाएको छु । मेरो मिटिङको माइन्यूट पनि हेर्न सकिन्छ ।

– जुन कम्पनीमाथि तपाईँलाई विश्वास थिएन, त्यसले गराउने निर्वाचनमा सहभागी हुन किन तयार हुनुभयो त ?

विश्वास र अविश्वास भन्दा पनि बहुमत र अल्पमतले चल्ने एउटा प्रणाली हुन्छ । त्यसैले स्वीकार्न कर लाग्यो । यसरी पनि बुझ्नुपर्यो कि भिन्न मतले पनि त कहीँ न कहीँ बहुमतसँग मिलेर जानुपर्छ होला नि त ।

– जेसुकै भए पनि निर्वाचनमा गएपछि त परिणामलाई स्वीकार गर्नुपर्ने सबैभन्दा आधारभूत कुरा होइन र ? यो वा त्यो बहाना गरेर परिणाम मान्दिन भन्नु प्रजातान्त्रिक संस्कार हुन्छ ?

हामीले कुनै पनि नचाहिँदो बहाना बनाएको छैन । आम जनमानसलाई सोध्नुस । नेपालमा भएको मान्छेको अमेरिकाबाट कसरी भोट खसालियो ? कतारमा भएको मान्छेको अर्को मान्छेले कसरी भोट हाल्यो ? ५४ जना वेटिङमा हुँदाहुँदै सिस्टम कसरी बन्द गराइयो ? मेरो ठाउँमा तपाईं हुनुभएको भए के गर्नुहुन्थ्यो ? प्रजातान्त्रिक संस्कारका नाममा मैले गलत कुराहरू पनि स्वीकार्नुपर्ने हो र ?

– तर, तपाईंहरूले नै गठन गरेको निर्वाचन समितिले अन्तिम निर्णय दिइसकेपछि त स्वीकार्नैपर्थ्यो नि, होइन र ?

निर्वाचन समितिले त्रुटि स्वीकारेको छ । हामीले यो निर्वाचन समितिलाई यो प्रक्रिया स्थगित गर्नुस् भनेर क्लीयर्ली लेखेर दिएका छौं । निर्वाचन समिति भनेको भगवानै त होइन होला । आफैंले त्रुटि स्वीकार्ने अनि, विजयी घोषणा पनि गर्ने कसरी हुन्छ ?

– एउटा प्राविधिक त्रुटि देखिएपछि निर्वाचन समितिले भेरो कम्पनीसँग सोधपुछ गरेर कम्पनीको प्रष्टीकरणमा विश्वस्त भएको, अनि प्राविधिक गल्ति सच्याएर रिजल्ट प्रकाशित गरिएको होइन ?

यो कुरामा मेरो विमति छ । त्यो प्राइभेट कम्पनी हो । एकपटक मिस्टेक गरिसकेपछि एकपक्षीय हिसाबमा गरियो । न कुनै उम्मेदवारलाई राखेर सम्झौता भएको छ, न सुरूदेखि अन्तिमसम्म कुनै मुचुल्का उठेको छ । न कतिवटा डिभाइसमा काठमाडौंबाट भोट हालिएको छ भनेर लेखएिको छ । जे पनि गरेर हुन्छ ? मैले बुझेको ८ वटा कम्युटर सोल्टी होटलमा थिए, आज कतिवटा डिभाइसबाट मतदान भयो, अडिट हेरौं न त । धेरै त्रुटि भएको छ ।

– त्रुटि भएको भए त्यसलाई प्रमाणसहित सार्वजनिक गरेर कानूनी उपचारमा गएको भए हुन्थ्यो होला । तपाईंले त त्यसैको बहानामा अर्को कमिटी बनाउनुभएको छ । तपाईंले बनाएको कमिटी कसरी वैध हुन्छ ?

दुईवटा कुरा क्लीयर्ली बुझन्पर्ने के छ भने कानूनी हिसाबमा बन्द सत्र सुचारु नगरिकन र पुरानो कार्यसमिति भंग नगरिकन नयाँले शपथग्रहण गर्न मिल्दैन । एउटा प्रधानमन्त्रीको पद भंग नभइकन अर्को प्रधानमन्त्रीले सपथ खाएको देख्नुभएको छ ? म धेरै कानून बुझ्दिनँ, तर एउटा लेम्यानको हिसाबले यति चाहीँ बुझ्छु । तीनजना अध्यक्षले स्थगित गरेको कार्यक्रम सुरू पनि नगरिकन भ्याकुम टाइममा सपथ खान मिल्थेन ।

– तर, बद्री केसीले आखिर चुनाव त जितेकै हो । सपथ खाने नैतिक बल त उहाँसँग थियो नि ?

उहाँले जसरी नैतिक बलले पेल्न खोज्नुभयो नि, हाम्रो कदम त्यसैको बाइप्रडक्ट हो । धाँधली भएको थिएन भनेर ढुक्क हुनुहुन्थ्यो भने उहाँले दुई हप्ता पनि किन पर्खिन सक्नुभएन ?

– दुई हप्तापछि पनि तपाईंहरूले मान्ने त ग्यारेन्टी थिएन । कुनै बहाना गरेर फुटाउनु नै हुन्थ्यो होला नि ?

ग्यारेन्टी र नग्यारेन्टीको कुरा होइन । एउटा सहमति उल्लंघन गरेपछि उहाँले अर्कोलाई बाध्यतामा पार्नुभएको हो । सबै स्थगन गरियो, मान्छे लाखापाखा लागे, न कसैलाई नोटिस छ, न कार्यक्रम सुचारु छ, न प्रतिवेदन पढेर सुनाए, न पुरानो कार्यसमिति भंग भए । एकजना निर्वाचन आयुक्त आफ्नो मान्छे हुनुहुँदो रहेछ अहिले बुझ्दाखेरि । उहाँले र दुईजनाले जबर्जस्ती सपथ खुवाए । म त्यतिधेरै कानून बुझ्दिनँ । तर, यही नै उहाँको नैतिक बल हुन्छ र ? यो त सामाजिक संस्था हो नि । कुनै सैनिक शासनले कु गरेर सत्ता हटाउने संस्था त होइन होला ।

तपाईंले नयाँ कमिटी बनाएर अध्यक्ष हुँ भनेर हिँड्नुभएको छ । चुनाव हारेको मान्छे यसरी माला लगाएर बधाई थाप्दै हिँड्दा हास्यास्पद भएन ?

होइन । यसमा मलाई भन्दा हास्यास्पद पूर्वअध्यक्ष डा. बद्री केसीलाई हुनुपर्ने हो । हाम्रो क्लीयर माग हो कि यो निर्वाचनमा त्रुटि छन् । मैले नयाँ कमिटी बनाएँ । वैधानिकता भोलि कसले पाउँछ त्यो पनि हेरौंला, समय आउँदैछ । अर्को कुरा अस्ति मेरो उहाँसँग भेट भएको थियो । मैले रिइलेक्सन गर्नुस्, मसँगै डर छ भने म अध्यक्षमा उठ्दिनँ पनि भनेको छु । तर, आम जनतालाई ढाँटेर यसरी कम्प्युटरको नेता हुन उहाँलाई पनि छुट छैन ।

– अब गैरआवासीय नेपालले कुन एनआरएनएलाई बैध मान्ने त ? नेपालको सरकारले कसलाई मान्यता दिने ?

मेरो योजना के हो भने, शेष घले दाइको टीममा जुन विनोद कुँवरको नेतृत्व पनि हामीसँग छिट्टै संयुक्तरूपमा आउँदै हुनुहुन्छ । डा. बद्री केसीज्यूको कार्यसमितिलाई सँगै ल्याएर इलेक्सनमा लैजाने मेरो योजना छ । इलेक्सन अर्को गराउनुको विकल्प छैन ।

भनेपछि फेरि महाधिवेशन गर्नुपर्‍यो ? त्यस्तो विधानले मिल्छ ?

महाधिवेशन गर्नुपर्दैन । निर्वाचन प्रक्रियामा त्रुटि भएको हुँदा त्यसलाई फेरि सुचारु गर्ने हो । नेपाल सरकारकै रोहबरमा निर्वाचन गर्नुपर्छ । मेरो कमिटी पनि हुँदैन, बद्री केसीको पनि हुँदैन । निष्पक्ष हुनुपर्छ । अनलाइन हुँदा पनि कार्वन कपी गरेर दुईवटा सफ्टवेयरमा जाउँ । डा. बद्री केसीलाई आरके आउँदा अप्ठेरो हुन्छ भन्ने हो भने सेक्रिफाइस गर्ने कुरामा म सोच्न सक्छु ।

– गृहमन्त्रीदेखि प्रधानमन्त्रीलाई भेटिथसक्नुभयो, उहाँहरूले तपाईंलाई बधाई दिनुभयो कि मिलेर जान सुझाव दिनुभयो ?

उहाँहरूलाई मैले नितान्त कामको लागि भेटेको । मध्यपूर्व र इजरायलका घटनामा अबका स्टेपहरू के हुन्, हामी एनआरएन र तपाईंहरूले सपोर्ट गर्नुपर्ने कुरा के हुन् भन्ने एजेन्डामा भेटेका हौं ।

– एनआरएनए अध्यक्षकै हैसियतमा त भेट्नुभयो होला नि ?

अध्यक्षको हैसियतमै भेटेँ । हामी यति पीडित छौं भनेर हामीले सुनाउने त सरकारलाई नै होला नि । अर्को कुरा मैले प्रतिपक्षका नेता सम्माननीय पूर्वप्रधानमन्त्रीसँग एप्वाइन्टमेन्टका लागि धेरैपटक बिन्ति गरिसकेको छु । उहाँसँग पनि मेरा गुनासा सुनाउन जानु छ । मेरो लागि सबै राजनीतिक दल बराबर हुन् । अन्याय भएपछि म जाने कहाँ होर ?

– तर, तपाईंलाई त माओवादी र प्रचण्ड निकट भन्छन् । प्रधानमन्त्रीकै संरक्षण पाएर मनपरी निर्णय गरिरहनुभएको आरोप लागेको छ नि ?

त्यो त तपाईंहरूले कसरी वर्णन गर्नुहुन्छ भन्ने हो । आजसम्म मैले कुनै पनि सम्मानित पार्टीको सक्रिय सदस्यता लिएको छैन ।

– प्रधानमन्त्रीले तपाईंलाई बधाई दिनुभयो कि दिनुभएन ?

होइन, म हामी यसरी अन्यायमा पर्यौं भनेर गएको हो । उहाँले निष्पक्ष छानबिन हुन्छ भन्नुभयो । मैले कहीँ न कहीँ धाँधलीको गन्ध पाएपछि निर्वाचनभन्दा दुई दिनअगाडि साइबर ब्युरोमा पनि गएको थिएँ । प्रधानमन्त्रीलाई पनि यस्तो हुँदैछ रे भनेर पनि नोटिस गराएको थिएँ । बधाईको कुराको कन्सर्नभन्दा पनि ७० लाख नेपालीको जनभावनाको कुरा महत्वपूर्ण हो ।

– बद्री केसीसमक्ष अब तपाईंको ठोस प्रस्ताव के छ ? पुन:निर्वाचनको मागभन्दा अलिकति पनि लचक हुन सक्नुहुन्न ?

मेरो पूर्वअध्यक्षलाई मैले क्लीयर्ली भनेको छु, अहिले पनि संस्थाको माया छ भने आउनुस् रिइलेक्सन गरौं । आरके तिमी आयौ भने जित्दिन भन्नुहुन्छ भने म ब्याक हुन्छु ।

– उहाँको भनाइ के थियो ?

पुन:निर्वाचन उहाँले स्वीकार्नुभएको छैन । फेरि पनि छानबिन कमिटी बनाउँ भन्नुभएको थियो । मैले क्लीयर्ली भनेँ कि २० अक्टोबरमा २१७ नम्बर कोठामा जुन हाम्रो सम्झौता भएको थियो, त्यो पोाजिसनमा तपाईं अध्यक्षको प्रत्याशी भएर बस्नुहुन्छ भने स्वतन्त्र कमिटी गठन गरौं न त भन्दा म आफ्नो बलजफ्तिमै जान्छु भन्नुभयो ।

– एनआरएनको कार्यालय एउटै छ । अब त्यसमा बद्री केसीको टिम बस्ने कि तपाईंको टीम ?

एनआरएनको कार्यालय न मेरो न डा. बद्री केसीको । आम श्रमकदेखि विदेशमा बस्ने नेपालीले १०-१० डलर उठाएर बनाएको साझा सम्पत्ति हो ।

– तपाईंले पदभार ग्रहण कहाँ गर्नुभयो ?

मैले पदभार ग्रहण गर्ने नै एनआरएनको मुख्यालयमा हो ।

– त्यहाँ त बद्री केसीले पदभार ग्रहण गरिसक्नुभयो । उहाँले नै ताला लगाउनुभएको छ होइन ?

उहाँको पनि प्राइभेट अफिस त होइन होला नि त । ताला लगाएर हिँड्नु भनेको पनि नैतिकताको प्रश्न हो । बैंकमा सीइओ त ताला लगाएर हिँड्दैन ।

– अनि अध्यक्षको कुर्सी जसले भेट्यो, उ आएर बस्ने र पदभार ग्रहण गर्ने हुन्छ त ?

उहाँ स्वघोषित अध्यक्ष हो । आमजनताले अध्यक्ष मानेका छैनन् ।

– नेपालका दलहरू र नेतालाई राजीतिक संस्कार सिकाउन खोज्ने तपाईंहरू नै यसरी कुर्सीको लडाइँमा लिप्त हुँदा एनआरएनको छवि बर्बाद भएन ?

यो कुर्सीको लडाइँ होइन । आमजनतामा उठेको शंकाको कुरालाई क्लीयर गर्नुपर्छ भन्ने मेरो लडाईं हो । कुर्सीको लडाइँ त अध्यक्ष बद्री केसीले गरिरहनुभएको छ । १८ महिना अध्यक्ष भइसकेपछि पनि छोड्न नचाहने, कुर्सीको मोह त मैले भन्दा उहाँले धेरै देखाइरहनुभएको छ भनेर बुझिदिन अनुरोध गर्छु । कुर्सीको लडाइँको कुरा उहाँलाई नै सोध्नुस् भन्न चाहेँ ।

– सरकारले तपाईंहरूलाई मान्यता दिन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

हामी भिक्टिम हौं । हामीले न्याय पाउनुपर्छ । यो कुरामा हामी आश्वस्त छौं । सम्माननीय पूर्वप्रधानमन्त्रीसँग पनि भेट गर्ने कोशिषमा छु । सबै राजनीतिक दलकहाँ जन्छु । न्यायका लागि जहाँ पनि जान तयार छु ।

– एनआरएन चलाउनका लागि आर्थिक स्रोत चाहियो । संस्थाको कोष संस्थापन पक्षको नियन्त्रणमा छ । तपाईंहरू कसरी चलाउनुहुन्छ ?

मैले अघि नै भनेँ, ५/१० डलर लेवि उठाएर बनाएको कोष हो यो । मनलाग्दी खर्च गर्न कसैले पाउँदैन । सबैको साझा संस्था भएको हुँदा निर्वाचन कमिटीले दियो भन्दैमा खर्च गर्ने अधिकार छैन । उहाँहरूले स्टाफहरूलाई यो पैसा यहाँ रिलिज गर भन्न पाउनुहुन्न । स्टाफको पनि आफ्नो डिग्निटी छ । निर्वाचन समितिका पाँचमध्ये दुईजनाले शपथ खुवाए भनेर जे मर्जी गर्न पाउँछ ?

– कोषमा पहुँच त भएन नि तपाईंहरूको ?

सम्मानित निकायलाई खबर गरेका छौं । एनआरएनएको कोष रोक्का हुनुपर्छ ।

– अब अदालत जानुहुन्न ?

परिस्थितिले जे सिर्जना गर्छ त्यसैअनुसार अघि बढ्ने हो । बद्री केसीले के सुरू गर्नुहुन्छ, त्यसपछि संस्था बचाउनका लागि कहाँ जानुपर्छ त्यहाँ जान्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर