कपिलवस्तु सहकारीको ६ वर्षपछि साधारणसभा – Nepal Press

कपिलवस्तु सहकारीको ६ वर्षपछि साधारणसभा

रुपन्देही । १२ करोड हिनामिना भएपछि २ वर्षसम्म बन्द भएको कपिलवस्तुको तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको ६ वर्षपछि साधारणसभा तथा अधिवेशन भएर लयमा फर्किने भएको छ ।

सहकारीको २५ औ साधारण सभा र १३ औ अधिवेशन भएपछि पुरानो लयमा फर्किने अपेक्षा गरिएको छ । अदालतको आदेशपछि १५ महिनाअघि राजुप्रसाद अर्यालको अध्यक्षतामा सहकारीको कार्य समिति गठन गरी बन्द रहेको सहकारी पुनः संचालन गरिएको थियो ।

साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले ३ दशकअघि स्थापना भएको सहकारी केही ब्यक्तिहरुको कारणले समस्यामा परेको र अहिले फेरी संचालन भएकोमा खुशी ब्यक्त गरे । उनले बचतकर्ताहरुको बचत फिर्ता गरी जनतको बिश्वास जित्ने गरी काम गर्नुपर्ने र यो सहकारीलाई फेरी माथि उठाउन जरुरी रहेको बताए ।

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले आफू पनि सो सहकारीको सदस्य रहेको भन्दै यो सहकारी फेरी संचालनमा आएकोमा खुशी ब्यक्त गर्दै अब जनताको मन जित्ने गरी काम गर्न सुझाए ।

सहकारीका अध्यक्ष राजु प्रसाद अर्यालले संकटगस्त सहकारीलाई पुनः लयमा फर्काइएको बताउँदै बचतकर्ताहरुको केही रकम फिर्ता गरिसकेको र बाँकी पनि नयाँ नीति बनाएर फिर्ता गरिने योजना बनाएको बताए ।

१८ सयभन्दा बढी शेयर सदस्य रहेको सहकारीमा २ सय ८५ जना मात्र सदस्य उपस्थित रहेकोले बन्द सत्र भने सोमवार हुन सकेन । आउने कार्तिक २२ गते कपिलवस्तु नगरपालिकाको हलमा बन्द सत्र गरिने कार्यक्रम तय भएको अध्यक्ष अर्यालले बताए । ११ करोड ९९ लाख हिनामिना रहेको सहकारीमा ५३ जना बिरुद्ध मुद्दा चलिरहेको छ ।

अदालतले सो मुद्दाको फैसलामा १५ बुँदे निणर्य निर्देशिका जारी गरी विशेष साधारणसभा गरी सहकारी पुनः सञ्चालन गर्न आदेश दिएको थियो । सहकारीको कागजात र विवरणमा ५ सय १४ जना ऋणीहरुसँग १० करोड हाराहारी सावा र ब्याज रकम असुली गर्न बाँकी रहेको देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर