राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्ने – Nepal Press

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको दुबै सदनलाई मंगलबार सम्बोधन गर्ने भएका छन् ।

महासचिव गुटेरेसलले नेपालको सङ्घीय संसदको दुबै सदनलाई आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने बताए ।

बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको उनले जानकारी दिए । गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने उनले बताए ।

उनले भने– ‘संसदको अभ्यासअनुसार बैठक प्रारम्भ हुन्छ । दुवै सभाको संयुक्त बैठक सञ्चालन नियमावलीले तोके बमोजिम बैठक सञ्चालन हुन्छ । सभामुखले अध्यक्षता गर्दै बैठक सञ्चालन गर्नुहुन्छ । राष्ट्रिय सभा अध्यक्ष पनि त्यहीँ नै हुनुहुन्छ । बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिवले आफ्नो सम्बोधन राख्नुहुन्छ । सम्बोधन राखिसकेपछि भोलि बस्ने सोही बैठकले नै धन्यवाद ज्ञापन प्रश्ताव समेत पारित गरेर बैठक अन्त्य हुन्छ ।’

प्रवक्ता गिरीले महासचिव गुटेरेसको सम्बोधनलाई संसद बैठकमै तत्कालै अनुवाद गर्नसक्ने अवस्था नरहेको भन्दै वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको पनि जानकारी दिए ।

उनले भने – ‘संसदमा रोष्टमबाट बोलेको कुरो संसदमा त्यहीँ अगाडी नै रोष्टममा बसेर अनुवाद गरेर अगाडी जान सक्ने अवस्था देखिन्न । अन्य वैकल्पिक के गर्न सकिन्छ भनेर प्रयास गरिराखिएको छ । उत्तम विकल्प के हुनसक्छ भनेर छलफल भइरहेको छ । निष्कर्षमा पुगिसकिएको छैन ।’

उनले महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राख्ने स्पष्ट पारे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर