नेपाललाई थपिएको चिन्ता– दीपेन्द्रको ठाउँमा बलर खेलाउने कि ब्याट्सम्यान ? – Nepal Press

नेपाललाई थपिएको चिन्ता– दीपेन्द्रको ठाउँमा बलर खेलाउने कि ब्याट्सम्यान ?

काठमाडौं । टी–२० विश्वकप छनोट प्रतियोगिता सुरु भएकै दिन नेपाली टीमलाई निकै ठूलो झट्का लाग्यो । स्टार अलराउन्ड दीपेन्द्र सिंह ऐरी चोटका कारण केही दिन मैदानमा उत्रिन नसक्ने भएका छन् ।

एक सातामै सकिने यो प्रतियोगिताका सबै खेलहरु दीपेन्द्रले गुमाउने सम्भावना प्रबल देखिएको छ । दोस्रोपटक टि–२० विश्वकप खेल्ने अभियानमा रहेको नेपालका लागि यो एउटा सोच्दै नसोचेको दुर्घटना हो ।

अचानक दीपेन्द्रको अनुपस्थितिले नेपाली टीममा ठूलो रिक्तता उत्पन्न हुनेमा शंका छैन । उनी नेपालका सबैभन्दा भरपर्दा ब्याट्सम्यान मात्र नभएर उत्कृष्ट फिल्डर र किफायती बलर पनि हुन् । टिममा उनलाई प्रतिस्थापित गर्न सक्ने अर्को खेलाडी नै छैन भन्दा हुन्छ ।

नेपालले टि–२० क्वालिफायरका लागि १५ सदस्यीय टिम घोषणा गरेको थियो । टीममा थुप्रै अलराउन्डरहरु छन् । दीपेन्द्रले खेल्न नसक्ने भएपछि आज हतारमा विवेक यादवलाई उनको ठाउँमा खेलाइयो । तर, यादवले न बलिङ गर्न पाए न ब्याटिङ ।

२० वर्षिय यादव आशालाग्दा प्रतिभा हुन्, तर उनीसँग अनुभवको कमि छ । घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आए पनि अन्तर्राष्ट्रियमा उनले आफूलाई प्रुफ गरिसकेका छैनन् । यादवले अहिलेसम्म नेपालका लागि ९ वटा टि–२० अन्तर्राष्ट्रिय खेल्दा कुल १७ रन मात्रै जोड्न सकेका छन् ।

आज प्लेइङ सेटमा नपरेका थप तीन खेलाडी हुन् विनोद भण्डारी, प्रतिश जिसी र ललित राजवंशी । ललितको अनुपस्थितिमा नेपालले भोलिको म्याचमा विवेकलाई नै निरन्तरता दिन्छ वा यी तीनमध्ये एकलाई भन्ने महत्वपूर्ण प्रश्न छ ।

विनोद अनुभवि खेलाडी हुन्, तर उनको ब्याटिङ भरपर्दो छैन । उनलाई विकेट किपर ब्याट्सम्यान आसिफ शेखको ब्याक अपका रुपमा टिममा राखिएको हो । दीपेन्द्रको ठाउँमा विनोदलाई रोज्ने सम्भावना न्यून छ ।

ललित राजवंशी उत्कृष्ट स्पिनर हुन् । तर, आज उनी बेञ्चमा बस्नुपर्यो । दीपेन्द्र बाहिरिँदा उनका लागि ठाउँ खाली हुन सक्छ । तर, ललित बलर मात्र हुन्, ब्याटिङ गर्न सक्दैनन् । त्यसैले उनीबाट पनि दीपेन्द्रको अभाव पूर्ति हुने अवस्था छैन । प्रतिश जिसी मध्यम गतिका बलर हुन् ।

उनले नेपालका लागि केही म्याच खेले पनि बलिङमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेका छैनन् । यद्यपि, उनीसँग ब्याटिङ गर्ने क्षमता पनि छ ।त्रिविको मैदान ब्याटिङ फ्रेन्डली छ ।

यहाँ नेपालले ब्याटिङभन्दा पनि बलिङ मजबुत बनाउनुपर्ने हुन्छ । नेपालको ब्याटिङ पंति यसै पनि लामो भएकाले ललितलाई नै प्लेइङ ११ मा अटाउन सक्ने सम्भावना पनि छ । त्यसो भयो भने कुशल मल्ललाई दीपेन्द्रसिंह ऐरीको स्थानमा राखेर फिनिसरको भूमिका दिन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर