ओलीको चुनौती- कम्बोडियामा ३ हजार करोड लगानी पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु (भिडिओ) – Nepal Press

ओलीको चुनौती- कम्बोडियामा ३ हजार करोड लगानी पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु (भिडिओ)

‘एमालेलाई बदनाम गराउन विगतमा ६० वर्ष कटेकालाई मार्छ भन्नेहरु अहिले मेरो बदनाम गर्न खोज्दैछन्, आफ्नो सम्पत्ति राष्ट्रलाई दान गरिसकेकाले कसका लागि भ्रष्टाचार गर्ने ?’

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरुले त्यसलाई पत्ता लगाएमा थप १ हजार बक्सिस दिएर सबै शेयर जिम्मा लगाउने चुनौती दिएका छन् ।

पोखरामा पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई बदनाम र कमजोर पार्न आफूमाथि यस्ता आरोपहरु आइरहने बताए ।

उनले विगतमा पनि ६० वर्ष पुगेकालाई गोली हानेर मार्छन् भन्ने आरोप लगाएको बताए ।

ओलीले भने, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु । देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु । एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो ।’

पहिले स्वीस बैंकमा ६० करोड राखेको, बानेश्वरदेखि विभिन्न ठाउँमा महलहरु बनाएको जस्ता हल्ला चलाइएको भन्दै अहिले कम्बोडियामा पैसा राखेको भनेर हल्ला चलाइएको उनले बताए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही दिनअघि भारतीय सञ्चारमाध्यमले विगतमा गरेका फेक प्रचारको सहारा लिँदै ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए । उक्त विषयमा ओलीले जवाफ दिँदै प्रमाणित गर्न चुनौतीमात्र दिएका छैनन्, यस्ता आरोप लगाउनेलाई ‘भुस्याहा कुकुर’को संज्ञा दिएका छन् ।

आफूले नेपालको जमिन समेटेर चुच्चे नक्सा जारी गरेपछि केही भारतीय मिडियाले कुप्रचार गरेको र उनीहरुले गल्ती सच्याइसकेका त्यस्तै प्रचारको सहारा लिएर अहिले ३ वर्षपछि फेरि यस्ता हल्ला चलाइएको अध्यक्ष अ‍ोलीले बताए ।

आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति राष्ट्रका नाममा दान गरिसकेको भन्दै ओलीले अर्काका लागि भ्रष्टाचार नगर्नेसमेत कार्यकर्तालाई सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर