पश्चिम नेपालको सान, घुम्ने होइन त घोडाघोडी ताल ? (फाेटाे फिचर) – Nepal Press

पश्चिम नेपालको सान, घुम्ने होइन त घोडाघोडी ताल ? (फाेटाे फिचर)

प्रकृतिको उद्भूत वरदान
घना जङ्गलबिच
फिजारिएका औलाको आकारमा
उनिएको माला जस्तै
तालैतालको लहर ।
जहाँ सात समुद्र तरेर
ऋतुकाल बिताउन आउँछन्
साइबेरियाका चराहरू ।

प्राकृतिक सौन्दर्यसँगै जैविक विविधताको अपार सङ्गम अर्थात् सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित घोडाघोडी ताल । सयौँ थरीका चराचुरुङ्गीको चिरविराहट, जङ्गलको आफ्नै सुसेली अनि सयौँ प्रजातिका जीवजन्तुको पृथक लबजको धुनले यहाँ पुग्ने जो कोहीलाई ऋषि महर्षिहरूको तपस्थली अर्थात् तपोवन जस्तै भान हुन्छ ।

हत्केलाको आकारमा फैलिएको यो ताल सुदूरपश्चिम प्रदेशको मात्र होइन देशकै प्रमुख पर्यटकीय गन्तव्य हो । वैभव हो । तराइ क्षेत्रको सबै भन्दा ठुलो प्राकृतिक ताल पर्यटकीय दृष्टिले जति आकर्षक रमणीय छ पौराणिक तथा धार्मिक मान्यताका आधारमा समेत उत्तिकै महत्वपूर्ण छ ।

योगी नरहरिनाथले विभिन्न खोज र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा यो ताल महाभारत काल भन्दा पहिलेदेखि नै एक पवित्र तीर्थस्थल भएको उल्लेख गरेका छन् भने यस तालको इतिहास यहाँका थारु समुदायसँग जोडिएका विभिन्न किंवदन्ती रहेका छन् ।

काठमाडौँबाट हवाई मार्ग हुँदै नेपालगन्ज वा धनगढी पुगेर त्यहाँबाट सडक मार्ग हुँदै यहाँसम्म पुग्न सकिन्छ । काठमाडौँबाट धनगढी पुग्न सडक मार्गमा करिब १५ घण्टा र हवाई मार्गबाट करिब १ घण्टा लाग्छ । धनगढीस्थित गेटा विमान स्थलबाट घोडाघोडी पुग्न करिब १ घण्टा लाग्छ ।

घोडाघोडी घुमघाम गर्नको लागि पर्यटकहरूलाई कुनै असुविधा हुँदैन । घोडाघोडी ताल नजिक सुखड गाउँमा आधुनिक होटेलहरू सञ्चालनमा छन् । गाउँको परिवेशमा होमस्टेमा बस्न चाहने पर्यटकहरूका लागि माघी गाउँमा होमस्टे सञ्चालनमा छ । पछिल्लो समय घोडाघोडी पुग्ने पर्यटकको संख्यामा पनि वृद्धि भइरहेको छ ।

१३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल १९ वटा औँला भएको हत्केला आकारको छ । यस आसपासमा रहेका अन्य १३ वटा ताल समेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल २४८ हेक्टर रहेको छ ।

एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने घोडाघोडी क्षेत्र तालै तालको माला जस्तै लाग्छ । जङ्गलबीच तालैतालको लस्कर सहित जैविक विविधताले भरिएको यो क्षेत्र तराइ र चुरे जोड्ने जैविक मार्ग समेत हो ।

पूर्व पश्चिम राजमार्गको छेउमा रहेको ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त भूमि अनि सुरक्षित वासस्थान पनि हो । विश्व जलचर इतिहासमा सङ्कटापन्न दर्जनौ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणकै कारण यो ताल सन २००३ मा विश्व रामसार सूचीमा सूचिकृत भएको हो ।

विश्वभरका एक हजार ३१४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यो ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले घोडाघोडी ताल महत्वपूर्ण छ ।

४५० प्रजातिका वनस्पति पाइने यो क्षेत्रमा साल प्रजातिमा निकै बहुमूल्य मानिने र औषधिका रूपमा पनि प्रयोगमा आउने सतिसाल,साज, खयरको घना जङ्गल यहाँको अर्को विशेषता हो ।

रामसारको प्रावधान अनुसार विश्वका ८ मध्ये दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन् । २० हजार भन्दा बढी रैथाने तथा आगन्तुक चराको बसोबास रहेको यस क्षेत्रमा दक्षिण एसियाको एक प्रतिशत हरिहाँस यहि बसोबास गर्ने गरेको पाइएको छ ।

हरिहाँस, बगाले सिमकुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेका छन् । यहाँ हरिहाँस, मगर गोही र बन धान सूचक प्रजातिको रुपमा छन् । विश्वव्यापी रुपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, हाज हलाचे, आज धनेस लगायत चराहरू यहाँ बसोबास गर्दछन् । अझ रोचक कुरा त यस क्षेत्रमा प्रत्येक बर्ष साइबेरीया लगायत मुलुकबाट हजारौँ चराहरू आउने गर्दछन् ।

चराहरूको महत्त्वपूर्ण बासस्थल भएको हुँदा २८ फाल्गुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो बर्ड सेन्चुरी ९चरा अभय आरण्य क्षेत्र० घोषणा गरिएको थियो । त्यसपछि यहाँ थप पर्यटकहरूको चहलपहल बढ्यो ।

‘नेपालकै पहिलो बर्ड सेन्चुरी घोषणा गरेपछि यहाँ पर्यटकको संख्या बढेको देखिन्छ’, तत्कालीन घोडाघोडी बृह्तत तथा पर्यटन विकास बोर्डका उपाध्यक्ष समेत रहेका चराविद् डिआर चौधरी भन्छन्, ‘घोडाघोडीको अझै प्रचार प्रसार हुन सके विश्वभरका चरा प्रेमीहरूको लागि यो उपयुक्त गन्तव्य बन्न सक्छ ।’

सयौँ प्रजातिका चराचुरुङ्गीका साथै विश्वकै दुर्लभ प्रजाति अजिङ्गर,सालक,पानी ओत,कछुवा समेत यहाँ पाइन्छ । त्यस्तै चितुवा, रतुवा, घोलर, बँदेल, चित्तल, खरायो, बाँदर, मुसा, सुन गोहोरो, सर्प, नीलगाईजस्ता जनावरले यहाँको जैविक महत्त्व विश्वव्यापी बनाएका छन् ।

यहाँ १ हजार ६ सय ७० हेक्टरमा फैलिएको सिमसार क्षेत्रमा २४ वटा ताल छन् भने २ हजार ५ सय ६३ हेक्टर क्षेत्रफल रामसार क्षेत्रले ओगटेको छ । ६४७ प्रजातिका बोटबिरुवा, ३१ प्रजातिका माछा, ३१३ प्रजातिका चरा, ३२ प्रजातिका पुतली र ११ प्रजातिका शंकेकिरा पाइने यो ठाउँ संरक्षण तथा जैविक विविधताको क्षेत्रमा खोज गर्नेहरूका लागि विश्वविख्यात अध्ययन केन्द्र समेत हो ।

यहाँ ३४ प्रजातिका स्तनधारी जनावर र ७ प्रजातिका घिस्रेर हिँड्ने जनावर समेत पाइन्छ ।

घोडाघोडी ताल छेउमा भगवान् शिवको प्रसिद्ध मन्दिर रहेकोले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमा स्थापित छ । माघे सङ्क्रान्ति,शिवरात्रि,मङ्सिर पञ्चमी लगायत पर्वमा लाग्ने धार्मिक मेलाका कारण धार्मिक पर्यटनको महत्त्व बढ्नु स्वाभाविक हो ।

पछिल्लो समय घोडाघोडी नगरपालिकाले पनि यहाँ पर्यटकहरूका लागि बिभिन्न गतिविधि गरिरहेको छ । जसका कारण तालको प्रचार प्रसार भइरहेको छ भने पर्यटकहरूको रोजाइमा समेत पर्न थालेको छ ।

घोडाघोडी ताल प्रदेशको मात्रै होइन देशकै गहन हो नगर प्रमुख खडक रावत भन्छन्, ‘हामीले यहाँ देश विदेशबाट पर्यटन भित्राउने गरि काम गरिरहेका छौँ ।’ अहिले गुरुयोजना अनुसार ताल क्षेत्र व्यवस्थित गरिँदै छ त्यसले पनि ताल क्षेत्र अझै मनमोहक र रमणीय देखिन्छ ।

तस्बिरहरु : नारायण आचार्य र लक्ष्मण सुनार

 


प्रतिक्रिया

One thought on “पश्चिम नेपालको सान, घुम्ने होइन त घोडाघोडी ताल ? (फाेटाे फिचर)

  1. हाम्रो घोडाघोडी नगरपालिका को मात्र न भई देशकै पर्यटकिय स्थलको रुपमा चिनिन अज धेरै मेहेनत गर्नु पर्ने देखिएको छ हाम्रो यस नगरपालिका ले अरु कुरा मा लगानी न भयता पनि यस क्षेत्रमा नगर र सबै ले विशेष जोड दिनु पर्ने देखिन्छ।🙏र यति राम्रो व्यक्या गर्दिन भएको र घोडाघोडी धार्मिक महत्त्व र घोडाघोडी ताल ले दर्शाउने कुरा लाई स्पस्ट पर्दिनु भए को दाई लाई हिर्दय देखि नै धन्यवाद।❣️❣️🙏🙏🫶🫡@भानुभक्त आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर