लुम्बिनीमा राष्ट्रसंघका महासचिवको भ्रमण: बन्नेछ अन्तर्राष्ट्रिय सम्बन्धको बलियो आधार – Nepal Press

लुम्बिनीमा राष्ट्रसंघका महासचिवको भ्रमण: बन्नेछ अन्तर्राष्ट्रिय सम्बन्धको बलियो आधार

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा उच्चस्तरीय व्यक्तिको भ्रमणले यहाँको सबै क्षेत्रलाई चलायमान बनाउँछ । अहिले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारीले पनि त्यसको झल्को दिन्छ ।

लुम्बिनीको गुरुयोजनाको परिकल्पना र योजनाबद्ध विकास गर्ने सुरुवात राष्ट्रसंघबाटै भएको हो । सन् १९६७ को अप्रिलमा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनीको भ्रमण गरेपछि नै लुम्बिनीको विकास र प्रचारप्रसारमा महत्त्वपूर्ण थालनी भएको हो भन्दा फरक पर्दैन । त्यसपछि अहिलेसम्म संयुक्त राष्ट्रसङ्घका महासचिव तथा पदाधिकारीले लुम्बिनीलाई विशेष चासो र महत्त्वका साथ हेर्दै आएका छन् ।

विश्वका शान्तिप्रेमी र बौद्धमार्गीको पवित्र थलो भएकाले ऊको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय क्षेत्र एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरिएको थियो । त्यस भ्रमणपछि लुम्बिनीको योजनाबद्ध विकास सुरु भएको मानिन्छ ।

त्यसकारण लुम्बिनी र संयुक्त राष्ट्रसंघको सम्बन्ध धेरै पुरानो छ । लुम्बिनीको अहिलेको स्वरुप बनेको भनेकै राष्ट्रसंघको योगदानमा हो । त्यसैले लुम्बिनी र राष्ट्रसंघबीचमा बलियो सम्बन्ध रहेको छ । केही समययता उच्चस्तरीय भ्रमणले यहाँको गरिमा बढाएको र विश्वको ध्यानाकर्षण गर्न सकेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी शान्ति सन्देशको मुहान हो । विश्वका कतिपय युद्ध र हिंसा भएका छन् । यस्तो युद्ध रोक्न राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुन्छ । यो बेलामा राष्ट्रसंघका सर्वोच्च पदमा रहेका व्यक्तिले लुम्बिनीमा आएर शान्तिको सन्देश दिनुले संसारमा अर्कै प्रभाव पार्छ । राष्ट्रसंघ महासचिव यहाँ आउँदा विश्वव्यापी रुपमा सकारात्मक सन्देश जानेछ । त्यसले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटकको आगमन पनि अपेक्षाकृत बढ्नेछ ।

यो भ्रमणले कोरोना महामारीपछि थला परेको पर्यटन प्रवर्द्धनमा पनि ठूलो सघाउ पुर्‍याउनेमा विकास कोषका पदाधिकारी, पर्यटन व्यवसायी तथा लुम्बिनीवासीले विश्वास लिएका छन् । राष्ट्रसङ्घको मुख्य उद्देश्य विश्वमा शान्तिको सन्देश पुर्‍याउनु हो । महासचिवको लुम्बिनी भ्रमणले नेपालको भूमिबाट विश्वभर शान्तिको सन्देश पुग्नु नेपालका लागि गौरवको विषय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा बताउँछन् ।

कोषको उपाध्यक्षमा नियुक्त भएदेखि नै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा लागेका थिए डा. ल्हारक्याल लामा । यो भ्रमण उनका लागि पनि यस कारणले महत्वपूर्ण हुनेछ ।

‘लुम्बिनीवासीका लागि यो गौरवको विषय हो, नेपाल भ्रमण गर्ने हरेक राष्ट्रसङ्घका महासचिवको बुद्धको जन्मस्थल भ्रमण गर्नु लुम्बिनीकै इतिहास, गौरव र बुद्धको सन्देश संसारभर पुर्‍याउन सफलता मिलेको छ’, उपाध्यक्ष लामाले भने ।

महासचिव गुटेरेससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको सहभागिताले विश्वभर शान्तिको सन्देश जाने उनले बताए ।

यो भ्रमणले अहिले विभिन्न मुलुकबीच भइरहेको युद्धलाई नेपालबाट शान्ति सन्देश प्रवाहित हुनु नेपालका लागि अर्को गौरवको विषय हुने र नेपालमा अहिले देखिएको आर्थिक सङ्कटलगायत समस्या समाधान गर्न, लुम्बिनीलाई धार्मिक पर्यटकीय हिसाबले विकास गर्न, बृहत्तर लुम्बिनीको पर्यटन प्रवर्द्धनस्वरुप विश्वभर प्रचारप्रसार गर्न र संसारका सम्पूर्ण मानवको शान्तिका लागि सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाङ्गेले राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तको आग्रहमा लुम्बिनीको गुरुयोजना तयार गरेका थिए । उक्त गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवर्द्धन गर्न अन्तर्राष्ट्रियस्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसङ्घकै भूमिका रहेको छ । तर, सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाङ्गेले तयार पारेको गुरुयोजना ४५ वर्ष बितिसक्दा ८५ प्रतिशतमात्र सकिएको छ ।

यसअघि राष्ट्रसङ्घको महासचिवका रूपमा ड्याग ह्यामरकेजोल्ड, ऊ थान्त, ज्याभियर पेरेज डि कुइलर, कर्ट वाइल्डहाइम र बान कि मुनले लुम्बिनीको भ्रमण गरेका थिए । लुम्बिनी पुग्ने गुटेरेस राष्ट्रसङ्घका छैटौं महासचिव हुन् ।

महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारी गरिसकेको कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए । उनका अनुसार मङ्गलबार बिहान करिब ९ देखि १० बजेभित्र महासचिव गुटेरेस लुम्बिनीको औपचारिक कार्यक्रममा रहनेछन् ।

महासचिव गुटेरेसलाई मङ्गलबार बिहान बुद्धको जन्मस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, कोषका उपाध्यक्ष डा. लामालगायतले स्वागत गर्नेछन् ।

यसअघि महासचिव गुटेरेसले अक्टोबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो । तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित गरिएको थियो ।

जीर्ण सडकमा रातारात कालोपत्रे

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको लुम्बिनी भ्रमण निधो भएसँगै लामो समयदेखि अलपत्र लुम्बिनी विकास कोषभित्रका सडक हतारहतार कालोपत्र गरिएको छ । महासचिव गुटेरेसको भ्रमण तालिका सार्वजनिक भएसँगै दिनरात सडक पिच गर्न थालिएको हो ।

यसअघि उनको भ्रमण मिति सरेपछि सुस्ताएको काम अहिले तीव्र गतिमा चलेको छ । विकास कोषका उपाध्यक्ष डा. लामाले सडक निर्माणलगायतका पूर्वाधारका काम छिटो सम्पन्न गर्न पटक पटक ताकेता गरे पनि सुनुवाइ नभएको तर अहिले धमाधम भइरहेको बताए ।

महासचिव गुटेरेसलाई लुम्बिनीको मायादेवी मन्दिरसम्म पुग्ने बाटो सफा र ६५० मिटर सडक पिच गर्न लागिएको छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले विकास कोषको ४ नम्बर गेटदेखि शान्ति दीपसम्म पुग्ने ६५० मिटर सडक पिच गर्न लागिएको बताए ।

महासचिव गुटेरेसलाई ४ नम्बर गेटबाट प्रवेश गराएर शान्ति दीप हुँदै मायादेवी मन्दिर लैजाने र ५ नम्बर गेटबाट बाहिरिने भ्रमण तालिका रहेको भट्टराईले बताए ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान ८ः३५ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल हुँदै त्यहाँबाट हेलिकोप्टरमा सीधै लुम्बिनी पुर्‍याउने प्रारम्भिक कार्यक्रम बनेको छ ।

यस्तो छ डेढ घन्टाको कार्यतालिका

लुम्बिनी विकास कोषका सदस्यसचिव शाक्यका अनुसार महासचिव गुटेरेस पोखराबाट मंगलबार बिहान गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र भैरहवाबाट हेलिकप्टरमा विहान ९ बजे लुम्बिनी आइपुग्नेछन् । लुम्बिनीको शान्ति दीप भएर मायादेवी मन्दिरमा पुग्ने र मायादेवी मन्दिर दर्शन गरेपछि यहाँ परिसरमै ब्रिफिङ गर्ने कार्यक्रम छ ।

उनले दीप प्रज्वलन गरेपछि पत्रकारसँग केही समय बोल्ने, वृक्षरोपण गर्ने र काठमाडौं फर्किनेगरी लुम्बिनीमा उनी करिब डेढ घण्टा जति बस्नेछन् । गुटेरेस शान्ति दीपबाट मायादेवी मन्दिरसम्म पैदलै जाने र त्यस क्रममा स्थानीय आमा समूह, लुम्बिनीस्थित विभिन्न भिक्षुभिक्षुणीले स्थानीय कला संस्कृतिसहित स्वागत गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर