एकसाथ कलेजो र मिर्गौला प्रत्यारोपण गरेकी शोभा भन्छिन्- किष्टले दोस्रो जीवन दियो (भिडिओ) – Nepal Press

एकसाथ कलेजो र मिर्गौला प्रत्यारोपण गरेकी शोभा भन्छिन्- किष्टले दोस्रो जीवन दियो (भिडिओ)

दुर्लभ सफलता भन्दै किष्ट अस्पतालले सुनायो उपचारको वृत्तान्त

काठमाडौं । नेपालमै पहिलोपटक एकैसाथ कलेजो र मिर्गौला प्रत्यारोपण गरेकी ३४ वर्षीया शोभा कुमारी भुजेलले आफूले दोस्रो जीवन पाएको बताएकी छिन् । किष्ट शिक्षण अस्पतालबाट प्रत्यारोपणको २० दिनपछि उनी आइतबार डिस्चार्ज भएकी छन् ।

गत असोज २२ गते हस्पिटलले जटिल एवम् दुर्लभ प्रकृतिको एकैसाथ कलेजो र मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको थियो ।

डिस्चार्ज हुँदै उनले भनिन, ‘मैले यो दोस्रो जीवन पाएकी हुँ । मलाई किष्ट हस्पिटलले दोस्रो जीवन दिएको छ ।’

शोभाकुमारी भुजेल ।

पहिलो पटक हस्पिटल आउनासाथ अस्पतालको माहौलले प्रभावित पारेको भन्दै आफूलाई बाँच्ने आश जागेको उनले बताइन् ।

उनले भनिन्, ‘परिवारबाट पनि धेरै साथ र सहयोग पाए । यति छिटो शल्यक्रिया सम्भव हुनमा हस्पिटलको ठूलो हाल रहेको छ । सबैलार्य धन्यवाद दिन चाहन्छु ।’

शोभालाई उनकी भाउजू मञ्जुकुमारी जीसीले मिर्गौला र श्रीमान् नीरचन्द्र भुजेलले कलेजो दान गरेका हुन् ।

मिर्गौला दान गरेकी भाउजू मञ्जुकुमारी (बायाँ), कलेजो दान गरेका श्रीमान् नीरचन्द्र (दायाँ) र रिसिभर शोभा (बीच) ।

नेपालकै इतिहासमा पहिलो पटक सम्पन्न शल्यक्रिया बिरामीको कलेजोमा भएको जन्मजात रोगका कारण दुवै मिर्गौला बिग्रन गएको थियो । बिरामीको जीवन रक्षार्थ दुवै अङ्गको एकै साथ प्रत्यारोपण शल्यक्रिया मात्र अन्तिम उपाय ठहर गरी शल्यक्रियाको तयारी गरेको अस्पतालले जनाएको छ ।

शल्यक्रिया प्रकृयामा किष्ट शिक्षण अस्पतालका विभिन्न विधाका विज्ञहरु सम्मिलित ‘रियल टाइम मल्टी डिसीपिलीनरी अप्रोच’ पद्धतिबाट एक सय जना भन्दा बढी स्वास्थ्यकर्मी परिचानमा १८ घण्टाभन्दा बढी समयमा शल्यक्रिया गरिएको हस्पिटलले जनाएको छ ।

चिकित्सक टोलीले सुरूमा कलेजो दाताको शल्यक्रिया गरी लगत्तै कलेजो ग्रहणकर्ताको शल्यक्रिया गरेको थियो । मिर्गौला प्रत्यारोपणसमेत एकै समयमा गर्नुपर्ने अवस्था भएकोले प्रत्यारोपणमा संलग्न चिकित्सकले डोनरको शल्यक्रिया प्रारम्भ गरी कलेजोपश्चात मिर्गौला प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ ।

उक्त जटिल शल्यक्रियामा रिसिभर र दुई डोनरको एकैसाथ अति समन्वयात्मक हिसाबबाट तीनवटा अपरेशन थिएटर प्रयोग गरिएको अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले बताए ।

शल्यक्रियामा भारतबाट आमन्त्रित शल्यचिकित्सक ईन्दप्रस्थ अपोलो अस्पतालका डा. निरभ गोयल, डा. अरुणकुमार भेनुथुरिमिल्लि, डा. सञ्जिव अनेजा रहेका थिए । भने, किष्ट अस्पतालका वरिष्ठ शल्यचिकित्सक प्रा. डा. मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाइसेन्स प्राप्त डा. एकानन्द सिंह र डा. वरुण श्रेष्ठको सहभागिता थियो ।

मिर्गौला प्रत्यारोपण टोलीमा डा. नारायण भुसालका साथमा डा. सन्तोष क्षेत्री र डा.कश्यप दाहाललगायत वरिष्ठ चिकित्सक थिए ।

अस्पतालले मिर्गौला अंगदातालाई ७ दिनपछि कलेजो दातालाई १३ दिनपछि डिस्चार्ज गरेको थियो । शल्यक्रियापश्चात बिरामीमा कुनै स्वास्थ्य समस्या उत्पन्न नभएको र तीन हप्ताको अवधिमा स्वास्थ्य स्थिति सामान्य भई आज आइतबार डिस्चार्ज भएको अस्पतालले पत्रकार सम्मेलन गरेर जनाएको छ ।

यस्तो जटिल र दुर्लभ स्वास्थ्य समस्या प्रति १० लाख जनसंख्यामा १ जनामा हुनसक्ने र यसको उपचारसमेत विश्वका केही सीमित अस्पतालमा मात्र हुने गरेको किष्टको दाबी छ ।

भिडिओ : नविनमुनी स्थापित ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर