ईसेवाको कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख रुपैयाँभन्दा बढी ठग्ने ५ जना पक्राउ – Nepal Press

ईसेवाको कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख रुपैयाँभन्दा बढी ठग्ने ५ जना पक्राउ

काठमाडौं । आफूलाई ईसेवाको कर्मचारी बताएर १८ जना सेवाग्राहीसँग १५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिकाका–५ का ४ जना छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पीडितहरुलाई विश्वासमा पारेर उनिहरुले ओटीपी माग्दै खाताको पैसाको झिकेका हुन् । १८ जनाको खाताबाट १५ लाख २० हजार ९०१ रुपैयाँ झिकिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा गौर–५ का २६ वर्षीय नवनितकुमार कुशवाहा, २१ वर्षीय कन्हैयाकुमार कुशवाहा, २१ वर्षीय रितेश कुशवाहा र २० वर्षीय अभयकुमार यादव छन् । त्यस्तै, रौतहटकै गढिमाई–६ का १९ वर्षीय दीपेन्द्रकुमार यादवलाई पनि पक्राउ गरिएको छ ।

आरोपीले पीडितहरुसँग ईसेवा आईडी बैंक खातासँग लिंक अप गर्ने, खाता नवीकरण गर्ने, केवाईसी अपडेट गर्नेजस्ता बहाना बनाएर खातासम्म पहुँच राख्ने गरेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *