पाकिस्तानको हारपछि डीआरएसमाथि नै उठ्यो प्रश्न, साम्सीलाई अम्पायरले आउट नदिँदा उल्टिएको थियो नतिजा – Nepal Press

पाकिस्तानको हारपछि डीआरएसमाथि नै उठ्यो प्रश्न, साम्सीलाई अम्पायरले आउट नदिँदा उल्टिएको थियो नतिजा

काठमाडौं । भारतमा जारी एक दिवसीय क्रिकेटबाट पाकिस्तान लगभग बाहिरिएको छ । दुई दिनअघि दक्षिण अफ्रिकाविरुद्धको म्याचमा एक विकेटको पराजय पाकिस्तानका लागि बज्रपातसरह बन्यो ।

दक्षिण अफ्रिकालाई हराएको भए पाकिस्तानको सम्भावना जीवित रहने थियो । म्याचमा जीतका लागि पाकिस्तानले हरसम्भव प्रयास गरेको हो । २६१ रनको मामुली लक्ष्य जोगाउन पाकिस्तानी बलरहरुले ज्यानै दिएर खेलेका थिए । तर, भाग्य र अम्पायर दाहिना नहुँदा पाकिस्तानले नमीठो हार चाख्नुपर्‍यो ।

यदि ४५.६ ओभरमा अम्पायरले ताब्रियाज साम्सीलाई आउट दिएको भए पाकिस्तान विजयी बन्ने थियो, किनकी दक्षिण अफ्रीकाको यो अन्तिम विकेट थियो । । ह्यारिस रफले फ्याकेको बललाई फ्लीक गर्न खोज्दा साम्सीको खुट्टामा लाग्यो र पाकिस्तान बलरले कडा अपिल गरे । तर, अम्पायर मुभ भएनन् । यो स्पष्ट एलबीडब्लु आउट देखिन्थ्यो ।

पाकिस्तानले रिभ्यू लिने नै भयो । लियो । थर्ड अम्पायरले हेर्दा बल र ब्याटबीच ठूलो दूरी थियो । त्यसैले एजको सम्भावना नै भएन । त्यसपछि बल ट्रयाकिङमा हेर्दा बलले लेग स्टम्पलाई छोएर जान सक्ने देखियो ।

बल ट्र्याकिङमा यदि बलले लेग वा अफ स्टम्पपट्टि थोरैमात्र छुनसक्ने देखियो भने त्यसमा अम्पायरको निर्णयलाई नै मान्यता दिइन्छ । अर्थात्, अन फिल्ड अम्पायरले आउट दिएका छन् भने त्यो आउट हुन्छ । नट आउट दिएको भए नटआउट हुन्छ । साम्सीलाई यदि अम्पायरले आउट दिएका थिए भने रिभ्युपछि पनि उनी आउट नै हुन्थे । अम्पायरले आउट नदिनु पाकिस्तानका लागि दुर्भाग्य बन्यो ।

यो खेलपछि थुप्रै पाकिस्तानी पूर्वक्रिकेटरहरुले डीआरएसमाथि नै प्रश्न उठाएका छन् । बल ट्र्याकिङले पनि सही रिजल्ट नदिएको उनीहरुको दाबी छ ।

पूर्वपाकिस्तान विकेटकिपर ब्याट्सम्यान मोइन खानको भनाइमा त्यो स्पष्ट एलबीडब्लु थियो र अम्पायरले नै आउट दिनुपथ्र्यो । पछि डीआरएसले पनि सही मार्क नगरेको उनको भनाइ छ । उनले पाकिस्तानलाई हराउन डीआरएसमाथि नै छेडखानी गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

पूर्वपाकिस्तानी कप्तान मिसवाह उलहकले अम्पायरकै निर्णय लागू हुने भए डीआरएसको महत्व नरहने टिप्पणी गरेका छन् ।

‘बलले स्टम्पमा लाग्थ्यो भन्ने भइसकेपछि फेरि अम्पायरकै निर्णय लागू हुनुको के औचित्य ?’, उनले प्रश्न गरेका छन् ।


प्रतिक्रिया

One thought on “पाकिस्तानको हारपछि डीआरएसमाथि नै उठ्यो प्रश्न, साम्सीलाई अम्पायरले आउट नदिँदा उल्टिएको थियो नतिजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *