सुदूरपश्चिममा दसैँको समयमा सवारी दुर्घटनामा परी ८ ले ज्यान गुमाए – Nepal Press

सुदूरपश्चिममा दसैँको समयमा सवारी दुर्घटनामा परी ८ ले ज्यान गुमाए

डोटी । शुक्रवार कैलालीको गौरीगंगा नगरपालिका–२ झिलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । भे ७ प ५३८१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गौरीगंगा नगरपालिका–२ कटानकी ७३ वर्षीया पावनीदेवी साउँदको मृत्यु भएको छ ।

पैदलयात्री साउँद मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएपछि उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्‍याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुदूरपश्चिम प्रदेशमा दसैंको समयमा सवारी दुर्घटनामा परी ८ जनाले ज्यान गुमाउनु परेको छ । प्रदेश प्रहरी कार्यालयले उपलव्ध गराएको बिवरण अनुसार कात्तिक ३ गते बझाङको छविसपाथिभेरा गाउँपालिका–७ खोरीको कच्ची सडक खण्डमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुपप्र ०१००१ ज १२६६ नं। को जीप ब्रेक फेल भइ दुर्घटना हुँदा छविसपाथिभेरा–२ बड्खोरीका २५ बर्षीय ईनार महतको मृत्यु भएको हो ।

सोही राती कैलाली, बर्दगोरिया गाउँपालिका–२ स्थित पुर्व पश्चिम राजमार्गमा गुडिरहेको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको ज्यान गयो । बा ७८ प ३६४६ नं को मोटरसाईकलको ठक्करबाट साईकल यात्री कैलाली, जोशीपुर गाउँपालिका–४ हस्नापुरका ३६ बर्षीय डाटाप्रसाद चौधरीको मृत्यु भएको हो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते चौधरीको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
कात्तिक ४ गते बाजुराको बडिमालीका नगरपालिका–६ जडङ्गामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बल्देबाट मार्तडीतर्फ जाँदै गरेको सुपप्र ०१–००१ त ६८२६ नं। को ट्याक्टर दुर्घटना हुँदा बडीमालिका नगरपालिका–६ का ३६ वर्षीय बहादुर दानीको घट्नास्थलमै मृत्यु भएको हो ।

सोही दिन कैलाली गोदावरी नगरपालिका–५ गेटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । से १ त ७९४५ नं.को ट्याक्टर अनियन्त्रित भई नालीमा पल्टिदा गोदावरी नगरपालिका–८ का ट्याक्टर चालक ३५ वर्षीय को रामकिशन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल घनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधवार अछाम, मंगलसेन नगरपालिका–१३ का ५४ वर्षीय दिल बहादुर थापाको पनि सडक दुर्घटनामा मृत्यु भयो । बस्तीबाट जिल्ला सदरमुकाम मंगलसैनतर्फ आउँदै गरेको सुपप्र.०१००१ ज १३१० नं. को जिप दुर्घटना हुँदा थापाको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले उपलव्ध गराएको बिवरणमा उल्लेख छ ।

बुधवारै डडेल्धुरा, गन्यापधुरा गाउँपालिका–३ चम्कोटस्थित केआई सिंह राजमार्गमा नम्बर नखुलेको एक सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँका ५५ वर्षीय राजु देउबाको मृत्यु भएको छ ।

सवारी सधानको ठक्करबाट गम्भीर घाईते भएका देउवालाई उपचारका लागी डडेल्धुरा अस्पताल पुर्‍याउदा चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन् । हाल फरार सवारी साधनको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिहीबार कैलाली, टिकापुर नगरपालिका–१ बसपार्कस्थित सडकमा प्रदेश ३–०२ ००९ प१०६० नं को मोटरसाइकल अनियन्त्रित भई दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोहीनगरपालिका–१ बस्ने २७ वर्षीय भिस्म तिमिल्सेनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगञ्ज न्यूरो हस्पिटल उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर