बाजुरामा पाँचौँ छेडेदह कप फुटबल प्रतियोगिता सुरु – Nepal Press

बाजुरामा पाँचौँ छेडेदह कप फुटबल प्रतियोगिता सुरु

कैलाली । बाजुरामा पाँचौँ छेडेदह कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । छेडेदह स्पोट्र्स क्लबको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको सहयोगमा दशरथ माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । यो सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आयोजना हुने सर्वाधिक धनराशिको प्रतियोगिता हो ।

शनिबार एक औपचारिक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले प्रतियोगिताको उद्घाटन गरिन् । प्रतियोगिता उद्घाटन गर्दै उनले बाजुराको खेल क्षेत्रको विकासमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन् । उनले सरकारले खेलकुदको विकासमा पर्याप्त बजेट विनियोजन गर्नु पर्नेमा समेत जोड दिइन् ।

हिजाेबाट सुरु भएको प्रतियोगिता १७ गतेसम्म जारी रहने छ। प्रतियोगितामा १३ टिम सहभागी छन् ।विजेता टिमले २ लाख ३५ हजार ३ सय ३५ रुपैयाँ पाउने छन् भने उपविजेताले १ लाख २५ हजार २ सय २५ रुपैयाँ पुरस्कार पाउने छन् ।

वेस्ट पिलियर, राइजिङ पिलियर, वेस्ट किपर, वेस्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहित मेडल र प्रमाण दिइने आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा राजनीतिक दलसँगै जनप्रतिनिधि र पत्रकारहरू बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।
सुन्दर नगरी आटीचौरलाई खेल नगरीको रुपमा विकास गर्न र समग्र खेल क्षेत्रको विकास प्रवर्द्धनमा सघाउ पु¥याउने लक्ष्य सहित प्रतियोगिता आयोजना गर्ने गरिएको क्लबका खेल संयोजक कृष्ण ओलीले बताएका छन् ।

प्रतियोगिताबाट छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । २०७६ सालदेखि लगातार कपको आयोजना हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर