दसैंमा बढी भाडा लिने माइक्रो बसलाई कारबाही – Nepal Press

दसैंमा बढी भाडा लिने माइक्रो बसलाई कारबाही

दमौली ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडाैं जाने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरुको भाडा फिर्ता गराएको छ ।

दमौलीबाट काठमाडाैं छुट्ने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरुको भाडा फिर्ता गराइएको छ ।

दमौलीबाट काठमाडाैंसम्मको भाडा ६५० रुपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले रु एक हजारसम्म लिने गरेको गुनासो आएको छ । विष्टले भने, ‘दसैंकाे मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैं चेकजाँचका लागि पुगेको थिएँ, काठमाडौँ जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ ।’

चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे । यस्तै, भोर्लेटारचोकमा बिहानै काठमाडौँ जाने यात्रुहरुबाट रु एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *