धार्मिक सद्भाव बिगार्न सीमामा गिरोह लागेका छन्, सचेत बनौं : योगाचार्य बालकृष्ण – Nepal Press

धार्मिक सद्भाव बिगार्न सीमामा गिरोह लागेका छन्, सचेत बनौं : योगाचार्य बालकृष्ण

रुपन्देही । स्याङ्जामा जन्मेर भारतमा बसेका पतञ्जली योगपीठका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण ४० वर्षपछि दसैँमा मातृभूमि आए । बाबा रामदेवसँग ठूलो लगानी गरेर भारतमा योगपीठ चलाएका उनले यो पटक बडादसैँको सांस्कृतिक महत्व बुझेर नेपाल आएको बताए ।

‘म ४० वर्षपछि दसैँमा यहाँ आएँ, यसको ठूलो महत्त्व छ, जन्मभूमि र कर्मभूमिको समृद्धि मेरो खुसी हो, अब नेपालमा पनि रोजगार र आत्मनिर्भरका केही काम गर्नुछ, यो दसैँले मलाई ठूलो ऊर्जा थपेको छ’, बालकृष्णले भने ।

पतञ्जलीले नेपालका पनि विभित्र स्थानमा आफ्ना उत्पादन चलाउने र योग अभियान सञ्चालन गर्न थालेको छ । बिहीबार बुटवल तथा पाल्पामा आएका उनले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य रहेको बताए । पाल्पाको वसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग बोल्दै उनले प्राकृतिक सुन्दरता, आवतजावतको सहजता, भाषिक, धार्मिक, सांस्कृति समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको बताए ।

‘भारतका कतिपय प्रान्तमा जान पासपोर्ट अनिवार्य छ, तर भारतीय नागरिक विनापासपोर्ट नेपालका जुनसुकै ठाउँ घुम्न जान सक्छन्’, उनले भने, ‘दुई देशबीच सनातन संस्कृति, वैदिक परम्परा, भाषिक, धार्मिक, साँस्कृतिक समानता र रोटीबेटीका सम्बन्धले पनि सहज छ ।’

नेपाल बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी र बाल्मिकीको भूमि भएको उल्लेख गर्दै उनले यी धार्मिक पर्यटकीय स्थललाई भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर पर्यटन प्रवर्द्धनमा पहल गर्न सुझाव दिए ।

उत्तर प्रदेशसँग जोडिएको रुपन्देहीमा बनेको लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि नजिकको आकर्षक गन्तव्य बन्न सक्ने उनले बताए ।

‘उत्तर प्रदेशका नागरिक केबलकार चढ्न हिमाञ्चल प्रदेश जानुपर्ने अवस्था छ, त्यहाँ पुग्न भन्दा बुटवल आउन धेरै नजिक छ’, उनले भने ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके भारतीय र विदेशी पर्यटक आगमन बढ्न सक्ने भएकाले त्यसमा ध्यान दिन सुझाए । भारतको पतञ्जली योगपीठले नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन पर्वर्द्धन गरेको उनको भनाइ छ ।

नेपाल र भारतबीचको सांस्कृतिक विरासत साझा र अक्षुण रहेको रहेको भन्दै यसलाई कसैले तोड्न नसक्ने उनले बताए ।

रुपन्देहीको रोहिणी गाउँपालिकास्थित धकधईमा १ अर्ब लागतमा जडिबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र
उक्त उद्योगमा कम्तीमा ५ सय जनाले रोजगारी पाउने उनले बताए । ४० वर्षपछि पहिलोपटक गृह जिल्ला स्याङजामा दसैँ पर्व मनाउने अवसर मिलेको र सोही क्रममा कामाख्या देवी मन्दिर दर्शन गर्न पाउँदा खुशी लागेको आचार्य बालकृष्णले बताए ।

उनले प्राचीन सांस्कृतिक र धार्मिक महत्त्वलाई जोगाइराख्न दुवै देशबाट ध्यान दिइनुपर्ने बताए ।

‘सीमा क्षेत्रमा धार्मिक सद्भाव बिगार्न केही गिरोह लागेका छन्, दुवै देशबाट यस्ता गलत कामको खबरदारी गरिनुपर्ने हुन्छ । नेपाल-भारतका पत्रकारलाई मेरो विशेष अनुरोध छ, धार्मिक सद्भाव खलबलाउने समूहलाई विशेष ख्याल गर्नुपर्ने छ, हामी सबै धर्मको सम्मान गर्नेछौं’, बालकृष्णले भने ।

उनीसँगै पतञ्जलीतको योग टीम पनि सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *