सिरहामा ‘कुस्ती’, भारतबाट ल्याइएका पहलमानले दिन्छन् मनोरञ्जन (तस्बिरहरू) – Nepal Press

सिरहामा ‘कुस्ती’, भारतबाट ल्याइएका पहलमानले दिन्छन् मनोरञ्जन (तस्बिरहरू)

सिरहा । विजया दशमीको अवसरमा सिरहाको औरही गाउँपालिका- ५ मा आयोजित मेलाको मुख्य आकर्षण ‘कुस्ती’बनेको छ । कुस्ती खेल्न भारतबाट दर्जनौं पहलमान आएका छन् ।

कुस्ती लोपोन्मुख प्रतिस्पर्धात्मक खेल हो । यो खेलमा विशेषतः पाका उमेरका व्यक्तिहरुको बढी आकर्षण देखिन्छ । हिजोबाटै भइरहेको कुस्ती हेर्न टाढाका गाउँबाट समेत हजारौं पारखी आएका छन् ।

मेला, महोत्सव तथा चाडपर्व रमझम बनाउन लाखौं खर्चेर कुस्तीको आयोजना गर्ने चलन छ । लोप हुने अवस्थामा पुगेपछि मधेसको शान मानिने कुस्तीप्रति सर्वसधारणको क्रेज बढिरहेको छ ।

पछिल्लो समय मनोरञ्जनका लागि कुस्तीको आयोजना गर्दा ‘पहलवान’ भने भाडामा ल्याउनुपर्छ । भाडाकै पहलवान आपसमा भिड्छन् । उनीहरु एकै ठाउँ वा समूहका भएपनि दर्शकलाई मनोरञ्जन गराउन दुश्मन जस्तै नाटकीय ढंगले प्रस्तुत हुन्छन् ।

एक पहलमानले अर्कालाई पराजित गरेपछि उपस्थित दर्शकले हुटिङ गर्छन् । विजयी हुने पहलवान दर्शकबाट आशीर्वाद लिन पुग्छन् । सो क्रममा दर्शकले खुशी भएर विजयी पहलवानलाई पुरस्कार स्वरूप नगद समेत दिन्छन् ।

औरही गापा ५ का पूर्व वडाध्यक्ष दिलिप यादवले भन्छन्, ‘तराई मधेशका प्रायः घरका एक न एक व्यक्ति पहलवान हुन्थ्यो । अहिले मनोरञ्जनका लागि भाडामा पहलवान ल्याउनुपरेको छ । कुस्ती खेल र पहलवानको संरक्षणमा राज्यको ध्यान पुगोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *