फर्म गुमाएका कुशल भुर्तेल– चार खेलमा २५ रन – Nepal Press

फर्म गुमाएका कुशल भुर्तेल– चार खेलमा २५ रन

काठमाडौं । घरेलु मैदानमा आयोजित त्रिदेशीय टी–२० श्रृंखलामा नेपालले शानदार प्रदर्शनसहित फाइनलमा स्थान बनाएको छ । आज भएको अन्तिम खेलमा यूएईविरुद्ध जित हासिल गर्दै नेपाल समूह चरणमा अजेय रह्यो ।

यूएई र हङकङविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा आफ्नो श्रेष्ठता देखाउन सफल भयो । खेलाडीहरु पालैपाले फरक फरक म्याचमा चम्किएर जितका लागि योगदान दिइरहेका छन् । अब कोही चल्न बाँकी छ भने ती हुन्, ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल ।

प्रतियोगितामा नेपालको खराब फर्म नेपालका लागि चिन्ताको विषय बनेको छ । उनी नेपालका प्रतिभाशाली ओपनर हुन्, जसले बलिया टिमविरुद्ध पनि आक्रमक ब्याटिङ गर्दै आफ्नो क्षमता उजागर गरिसकेका छन् । टेस्ट राष्ट्र जिम्बाबेविरुद्ध ९९ रन बनाएका कुशलले एसिया कपमा भारतको राष्ट्रिय टिमलाई समेत अत्याएका थिए ।

तर, घरेलु प्रतियोगितामा कुशलको प्रदर्शन दयनिय छ । चार म्याच खेल्दा उनले बनाएको कुल स्कोर हो २५ । उनले चार म्याचमा क्रमशः १४, ८, २ र १ रन बनाएका छन् ।

विकेटलाई नबुझिकनै सुरुबाट ब्याट चलाउन थाल्दा कुशल चुकेको बुझ्न सकिन्छ । मूलपानीको पीच नेपालका लागि पनि नयाँ हो । यहाँ रन बनाउन त्रिवि मैदानमा जस्तो सजिलो छैन । यद्यपि, अलिकति सुझबुझ तरिकाले खेल्दा रन बन्छ पनि । नेपालले २ रन कटाएर देखाइसकेको छ ।

आजको खेलमा कुशल राम्रो बलमा आउट भए । सायद अरु ब्याट्सम्यान भएको भए पनि आउट हुन सक्थे । अघिल्ला म्याचहरुमा भने उनी बढी आक्रामकता देखाउँदा आउट भएका छन् ।

त्रिकोणात्मक सिरिजको फाइनल खेल त्रिवि मैदानमा हुँदैन । यो कुशलका लागि प्रिय मैदान हो जहाँ उनले प्रशस्त रन बटुलेका छन् । त्यसैले फाइनलमा उनी चल्न सक्ने उच्च अपेक्षा छ । यद्यपि, सुरुवाती ओभरहरुमा सतर्कता अपनाउनुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर