रसियन आर्मीमा बढ्दो नेपाली भर्ती, सुरक्षा र जोखिमका चुनौती- लाश वा स्वासको खबरसम्म पाउँदैनन् परिवारले – Nepal Press

रसियन आर्मीमा बढ्दो नेपाली भर्ती, सुरक्षा र जोखिमका चुनौती- लाश वा स्वासको खबरसम्म पाउँदैनन् परिवारले

काठमाडाैं । टिकटकको अल्गरिदम अचम्मको हुन्छ , २ हजार ६३ सालको सशस्त्र विद्रोहबाट संसदीय पद्दतिमा आएको माओवादीका अध्यक्ष पुष्पकमल दाहालको देशलाई दशवर्षमा एसियाको धनि देश बनाउछौं र त्यतिमात्रै नभई युरोपीय लेभलमा पुर्याउछौं भन्दै दिएको बढो जोशिलो भाषण हेरेर अर्को भिडियोमा पुग्दा नेपालीहरु रसियन आर्मी भन्दै तालिम गरेको भिडियोहरु देख्न पुगे ।

त्यसको केही तल नेपालीहरु खाडीमा ७०/ ८० तल्लाका गगनचुम्वी भवनमा सिसा पुस्न डोरीमा झुण्डिएको भिडियो हेरे त्यसको केही मुनि सोही रसियन आर्मीमा आवद्ध भई युद्धमा होमिएर हाल युक्रेनी सेनाको कव्जामा रहेका बदिर्याका विबेक खत्रीको भिडियो हेरे जहाँ उनी भन्दै छन् , मेरो आमाले काम गर्न सक्नु हुन्न, साथीभाइहरुले रसियन आर्मीमा राम्रो पैसा दिन्छ भनेर लहैलहैमा आए अहिले आएर नेपाल फर्किन पाए धन्य हुने थिए भन्दै रिहाईको निवेदन गर्दै थिए ।

२ हजार ६३ सालमा जोश, प्रतिवद्धता, थुप्रै नयाँ उर्जा, नयाँ नयाँ आश्वासन लिएर आएको पार्टीका उनै नेतृत्व अहिले देशको शीर्ष स्थानमा छन् मुलत गरिखाने वर्गको आवाजलाई लिएर आएको पार्टीले थूप्रै पटक विभिन्न मन्त्रालयमा नेतृत्व समेत गरिसकेको छ ।

१० वर्षको वाचा अहिले २० वर्ष पुग्न लाग्दा नेपाल एसियाको सबैभन्दा गरिव देशको अग्रस्थानमा पुगेको छ । भलै केही देशहरुको तथ्यांक उपलव्ध नभएर उक्त देशहरु सो सुचीमा समावेश गरिएको छैन तर पनि गरिएका बाचा एकतिर देशको उधो गति अर्कोतिर यो हामी कसैले उखान टुक्कामा जनतालाई रनभुल्ल पारेर वा मिठा जोशिला भाषणमा गफ दिएर ढाटिने वा लुकाएर लुक्ने विषय होइन ।

अहिलेको युगमा हरेक तथ्यांक र सुचना सजिलै उपलव्ध हुने हुदाँ जनतालाई हरेक दिन मुर्ख बनाउन सहज भने छैन तर भनिन्छ नि सबैलाई आफ्नो जीवन धान्नै छ काम गर्नै छ न त नेताको प्रतिकार गर्न सक्छन् न प्रतिवाद गरेर समय बर्वाद नै गर्न सक्छन् किनभने भनिन्छ नि पुग्दैन खान नगरी काम साँझ र विहान यस्तै हो जनता चुपचाप सुनीरहन्छन् , चित्त नबुझे ओठ लेप्र्याउछन् , खिसिक्क हास्छन् वा मासु भातमा विकेको छन् भने ताली बजाउछन् र भन्छन् हो देश त सिंगापुर जस्तै भइसक्यो , मेरो नेता महान छ , विश्वकै सफल नेता ।

यो सबैका बीचमा एउटो ठूलो संख्या छ जसले नेपालमा हरेक स्थानमा कोशिस गर्यो , हरेक निकायमा आफ्नो क्षमता , प्रतिभा देखाउन खोज्यो तर अन्तिममा आफ्नो एउटै गन्तव्य देख्छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल । अझ भनौं त्यहाबाट बैदेशिक रोजगारिमा उड्ने सयौं विमान । दिनको हजारौं युवा युवती देखि अधवैशें उमेरका नागरिक रोजगारीका लागि देश छाड्ने संख्या हाल सम्मकै उच्च हुँदैछ ।

नेताको भाषण फेरिएको छैन सुन्ने अनुहार फेरिदै छ । वाचा फेरिएका छैनन् सुन्ने कान फेरिएको छ । केहि वर्ष अघि जेनतेन नै भएपनि बेरोजगार युवाहरु हुन्थे ती भाषणको छेवैवाट हिड्ने अब त ती सबै परदेश लागि सकेका छन् वा लाग्ने तरखरमा छन् र बाकी हुदैं छन् त वृद्ध वृद्धा, बालबालिका र केही असक्त । यस्तै टिकटकको अल्गरिदमका बीच एक भिडियोमा आँखा अडिन गयो २१ वर्षिया कलिला हलेसीका युवा जसले रसियन आर्मीको लुगा लगाएका थिए र भन्दै थिए , कृपया नेपाली दाजुभाईहरु कोही पनि नआउनुस् यहाँ ।

रसियन कुटनितिज्ञ र व्यक्तिहरु नेपालमा पनि छ्न त्यसैले सुरक्षाको कारणले म उनको नाम भन्दिन तर ती २१ वर्षिय युवक आप्mनो २ घन्टा लामो टिकटक लाइभमा सयौं पटक भन्दै थिए , म त थाहानै नभएर आए तर तपाईहरु नआउनुस् । उनको लाइभमा थूप्र्रैले मिश्रित प्रतिक्रिया दिदैं थिए । थूप्रैको एउटै प्रश्न थियो कसरी आउने रसियन आर्मीमा भर्ती हुन् तर ती युवक बारम्वार भन्दै थिए ।

तपाई जतासुकै जानुस् तर यहाँ नआउनुस् । नेपालीहरु रसियन आर्मीमा भर्ती भाको विषय नौलो होइन सरकारले आधिकारिक रुपमा जनतालाई कुनै सन्देश वा कुनै रोकतोक गर्न न खोजेको छ न चाहेको छ तर पैशाको आश्वासन अनि भविष्यमा रसियामै बस्न पाइने आस्वासनका साथ नेपालीहरु विचौलिया वा सामान्य भाषामा दलालीहरुलाई ८ देखि २० लाख सम्म बुझाएर रसिया पुगेको टिकटकमा आउने सयौं भिडियोले स्पष्ठ पार्छ । नेपालबाट यसरी भर्ती हुन जानेको विषयमा अन्तराष्ट्रिय सञ्चार माध्यममा समेत थूप्रै समाचार आइसकेका छन् ।

कतिपय समाचारमा यसरी गएका नेपालीहरु रसियन आर्मीमा नभई सरकारकै खर्चमा तयार पारिएको निजी सैनिक समुह वाग्नर समुह भएको बताइन्छ । यसलाई रसियाको भाडाको सैनिक बताउने गरिन्छ तर टिकटकमा आउने कोहि नेपालीले पनि यस विषयमा भने केही बताउन चाहदैनन् ।

बाग्नर समुह भनेको विभिन्न प्रकारका जनशक्ति राखेर युद्धका निम्ति तयार पारिएको समुह हो जसमा थूप्रै जघन्य युद्ध अपराधमा सजाय पाएका कैदिलाई समेत माफी दिएर हतियार दिइ युद्धमा लड्न भर्ति गराइएको छ । खयर टिकटक लाइभकै कुरा गरम , लामो टिकटक लाइभमा थूप्रै कमेन्टहरु एकपछि अर्को गर्दै आइरहेका थिए जसमा एक जनाको आफ्नै समस्या भएपछि एक युवती पनि उक्त टिकटक लाइभमा गेष्ट भएर जोडिन्छिन् ।

सुलोचना नाम भएकी उक्त युवती रसियामा रहेका युवकलाई सोध्छिन् मेरो पनि भाई २ महिना अगाडि खाडीबाट रसिया पुगेको थियो यस्तै आर्मीमा सामेल हुन तर विगत १८ दिनदेखि उसको कुनै खबर आएको छैन । उसका साथीहरु भने सम्पर्कमा छन् तर मेरो भाईको केही खवर छैन के भएको होलारु यो प्रश्न पछि उक्त युवक भन्छन् दिदि तपाईको भाइ सायद तालिममा हुनु होला त्यसैले खबर नआएको ।

युवती भन्छिन् भाई यदि युद्धमा कसैको मृत्यु भए आफन्तले नेपालमा खबर पाउछन् रु युवकको उत्तर आउछ दिदी केही पनि खबर थाहा हुदैन, कसलाई के भयो कति नेपाली मरे वा के अवस्था छ थाहाँ दिदैन । ती युवक पनि रसिया पुगेको ३ महिना हुन लागेको रैछ । युद्धग्रस्त युक्रेनमा जान अव केही दिनमात्र बाकी रहेको बताउदैं थिए ।

कति नेपालीले उनलाई सोध्दै थिए फर्केर आउन मिल्दैन र ? युवक उत्तर दिन्थे दाई दिदीहरु हाम्रो राहदानी सबै उनीहरु संगै छ कम्तिमा एक वर्ष हामी आउन मिल्दैन । कुन बेला मरिन्छ वा के हुन्छ ठेगान छैन अरु देश जता जानुस् तर रसिया नआउनुस् उनले यसो भन्दै गर्दा कटुवाल थरकी एक युवती उनको लाइभमा आइपुगिन र भक्कानो छोडेर रुन थालिन् ।

आफूलाई सम्हालेर उनले भनिन्, ‘भाई मेरो श्रीमान् पनि विदेशको काम छाडेर रसिया आर्मीमा भर्ती हुन पुग्नु भएको अहिले केही खबर छैन महिना दिन हुन लाग्यो । रसियाबाट नेपाली युवक पुनः उही उत्तर दिए दिदि तालिममा हुनु होला वा युद्धमा हुनुहोला नेटवर्क हुँदैन केही भएको छैन होला नआत्तिनुस् तर उक्त महिला आफूलाई सम्हाल्न नसकेर रुदैं थिइन् । मैले त भोकै बसे बसम्ला बरु नजानुस भनेको थिए मान्नु भएर अहिले दशैंको बेला छ तर नरोइ वितेको छैन दिन भन्दै भक्कानिदै थिइन् ।

तपाईंहरुको पीडा त आफ्नो ठाउँमा छ तर परिवारलाई हुने पिडा र छटपटी त्यो भन्दा धेरै छ त्यसैले बिन्ति कोही पनि नगइदिनुस् कटुवालले आशु मिश्रित भावमा आफ्नो विन्ति राख्दै थिइन् । यसरी दुई परिवार कोही आफनाे भाई त कोही आफनाे श्रीमान्को अवस्था बुझ्न छट्पटिएका थिए तर उत्तर कोहीसंग थिएन थियो त केवल कामना सुरक्षित छन् भन्ने ।

यस्ता आमाबुवा , दिदीभाई, दाजु बहिनी, श्रीमान् श्रीमती कति छन् वा के छ त्यसको तथ्यांक कसैसंग छैन । घन्टौं चलेको लाइभ मैले पनि ध्यान दिएर हेरेको थिए । करिव ८ देखि २० लाखमा दलालीहरुले लैजादा रसियामा युद्ध सकिन लाग्यो, युद्धस्थलमा जान पर्दैन भन्ने झुठा तथ्य अगाडी सार्ने गर्दा रहेछन् । यद्यपी विभिन्न देशमा रहेका नेपाली राम्रो पैशा र उज्जवल भविष्यको सपना देखेर पुग्ने हरुको संख्या दैनिक ५० देखि ६० को संख्यामा रहेको बताइन्छ । हो आर्मीमा भर्ती भइसकेपछि युद्ध वा हरेक परिस्थिती सामान्यजस्तै हुन्छ ।

जुनै क्षेत्रमा काम गरेपनि खतरा वा जोखिम हुन्छ तर रसियन आर्मीमा तालिममा पुगेकाको कुरा सुन्दा तीन महिना अगाडि पुगेका उनीहरु करिव १ वा २ महिनाको तालिम पछि नै युद्धमा होमिन तयार कसरी हुन सक्छन् ? यो प्रश्न बुझ्न सक्नुपर्छ । सामान्य तयारीमै युद्धमा खटाइनु कत्तिको सुरक्षित हुनसक्छ ? आर्को कुरा भाषागत समस्या , रसियामा अग्रेजी भाषा बुझ्ने संख्या निकै न्युन छ त्यसमा हाम्रा कति नेपालीले अग्रेंजीमा युद्धगत कलाकौशल बुझने गरि संवाद गर्न सक्लान ?

अर्को प्रश्न यसरी युद्धमा लड्न युक्रेन क्षेत्रमा गएका नेपालीको मात्रै होइन स्वयम रसियनहरुकै अवस्थाको बारे परिवारले स्पष्ट उत्तर पाउन सकेका छैनन अव यस्तो अवस्थामा तपाईलाई केही भइहाल्यो तर यसको उत्तर परिवारले कहिले पाउलान् वा पाउलान् कि नपाउलान् ? कतिपय दलालीले विमा आदि इत्यादि भनेर आश्वासन देखाएर समेत लाने गरेपनि नेपाली ती युवक भने यस विषयमा अज्ञात थिए ।

लाशको त ठेगान नहुने अवस्थामा विमाको दावी परको कुरा रहेको उनको भनाई थियो । करिव २ लाख २० हजार नेपाली तलव हुने भनिएपनि तलव कतिहुन्छ वा हो भन्ने बारे उनी नै ढुक्क हुन सकेका थिएनन् । दिन रातको गोलीको आवाजले थूप्रै नेपालीहरु मानसिक तनावमा पुगेको उनको भनई थियो र हात जोडेर उनी भन्दै थिए तपाईहरु नआउनुस् म आए मैले अहिले चेते ढिलो भइसक्यो तर तपाईहरु नआउनुस् ।

आउदा लागेको क्रृणको आफ्नै पिडा छ अनि यताको आफ्नै पिडा बरु अन्य देश जानुस् यता नआउनुस् उनले थूप्रै पटक अनुरोध गरे र अन्तिममा भने ६ बजे खानाको समय भयो हामी गएम् र उनले विदा लिए । उनीसंगै थूप्रै नेपाली देख्न सकिन्थ्यो पृष्ठभूमिको कोठामा ।

१८ देखि ५५ वर्षका जो कोही ब्यक्ति भर्ती हुन मिल्ने विभिन्न टिकटकमा बताइन्छ । देशको अवस्थाले आजित , राजनितिले थकित अनि गरिविले ग्रसित नेपाली विश्वका विभिन्न मुलुक पुगेको छन् सुनौलो भविष्यको आशमा तर सुख त्यति सजिलै कहाँ मिल्थ्यो र कोहीले खाडीमा दुखः भोगेका छन् त कोहिले युरोप अमेरिका वा अष्ट्रेलियामा । सबैका आफ्ना आफ्ना पिडाका उपन्यासहरु छन् कतिका दविन्छन् त मात्रै केहिका बाहिर निस्किन्छन् मैले यो भिडियो पनि त्यसैका रुपमा लिए ।

सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्डा, वाइड बडी काण्ड , यति , ओम्नी यस्ता सयौं काण्डै काण्डका बेथितिबाट भागेका जनताको विडम्बना भने उही हाम्रो उखानजस्तो , बर्मा गएपनि कर्मासँगै, दुखीको भाग्यमा सधै दुखनै । तर केही गर्न नसके पनि नेपाल सरकारले रसियामा भर्ती हुने विषयलाई आधिकारिक रुपमा सम्बोधन गर्न सक्नु पर्छ । अज्ञात रहेका नेपालीको अवस्था जानकारी गराउन कुटनैतिक पहल गर्ने हिम्मत गर्न सक्नु पर्छ । सबैलाई शुभ विजया ।

(पूर्व टेलिभिजन पत्रकार लेखक हाल संयुक्त राज्यको अमेरिकामा छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *