विपीनको घरमा आएन दसैँ : दिनभर समाचार सुनिरहन्छन् बुवाआमा (भिडिओ) – Nepal Press
इजरायल युद्ध

विपीनको घरमा आएन दसैँ : दिनभर समाचार सुनिरहन्छन् बुवाआमा (भिडिओ)

कैलाली । कञ्चनपुर भीमदत्त नगरपालिका-३ भाँसीस्थित मालिकार्जुन टोलमा अहिले सन्नाटा छ । विगत १५ दिनदेखि विपीन जोशीको प्रतीक्षामा बसेको छ मालिकार्जुन टोल । भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका जोशी अहिले सम्पर्कविहीन छन् ।

असोज २० मा प्यालेस्टाइनी विद्रोही हमास समूहको आक्रमणमा जोशीसँगै रहेका १० नेपालीको मृत्यु भयो । त्यही दिन बेपत्ता भएका जोशी अहिलेसम्म पनि सम्पर्कमा छैनन् । छोरा बेपत्ता भएको खबर पाएकी आमा पद्मा जोशी विक्षिप्त छिन् । घरमा कोही मान्छे आयो कि उनी छोराको केही खबर आयो कि ? भनेर सोध्छिन् । बुवा महानन्द जोशी पनि छोराको अवस्था बारे बुझिदिन हारगुहार गरिरहेका छन् ।

२० गते घटना हुनुभन्दा केही बेरअघिसम्म विपीन परिवारकै सदस्यहरूसँग भिडिओ‌ कलमा बोलिरहेका थिए ।

‘खाना खाँदै छु, आक्रमण हुनसक्ने भएकाले बंकरमा लुक्न सूचना जारी भइरहेको छ भनेर दाइलाई भन्दै थियो,’ बुवा महानन्दले भने, ‘केहीबेरमा कुरा गरौँला भनेको छोरासँग त्यसपछि कुरा हुन पाएको छैन ।’

इजरायलबाट फर्किएका कैलाली भजनी-४ का वीरेन्द्र चौधरीले विपीनलाई हमास समूहले अपहरण गरेर लगेको बताएका छन् । विपीनको परिवारसँग पनि वीरेन्द्रले त्यही सूचना दिएका छन् ।

हमासको आक्रमणबाट गम्भीर घाइते भएपछि अस्पतालमा उपचाररत गोरखाका हिमाञ्चल कट्टेलले पनि विपीनलाई युद्धग्रस्त गाजा क्षेत्रको सीमानजिकैबाट बन्धक बनाइएको बताएका थिए । परिवारका सदस्यहरूले विपीनलाई बन्धक बनाएको भन्दै सरकारसँग उद्धारको लागि अपील गरिरहेका छन् ।

२९ गते कैलाली आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगेका बुवा तत्काल सरकार उच्च स्तरीय कूटनीतिक पहल गरेर छोरालाई फिर्ता ल्याइदिन याचना गरिरहेका छन् । उनीहरूले त्यस क्रममा प्रधानमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएका थिए । प्रधानमन्त्रीलाई प्रत्यक्ष भेटेर पनि छोराको रिहाइको लागि पहल गर्न आग्रह गरेको बुवा महानन्दले जानकारी दिए ।

यो पनि पढ्नुस् : वीरेन्द्रकाे बयान- १० साथी आँखै अगाडि ढले, हमासले विपीनलाई लतारेर लगे (भिडिओ) 

‘प्रधानमन्त्री ज्यूलाई भेटेरै छोराको रिहाइको लागि पहल गर्न भनेका छौँ’ उनले भने ‘प्रधानमन्त्रीले सरकारले पहल गरिरहेको छ भन्नु भएको छ । १५ दिन भयो अहिले सम्म केही सूचना आएको छैन ।’

विपीनको आफन्त किशोर जैशीले पनि केही दिन पहिले परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर उद्धारको लागि पहल गर्न अपिल गरेका थिए । मन्त्री साउदले पनि सरकार लागिरहेको आश्वासन दिएको विपीनका परिवारहरूको गुनासो छ ।

१५ दिन सम्म पनि कुनै सूचना नपाउँदा यो परिवारमा पीडा थपिएको छ । यहाँ दशैको रौनकले छुन सकेको छैन । विपीनको बारेमा केही थाहा हुन्छ कि भनेर बिहानदेखि साँझसम्म समाचार सुनिरहने गरेको बुवा महानन्दको भनाइ छ ।

‘अमेरिकाका पनि केहीलाई छुटाएको भन्ने सुनेका छौँ, हाम्रो सरकार पनि अझै गम्भीर भए छोरो छुट्न सक्थ्यो ’ उनले भने ‘छोराको बारेमा केही नयाँ कुरा आउँछ कि भनेर समाचार मात्रै सुनिरहन्छौँ ।’

घरका एक्ला छोरा हुन् विपीन । उनको एक बहिनी छिन् ।

बहिनी पुष्पा भन्छिन्, ‘दाइ नहुँदा दसैँ पनि दसैँ जस्तो लागिरहेको छैन अब तिहार यस्तो नहोस् । सरकारलाई बिन्ती छ मेरो दाइलाई दसैँसम्म घर ल्याइदिनुहोस् । ’

अहिले विपीनको घरमात्रै नभएर छरछिमेकमै चाडबाडको त्यति रौनक छैन । उनीहरू पनि विपीनको खोजीमा सरकार गम्भीर बन्नुपर्ने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर