एनआरएनए फुट्यो, पराजित पक्षद्वारा आरके शर्माको नेतृत्वमा अर्को कार्यसमिति घोषणा – Nepal Press

एनआरएनए फुट्यो, पराजित पक्षद्वारा आरके शर्माको नेतृत्वमा अर्को कार्यसमिति घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) विभाजित बनेको छ । ११औं महाधिवेशनबाट डा. बद्री केसीसहितको टीम विजयी भएपछि पराजित समूहले समानान्तर कार्यसमिति घोषणा गरेको छ ।

अध्यक्षमा पराजित उम्मेदवार आरके शर्माको नेतृत्वमा अर्को समिति बनाइएको हो ।

असोज ३० गतेबाट काठमाडौंमा जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको भन्दै विज्ञप्ति जारी गरिएको छ ।

‘महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको हो’, विज्ञप्तिमा भनिएको छ ।

२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएपछि नयाँ प्रक्रियामार्फत अध्यक्षमा शर्मालाई चयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पराजित पक्षले नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. केशव पौडेललाई चयन गरेको छ । उनी निर्वाचनमा विजयीसमेत भएका थिए । तर संस्थापन पक्षबाट उपाध्यक्ष बन्न अस्वीकार गर्दै पराजित समूहतिर लागेका हुन् । प्राविधक त्रुटीले पौडेलको काठमाडौंमा शून्य मत देखिएपछि बबण्डर सुरू भएको थियो ।

अन्य उपाध्यक्षमा खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ ञरोविनझ चयन गरिएको छ ।

त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको जनाइएको छ । बुद्धिसागर सुवेदी पराजित समूहको नयाँ महासचिव बनेका छन् ।

उपमहासचिवमा सोम सापकोटा, प्रबिन गुरुङ र प्रमोद सिटौला छन् भने सचिबमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टन्क गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन् । महिला सचिव बिमला सापकोटा चयन भएकी छन् ।

कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सीना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मालाई राखिएको छ ।

निर्वाचन समित पनि नयाँ बनाएर संयोजक दुर्गा आचार्यले कथित पदाधिकारीहरुलाई शपथ दिलाएका थिए। यो टीमलाई निवर्तमान अध्यक्षद्वय कुल आचार्य तथा रबिना थापाको समर्थन छ ।

 


प्रतिक्रिया

6 thoughts on “एनआरएनए फुट्यो, पराजित पक्षद्वारा आरके शर्माको नेतृत्वमा अर्को कार्यसमिति घोषणा

  1. चुनावमा हार स्विकार्न नसक्ने गद्दार हुन् । यस्तालाई के एनआरएन भन्नू ? यी त देशद्रोही गठबन्धनका एजेण्ट हुन् ।

  2. यिनको काम NRN को हकहित भनेर पैसा उठाउने अनि आफू खाने र गठबन्धनका फटाहाहरूलाई खुवाउने मात्र हो ।

  3. अदालतले इजाजत दिएको छ क्यारे, खोल्न पाइ हाल्छन !!
    यिनको काम नागरिकता र नागरिक बेच्बिखन त होला : बैधानिक रुपमा अब !!

    1. suspend त गर्नु हुँदैन । नेपालीलाई नेपालसँग जोडिरहनुपर्छ । फेरि दिल्ली खुशी हुन्छ र विहारीले नेपाल भर्छ । तर ठगबन्धनका झोले कथित विद्रोहीलाइ चाहिँ बन्देज गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर