लुम्बिनी खसीबोकामा आत्मनिर्भर, भारतबाट शून्य आयात – Nepal Press

लुम्बिनी खसीबोकामा आत्मनिर्भर, भारतबाट शून्य आयात

रुपन्देही । केही समयअघि दशैंका लागि आवश्यक खसीबोका नेपाली उत्पादनले नपुगरे भारतबाट आयात गर्नुपर्ने अवस्था थियो तर अहिले माग थेग्ने अवस्थामा पुगेको छ ।

लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कपिलवस्तु लगायतका जिल्लाबाट यो वर्ष पनि काठमाडौंमा सयौंको संख्यामा खसीबोका बिक्रीका लागि गए । व्यवसायीहरूले प्रदेशका पहाडी जिल्लाहरूमा घर घर गएर खसीबोका खरिद गरी काठमाडांैलगायतका ठूला शहरमा लगियो ।

अहिले भारतबाट आउने पूरै रोकिएपछि आन्तरिक खपत मात्रै भएको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

भारतबाट शून्य आयात

यो पटकको दशैंको लागि हालसम्म लुम्बिनी प्रदेशका कुनै पनि नाकाबाट भारतबाट औपचारिक बाटोबाट एउटा पनि खसीबोका नेपाल आएनन् । पहिला नेपाली किसानले उत्पादन गरेको खसीबोका बिक्री हुनुपर्ने, किसानको बिक्री भएपछि मात्रै अन्य देशबाट आयात गर्ने अभ्यासअनुसार अहिलेसम्म कुनै पनि खसी बोका आयात नगरिएको हो ।

पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा. भक्त न्युरेका अनुसार ७ हजार खसीबोका भारतबाट नेपाल निर्यात गर्न पाउनुपर्ने भन्दै आवेदन आएपनि शुक्रबारसम्म शून्य रहेको जनाए । र यसमा हालसम्म कुनै पनि निर्णय नभएको बताए । खसीबोका उ

त्पादनमा नेपाली किसान नै आत्मनिर्भर भैरहेको सरकारी घोषणाअनुसार नै भारतबाट आयातमा जरुरी नरहेको उनको भनाइ रहेको छ । काठमाडौं उपत्यकाबाट मात्रै दशैं तिहारको लागि करिब ५० हजार खसीबोकाको माग भएको थियो । अहिलेसम्म कति परिणाम पुग्यो ठ्याक्कै रेकर्ड नभएपनि भारतबाट भने नआएको न्यूरेले जनाए ।

व्यवसायी बाख्रापालक महासंघ केन्द्रीय संयोजक तथा निवर्तमान अध्यक्ष प्रेमसागर पौडेलका अनुसार बार्षिक रूपमा ३० हजारभन्दा बढी खसीबोका लुम्बिनीमा तयार हुने गरेका छन् । दशैंको लागि गतवर्ष किसान आफैले संकलन गरेर काठमाडौंमा पनि खसीबोका लगेको तर बिक्री नभएर फिर्ता ल्याउनुपरेकाले यो पटक रणनीति फेरिएको हो ।

व्यवसायीहरूले माग गरेको बेलामा ३० हजारभन्दा पनि बढी खसीबोका किसानको घरघरबाट निकाल्न सकिने उनले पहिले नै जनाएका थिए । प्रदेशका व्यवसायिक बाख्रापालक किसान महासंघसंग ९ सय ३७ जना आवद्ध रहेका छन् । यो वर्ष भने आर्थिक मन्दीको कारण फार्म नै बन्द गरेर व्यवसायिक किसान घटेको पूर्व केन्द्रीय अध्यक्ष पौडेल बताउँछन् ।

संकलन केन्द्र नहुँदा समस्या

चाडपर्वको बेलामा सहजरूपमा व्यवसायीहरूले खसीबोका किन्न र किसानले समेत सहज रूपमा बिक्री गर्न पाउने गरी प्रदेशमा एउटा संकलन केन्द्रको माग गरिएको छ । व्यवसायिक बाख्रापालक किसान महासंघले विगत ७ बर्षदेखि संकलन केन्द्रको माग गर्दै आएको हो ।

यसको लागि सैनामैना नगरपालिका क्षेत्र उपयुक्त हुने भन्दै जग्गा माग गरिएको थियो । तर नगरपालिकाले सालझण्डी क्षेत्रको भिरको जग्गा दिएको कारण त्यहाँ निर्माण संभव नभएको किसान सुनिल अर्यालको भनाइ रहेको छ ।

करिब १ विगाह क्षेत्रफल भएको जग्गा संकलन केन्द्रको लागि आवश्यक हुने पशु चिकित्सक डा. प्रदीप शर्मा पौडेल बताउँछन् । जसमा बाख्राको खोरसहितको पूर्वाधार, तारजालीसहितको पूर्वाधार आवश्यक हुन्छ । किसानहरूले विभिन्न पालिकासंग जग्गा माग गर्दै आएको भएपनि जग्गा उपलब्ध नभएको कारण संकलन केन्द्र निर्माण गर्न नसकिएको किसानको गुनासो रहेको छ ।

संकलन केन्द्रको लागि चाहिने आवश्यक दाना, पानी, पूर्वाधारलगायतको व्यवस्थापन चाहिन्छ । जसमा पशुको प्राथमिक उपचार गर्ने स्थानसमेत आवश्यक पर्ने प्राविधिकहरु बताउँछन् ।

काठमाडाैंमा जाने खसीबोकाको संख्या यकिन नभएपनि पशु क्वारेन्टाइन कार्यालय भैरहवाले ठाउँ ठाउँमा चेकपोष्ट राखेर गरेको अनुगमन तथा परीक्षणबाट ३ दिनमा ५ हजार ४ सय ५० भन्दा बढी खसीबोका काठमाडांैमा गएको रेकर्ड राखेको छ ।

पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा. भक्त न्युरेका अनुसार ३ दिनको अवधीमा कपिलवस्तुको बाटो हुँदै बर्दघाटबाट करिब ६ हजार खसी बोका काठमाडौंमा बिक्रीको लागि गएको जानकारी दिए । उनका अनुसार दशैं तिहारको लागि चाहिने खसीबोका यो क्षेत्रबाट दैनिक रूपमा जाने गरेका छन् ।

केही दिन पहिला मात्रै बर्दिया क्षेत्रबाट १२ सय ५० खसी बोका काठमाडौंको लागि गएका छन् । यस्तै दाङ लगायतका पश्चिम नेपालको तराई क्षेत्रबाट अहिले ३ दिनको अवस्थामा ५ हजार ५ सयभन्दा बढी संख्यामा खसी बोका काठमाडाैंमा गएका छन् । यी सबै नेपाली किसानले उत्पादन गरेका खसी बोकाहरू हुन् ।

लुम्बिनी प्रदेशको तराईको दाङमा पहाडी जिल्लाहरू प्यूठान, रुकुम, रोल्पा लगायतका स्थानबाट आउने खासीबोका त्यहाँ जम्मा हुने र व्यवसायीहरूले काठमाडाैं लैजाने गरेका छन् । यस्तै गुल्मी, अर्घखाँची लगायतका जिल्लाबाट कपिलवस्तु जिल्लामा व्यवसायीहरूले जम्मा गरेर काठमाडौं लैजाने गरेका छन् भने पाल्पा, रूपन्देही, गुल्मी, स्याङ्जाको केही स्थानबाट समेत बुटवलमा खसीबोका जम्मा गरेर काठमाडौंतर्फ व्यवसायीहरूले लैजाने गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर