कुशल र दीपेन्द्रको विश्वकीर्तिमान– पाचौं विकेटका लागि सर्वाधिक ठूलो साझेदारी – Nepal Press

कुशल र दीपेन्द्रको विश्वकीर्तिमान– पाचौं विकेटका लागि सर्वाधिक ठूलो साझेदारी

काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी क्रिजमा टिक्नु, अनि कुनै कीर्तिमान नबन्नु, त्यो कसरी सम्भव छ रु आज हङकङविरुद्धको म्याचमा पनि यो जोडीले एउटा महत्वपूर्ण विश्वकिर्तिमान रच्न सफल भयो ।

सर्वाधिक छिटो शतक र सर्वाधिक छिटो अर्धसतकका विश्वकीर्तिमानधारी कुशल र दीपेन्द्र ८.१ ओभरमा क्रिजमा जोडिए, जतिबेला नेपाल ४ विकेटमा ५५ रन बनाएर संघर्ष गरिरहेको थियो । तर, जब उनीहरुको पार्टनरसीप सुरु भयो, हङकङ तत्कालै ब्याकफुटमा आइहाल्यो । दुवै ब्याट्सम्यानले हङकङको बलिङलाई धुजाधुजा बनाइदिए ।

यो जोडीबीच १४५ रनको साझेदारी भएको थियो, जुन टि–२० क्रिकेटमा सर्वाधिक ठूलो साझेदारीको विश्वकिर्तिमान हो । यसअघि यो किर्तिमान न्यूजिल्याण्डका मार्क च्यापमान र जेम्स निसमको नाममा थियो । यसैवर्ष रावलपिण्डिमा भएको पाकिस्तानविरुद्धको खेलमा उनीहरुले पाचौं विकेटका लागि १२१ रनको अविजित साझेदारी गरेका थिए । उक्त रेकर्डलाई कुशल र दीपेन्द्रले निकै पछाडि छोडिदिएका छन् ।

यो जोडीले जुन गतिमा रन बटुले त्यो पनि आफैंमा अभूतपुर्व छ । १० ओभरको खेल समाप्त हुँदा ६७ रन मात्रै जोडेको थियो । २ सय रन पुर्याउन सक्ने कल्पना नै थिएन । नवौं ओभरको अन्तिम बलमा ठूलो सट खेल्दै कुशलले आफ्नो आशय स्पष्ट पारेका थिए । त्यसपछि उनी रोकिएनन् ।

पछिल्ला १० ओभरमा नेपालले अविश्वसनीयरुपमा १४६ रन जोड्न सफल भयो । अन्तिम ८ ओभरमा मात्रै नेपालको खातामा १३७ रन वर्षिएको थियो । दीपेन्द्र र कुशलले १९ औं ओभरमा ३० रन जोडेका थिए ।

१९ औं ओभरको छैटौं बलमा दीपेन्द्र ५७ रन बनाएर आउट भए । उनले ३४ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए । कुशलले अझै विष्फोटक रुप देखाए । उनले ४१ बलमा ९ छक्का र ३ चौकासहित ९२ रन जोडे । अन्तिम ओभरअघि कुशलले शतक पुरा गर्ने सम्भावनासमेत देखिएको थियो । अन्तिम ओभरको दोस्रो बलमा छक्का हान्दै उनले आफ्नो स्कोर ८७ पुर्याए ।

तेस्रो बलमा ५ रन आयो र कुशल ९२ रनमा उक्लिए । त्यसपछि भने स्ट्राइकमा सन्दीप जोरा आए । उनले एक रन लिएर कुशललाई शतकको मौका दिए । कुशलले शतक पूरा गर्न अन्तिम दुई बलमा लगातार चौका वा छक्का हान्नुपर्ने थियो । तर, कुशल छक्का हान्न खोज्दा लङ अनमा क्याच भए ।

कुशलले छक्काको वर्षा गराउँदा मुलपानीमा रहेका दर्शकहरुमा खुशीको सीमा थिएन । कुशल आफैं भने कुल देखिन्थे । उनले अर्धसतक बनाएको सेलिब्रेसनसमेत गर्न चाहेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर