कसले पढ्न भ्याउँछन् दसैँमा किताब ? – Nepal Press

कसले पढ्न भ्याउँछन् दसैँमा किताब ?

सामाजिक सञ्जालहरुमा दसैँ लाग्दा नलाग्दै किताबका चर्चा अलि धेरै हुन्छ । पढ्न रुचि भएकाहरु किताबका लिष्ट पनि सार्वजनिक गरिरहेका हुन्छन् । अझ पुस्तक व्यवसाय गर्नेहरुको त व्यवसाय बढाउने अवसर पनि ।

अघिल्ला वर्षहरुमा झैं यस वर्ष पनि सामाजिक सञ्जालहरुमा यो दसैँमा कुन, कस्ता किताब पढ्ने भन्ने चर्चा बढ्न थालिसकेका छन् ।

फेसबुकका स्टाटसहरुमा पुस्तकको रुचिसहित कमेन्ट गर्ने साथीहरुको लर्को पनि लाग्न थालिसकेको छ । पर्वका बेला अझ विशेषगरी दसैँमा अलि लामो बिदा हुने भएकाले पुस्तक पठनका क्रिया प्रतिक्रिया हरेक वर्ष भइरहन्छन् ।

सञ्चारमाध्यमहरुले त दसैँ बिदामा कस्ता पुस्तकहरु पढ्ने भनेर नामसहित विवेचना गर्ने वा लिस्टसहित लेख्ने र पढ्नेहरुका अनुभव सार्वजनिक गर्ने त दसैँ न्यूज बिट जस्तै भइसकेको छ ।

हुन पनि हो, दिनदिनैको जागिरे वा व्यवसायिक जीवनबाट छुट्टी मिल्नेहरुले फुर्सदमा आफ्नो रुचिअनुसारका किताब पढ्ने, घुम्न जाने वा आफूलाई खुसी मिल्ने काम गरेर मनाउनै पर्छ ।

चाडपर्व खुसी ल्याउन नै मनाइने हो । वर्षभरका व्यस्तता भुलेर फुर्सदमा उत्सव मनाउने बेला । आफ्नो रुचिको काम गरेर बिताउने नै हो । पर्व र किताबसँगको सम्बन्धबारे चर्चा हुँदा म भने ती महिलाहरुलाई सम्झिन्छु, जो चाडपर्वसँगै घरको भान्छाभन्दा बाहिरको अनुभूत गर्न पाउँदैनन् ।

केही दिनअघि एकजना साथीसँग दैनिकी, काम र परिवारबारे छलफल गर्दै थिएँ । उनले भनिन्, ‘कहिलेकाहीं त मलाई झ्वाम्म नारायणीमा हाम फालेको दिनमात्रै यो हजार बेफुर्सदबाट छुट्टी मिल्छ जस्तो लाग्छ ।’

दुई सन्तान, श्रीमान अनि सासूससुरासहितको संयुक्त परिवार । उनी र श्रीमान दुबै जागिर गर्छन् । परिवारको खर्चको हिस्सा श्रीमानसँग निभाउँछिन् उनी ।

बाहिरबाट देख्दा श्रीमानश्रीमती दुबै जना जागिरे । सँगै अफिस जान्छन्, सँगै फर्किन्छन् । कति सुन्दर अनि सुखी परिवार । तर, त्यो सुन्दरताभित्र उनको भागमा मात्रै भएको तेहेरो भूमिका देख्ने को ?

श्रीमानले भातभान्छा महिलाको मात्रै हो भनेर बाल्यकालमा सिके । अहिले मेरो जिम्मेवारी पनि बराबरी हुन्छ भन्ने सायद महसुस गर्दैनन् ।

सायद भातभान्छामा दुईभन्दा बढी हात थपिए आफूसरह घरको आर्थिक व्यवस्थापन गर्ने श्रीमतीलाई कामको बोझ हलुको हुन्छ भन्ने उनी भेउ पाउँदैनन् । उनले पनि आफ्नो लागि केही समय बिताउन पाउँछन् भन्ने महसुस नै नहुँदो हो । कुनै दिन श्रीमतीले नसक्ने अवस्था आयो भने त्यो काम ‘सघाइदिन’ समेत हम्मे पर्छ उनलाई ।

तर, चाडपर्वमा भने इन्जोय गर्नुपर्छ भनेर सचेत छन् । त्यसैले उनी पठन सोसाइटीको हिस्सा बन्छिन् । उनको जत्तिकै बुझाइ क्षमता राख्ने मेरी साथीले यो दसैँलाई किताबका पानाको लागि समय छुट्याउने योजना बनाउन भ्याएकी छैनन् । उनलाई पर्व त आफ्नो लागि भातभान्छाको हिस्सा सम्हाल्नमात्रै आउँछ जस्तो लाग्छ । आराम गर्ने समय पाउन त हम्मे उनले कसरी पाउन रुचिका पुस्तक छान्ने समय ।

म पढेलेखेका पुस्ताको पुस्तक पठन संस्कृतिमा छर्लङ्ग देखिने असमान लैंगिक व्यवहारले बेलाबेला निसासिन्छु । किनकि बौद्धिक बहसमा सँगसँगै हुन म, मेरो महिला आफन्तसँग वा अधिकांश विवाहित महिलासँग पनि उत्तिकै रहर हुन्छ, जति म जत्तिकै हैसियत राख्ने केटा साथीलाई हुन्छ ।

राष्ट्रिय जनगणना २०७८ ले १० वर्षभन्दा माथिका व्यक्तिले गर्ने कामको आर्थिक रुपमा पेशागत वर्गीकरण गरेको छ । जसअन्तर्गत अहिले नेपालमा आर्थिक काम गरेका मानिसको संख्या एक करोड ४९ लाख ८३ हजार ८१० जना छन् । तीमध्ये ५२.६ प्रतिशत पुरुष र ४७.४ प्रतिशत महिला छन् ।

तर, चाडपर्व आएसँगै पढेलेखेकाहरुको सोसाइटीमा पुस्तक छनोट गर्ने समूहमा ४७.४ प्रतिशतका महिलाबाट होइन, पुरुषबाट चैँ अधिकांश रहेका हुन्छन् ।

हुन त पठन संस्कृति र पुस्तकका कुरा पनि एक किसिमको बजार नै हो । जसरी दसैँ आएसँगै कपडाका बजारमा मानिसहरु भीड लाग्छन्, पुस्तक बजारले पनि आफ्नो लक्षित समूहलाई तान्न जनसम्पर्कको सबैखाले अभ्यास गर्छन् ।

तर, त्यो पुस्तक बजारले निकै कममात्रै महिलालाई तान्नसक्छ । म पढेलेखेका पुस्ताको पुस्तक पठन संस्कृतिमा छर्लङ्ग देखिने असमान लैंगिक व्यवहारले बेलाबेला निसासिन्छु । किनकि बौद्धिक बहसमा सँगसँगै हुन म, मेरो महिला आफन्तसँग वा अधिकांश विवाहित महिलासँग पनि उत्तिकै रहर हुन्छ, जति म जत्तिकै हैसियत राख्ने केटा साथीलाई हुन्छ ।

तर, ऊसँग जत्तिकै समय हामी महिलासँग छ त ? महिलाहरु पढ्दै पढ्दैनन्, वैचारिक बहसमा आउनै सक्दैनन् भनेर महिलाको वौद्धिकतामा प्रश्न गर्ने पुरुषहरुले एक पटक आफ्नै घरभित्रको लैंगिक दृश्यमा विवेचना गरुन् ।

एउटा घटना सुनाउँछु, सन् २०१२ तिर तत्कालीन बीबीसी मिडिया सर्भिसले उत्पादन गर्ने सारंगीको भलाकुसारीमाका म गर्थें । काठमाडौंमा तालिम परेको बेला त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.गोविन्दराज भट्टराईका दम्पत्तीसँग कुराकानी गर्ने मौका मिलेको थियो । कीर्तिपुरस्थित उनीहरुकै घरमा पुग्दा देखेको दृश्य आज पनि मेरो आँखाअघि घुमिरहे झैं हुन्छ ।

डा. भट्टराई आफ्नो लाइब्रेरीमा पढिरहनुभएको थियो । उहाँकी श्रीमती अञ्जना भट्टराई पनि पढिरहनुभएको थियो । तर, उहाँको लाइब्रेरी थियो किचनको टेबल । त्यो समय अहिले झैं चाडपर्वको थिएन । एउटा सामान्य दिनमात्रै थियो ।

लैंगिक समानतासँग सम्बन्धित नै एउटा रिपोर्टको बाइट लिन त्यहाँ पुग्दा देखिएको त्यो दृश्यले आज पनि कताकता असहज महसुस हुन्छ । परिवारभित्रको लैंगिक भूमिका देखाउन नेपालको उपल्लो प्राज्ञिक तहमा रहेका भट्टराई दम्पतीको घरको त्यो दृश्य काफी छ ।

हामी ढुंगे समाजबाट माइक्रोचिप्सले विश्वलाई कन्ट्रोल गर्ने उत्तर आधुनिक समाजको अभ्याससम्म आइसक्यौं । प्रविधिमा हजारौं गुणा परिवर्तन भए पनि त्यही ढुंगे युगबाट उदाएको पितृसत्ता नामको गलत सामाजिक अभ्यासबाट भने अझै उम्किन सकेनौं ।

अहिले आँगनैमा भित्रिएको छ दसैँ । दसैँ बिदाको उमंग सबैका मनमष्तिस्कमा आइसक्यो । जागिरे नै किन नहून्, विवाहित महिलालाई सोध्नुस् त दसैँ आइदिए हुन्थ्यो जस्तो लाग्छ ? या, यो पर्व तपाईंको लागि कति रमाइलो छ ? आफूसरहको पेशा गर्ने श्रीमानले झैं उनले पनि दसैँका लागि दर्जन पुस्तक पढ्ने लिस्टमा राखेकी छिन् त ?

पक्कै पनि उनको पढ्ने लिस्ट छैन या निकै कमले मात्रै पढ्ने पुस्तकका लिस्ट बनाएका छन् । हामी आफैंलाई थाहा छ । एउटा पर्वमा विवाहित महिलाको भूमिका कस्तो हुन्छ ?

अझ दसैँ, विशेष खानपान गर्ने अनि आफन्तकहाँ गएर रमाउने पर्व । यो पर्व वा अरु जुनसुकै समयमा पनि अधिकांश नेपाली परिवारमा भातभान्छा सम्हाल्ने जिम्मा महिलाकै भागमा पर्छ, अझभन्दा महिलाकै ठानिन्छ ।

हामी ढुंगे समाजबाट माइक्रोचिप्सले विश्वलाई कन्ट्रोल गर्ने उत्तर आधुनिक समाजको अभ्याससम्म आइसक्यौं । प्रविधिमा हजारौं गुणा परिवर्तन भए पनि त्यही ढुंगे युगबाट उदाएको पितृसत्ता नामको गलत सामाजिक अभ्यासबाट भने अझै उम्किन सकेनौं ।

समाज परिवर्तनको लागि पहिले व्यक्ति परिवर्तन जरुरी छ । अझ परिवर्तन महिलाले आफूलाई सहज होस् भनेर पुरुषलाई जबरजस्ती परिवर्तन गराउन खोजेर हुँदैन । समाजका व्यक्ति महिला हुन् अनि उत्तिकै जिम्मेवार पुरुष । अधिकांश परिवारको सत्ता पुरुषबाट सञ्चालित छ । कमजोर वर्ग त सधैं सत्ताको वरिपरि न हुन्छ । त्यसैले परिवार परिवर्तन हुन पहिला पुरुषको सोच परिवर्तन हुन जरुरी छ ।

हामी बराबरी आउन महिलालाई चुनौती दिइरहेका छौं भने भातभान्छाको काममा पुरुषले लजाउन छोड्नुपर्छ । आजैदेखि सोच बदल्नुस् त ! पक्कै तपाईंको परिवारको महिला सदस्य पनि तपाईंजत्तिकै खुसीसाथ दसैँमा रमाउनेछिन् । त्यहीबाट सुरु हुन्छ परिवर्तनको अर्को चरण । अनि गर्नेछन् महिलाले पनि चाडपर्वको फुर्सदमा पढ्ने पुस्तकका छनोट ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *