गठबन्धन दलका उम्मेदवार पराजित भएपछि एनआरएन निर्वाचन बदर गर्न सरकारलाई दबाब – Nepal Press

गठबन्धन दलका उम्मेदवार पराजित भएपछि एनआरएन निर्वाचन बदर गर्न सरकारलाई दबाब

पराजित अध्यक्षका उम्मेदवार र कांग्रेस-माओवादी निकट एनआरएन नेताले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर भने- निर्वाचनमा धाँधली भयो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा सत्ता गठबन्धनसँग आबद्ध उम्मेदवारहरु पराजित भएपछि नवनिर्वाचित कार्य समितिलाई सरकारबाटै भंग गराउने चलखेल शुरु भएको छ ।

बिहीबार राति घोषणा भएको अन्तिम मत परिणाममा एमाले निकट प्रवासी नेपाली मञ्चले समर्थन गरेका बद्री केसीसहित उनको प्यानलका अधिकांश पदाधिकारी र सदस्यले जितेपछि हार्ने पक्षले मत परिणाम अस्वीकार गरेको छ ।

उपाध्यक्षका उम्मेदवार केशव पौडेलको काठमाडौंबाट गरिएको मत विद्युतीय मेसिनले नदेखाएपछि अन्य पदका पराजित उम्मेदवारले समेत सबै प्रक्रिया रद्द गर्न माग गरेका हुन् ।
अध्यक्षका उम्मेदवार माओवादीका आरके शर्मा र कांग्रेसका महेश श्रेष्ठले मत परिणाम अस्वीकार गरेका छन् ।

शुक्रबार नै कांग्रेस र माओवादी निकट अध्यक्षका उम्मेदवार तथा एनआरएनका गठबन्धन पक्षधर नेताहरुले प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर निर्वाचनमा धाधली भएको जानकारी गराएको शर्माको सचिवालयले जनाएको छ ।

उनीहरुले प्रहरी र साइबर ब्युरोमा कारबाहीको माग गर्दै निवेदनसमेत दिएका छन् । पराजित पक्षले निर्वाचन अवैधानिक भएको घोषणा गर्न परराष्ट्र मन्त्रीमार्फत दबाब दिएका छन् । मन्त्रालयले शुक्रबार साँझसम्म निर्वाचन अवैध भएको वक्तव्य दिने दाबीसमेत उनीहरुको छ ।

मन्त्रालय स्रोतले तत्कालै एनआरएन विवादमा सरकार पस्ने कि नपस्ने भन्ने छलफलमै रहेको जनाएको छ ।


प्रतिक्रिया

One thought on “गठबन्धन दलका उम्मेदवार पराजित भएपछि एनआरएन निर्वाचन बदर गर्न सरकारलाई दबाब

  1. लुटेरा र हत्याराका मतियारहरू विदेश बसे पनि वुद्वि चाहिँ गोवर भरिएको हुने रहेछ । यिनले त विदेशमा पनि लुटने काम नै गर्छन कि क्या हो यहाँको माउ पार्टीहरूजस्तै ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर