दसैँमा साटिन्छ ५०-५५ अर्ब नयाँ नोट : नोट बिगार्नेलाई हुनसक्छ जेल र जरिवाना – Nepal Press

दसैँमा साटिन्छ ५०-५५ अर्ब नयाँ नोट : नोट बिगार्नेलाई हुनसक्छ जेल र जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्षको दसैँमा नयाँ नोट सटहीलाई विशेष प्राथमिकता दिने गरेको छ । दसैँको समयमा पुराना नोटको सट्टामा नयाँ नोट दिने प्रचलन छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थाले आफ्ना काउन्टर मार्फत नोट सटही सुविधा हुन्छ ।

५, १०, २० ५० १०० ५०० र १००० को नयाँ नोट साट्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ । प्रत्येक नोटका बण्डलहरुमा १०० नोट नोट राखिएको हुन्छ । सेवाग्राहीहरुले दसैँमा दान दक्षिणा दिनका लागि ५ देखि १०० सम्मका नोटहरु माग गर्ने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ५०० र १००० नयाँ नोटहरु अन्य नोटको तुलनामा कम माग हुने गरेको छ ।

दसैँमा मागका आधारमा नयाँ नोट सटही गरिने नेपाल राष्ट्र बैंकले बताए पनि प्राय प्रतिव्यक्ति १८ हजार ५०० सम्मको दिइने गरेको छ । बैंक तथा वित्तीय संस्थाले नयाँ नोट सटहीका लागि अतिरिक्त जनशक्ति र समय छुट्याउनुपर्ने तथा नोट ढुवानी एंव वितरणका लागि लाग्ने अतिरिक्त लागतलाई विचार गरी उक्त सीमा निर्धारण गरिएको देखिन्छ ।

यसपटक क्यूआर कोडबाट समेत पैसा साट्न सकिने व्यवस्था गरिएको छ । विगतका वर्षमा झैँ यसपालि पनि नयाँ नोट साट्न बैंकहरूमा लामो लाइन देखियो ।

राष्ट्र बैंकले प्रत्येक वर्षको दसैँमा ५० देखि ५५ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने गरेको छ ।

नोट बिगारे जेल र जरिवाना

सर्वसाधारण लाइन बसेर नयाँ नोट लिए पनि त्यसको संरक्षणमा भने पर्याप्त ध्यान दिएको पाइँदैन । नोट छपाइमा राज्यको सम्पत्ति खर्च हुने कुरामा सर्वसाधारण वेखबर छन् । नेपाल राष्ट्र बैंकले छपाई गर्ने नयाँ नोटको गुणस्तरमा थुप्रै प्रश्नहरु उठे पनि सर्वसाधारणले यसको हिफाजतमा ध्यान नपुर्‍याउँदा नोट चाँडै झुत्रो र मैलो देखिने गरेको छ ।

दसैँमा टीका लगाई दान दक्षिणा स्वरुप नयाँ नोट दिइने प्रचलन रहेकाले टीकामा प्रयोग भएको अविरका कारण नयाँ नोट चाडै मैलो हुने गरेको छ । यसैगरी नोट केरमेट गर्ने तथा अव्यवस्थित प्रयोगका कारण चाँडै बिग्रने गरेको छ ।

नेपालमा असावधानीपूर्वक नोटको प्रयोग कानूनीरूपमा दण्डित छ । मुलुकी अपराध संहिताले नोटमा फोहोर गर्ने जथाभावी केरमेट गर्नेलाई ३ महिना जेल र ५ हजार जरिवानाको व्यवस्था गरेको छ । कानूनको प्रभावकारी कार्यान्वयनको अभावमा नोटको दुरुपयोग गर्ने अवस्था अन्त्य भने हुन सकेको छैन ।

दसैँमा छापिँदैन नयाँ नोट

सामान्यतया दसैँको समयमा नयाँ नोट सटहीको काम तीव्र हुने भएकोले अधिकांशलाई यहाँ बेला नयाँ नोट छापिन्छ भन्ने लागेको हुनसक्छ । तर, राष्ट्र बैंकले दसैँमा नयाँ नोट छाप्दैन । दसैँभन्दा अगाडि नै छापेर भल्टमा सुरक्षित गरेर राखेको नयाँ नोट बजारमा पठाउने गरिन्छ ।

राष्ट्र बैंकले भविष्यमा आवश्यक पर्ने नोटको संख्या पुर्वानुमान गरेर ५ वर्षका लागि पुग्ने गरी नोटको मौज्दात सुरक्षित गरेको हुन्छ । सोही आधारमा नोट छपाई निरन्तरमा वर्षैभरि चल्ने गरेको छ । नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयले नयाँ र पुराना नोटका लागि छुटाछुट्टै भल्टको व्यवस्था गरेका हुन्छ । राष्ट्र बैंकमा खाता भएका तथा कानूनबमोजिम प्रक्रिया पूरा गरी आएका बैंक तथा वित्तीय संस्थाले नोट प्राप्त गर्दछन् ।

दसैँबाहेकको समयमा पनि राष्ट्र बैंकले नयाँ तथा पुराना नोटहरु नियमितरुपमा पठाइरहेकै हुन्छ । तर, दसैँमा नयाँ नोटको विशेष माग हुने भएकाले नेपाल राष्ट्र बैंकले यो समयमा प्राथमिकताका साथ नयाँ नोट नै वितरण गर्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *