भैरहवामा मेडिकल कलेजको विवाद २ सातादेखि उस्तै, पढाई र उपचार सेवा प्रभावित – Nepal Press

भैरहवामा मेडिकल कलेजको विवाद २ सातादेखि उस्तै, पढाई र उपचार सेवा प्रभावित

इन्टर्न डाक्टरहरूको गुनासो- हाम्रो श्रमशोषण भयो, कसलाई सुनाउने ?

रुपन्देही । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (यूसीएमएस) मा जारी विवाद दुई सातासम्म साम्य भएको छैन । जसका कारण अध्ययनसँगै उपचार सेवा प्रभावित भएको छ ।

यहाँ अध्ययनरत विद्यार्थी १२ दिनदेखि आन्दोलनमा उत्रिएपनि उनीहरूको मागको विषयमा कुनै निकास निस्केको छैन ।

आफूहरूमाथिको अन्यायपूर्ण व्यवहार बन्द गरिनुपर्ने, कलेज प्रिन्सिपलले तत्काल राजीनामा दिनुपर्ने, एमएबीबीएस अन्तिम वर्षको रोकिएका कक्षाहरु निरन्तर सुचारु हुनुपर्ने, नयाँ ड्रेस कोडको सट्टा पहिलेको जस्तै हुनुपर्नेलगायतका माग राखेर विद्यार्थीहरू आन्दोलनमा छन् । तर, कलेज प्रशासन मागप्रति उदासीन रहेको उनीहरूले गुनासो गरे ।

विद्यार्थीको आन्दोलनप्रति विगत ४ दिनदेखि अस्पतालमा कार्यरत इन्टर्न तथा आवासीय डाक्टरहरूले पनि ऐक्यवद्धता जनाएपछि उपचार सेवा प्रभावित बनेको हो । विद्यार्थी र डाक्टरसहितको आन्दोलनका कारण एकातर्फ अस्पतालमा बिरामीको उपचार प्रभावित बनेको छ भने चाडबाडको मुखमा विद्यार्थी थप निरास छन् ।

विद्यार्थी र डाक्टर पछिल्लो ४ दिनदेखि रिले अनसनमा छन् । शिक्षा सुधारका नाममा आफूहरूलाई अनावश्यक दुःख तथा यातना दिइएको भन्दै उनीहरू माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडानमा छन् ।

इन्टर्न डाक्टरहरूले आफूहरूमाथि श्रम शोषणसमेत भएको गुनासो गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले २४ हजार पारिश्रमिक दिने गरेकोमा यूसीएमएसले २४ देखि ३६ घण्टासम्म काम लगाएर जम्मा कर काटेर १० हजार ८ सय ९० पाउने गरेको डा. अशोक पाण्डेले बताए ।

अस्पतालले आफूहरूमाथि श्रमशोषण हुने गरेको बताउँदै पारिश्रमिकमा एकरूपता ल्याउन आन्दोलनकारीको आग्रह छ । आन्दोनरत विद्यार्थी, इन्टर्न तथा आवासीय चिकित्सकहरुले उनीहरुले आफूहरूका मागका विषयमा जिल्ला प्रशासन कार्यालयमा एकपटक वार्तामा बसेको भए पनि बीचमै छाडिएको र अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकेको बताए ।

यूसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले विद्यार्थीका मागप्रति अस्पताल प्रशासन सकारात्मक रहेको बताए । उनले अस्पताल प्रशासन र विद्यार्थीबीच विभिन्न चरणमा छलफल भएकाले अब कुनै सहमति हुने आश्वस्त पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *