‘फाँसी’ को चेतावनी दिने एनआरएन प्रतिनिधिले कुल आचार्यसँग माफी मागे – Nepal Press

‘फाँसी’ को चेतावनी दिने एनआरएन प्रतिनिधिले कुल आचार्यसँग माफी मागे

झाँक्रीको अभिव्यक्तिबारे आचार्य भन्छन्- सामान्य विषय हो, ठूलो इस्यू नबनाउँ

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको भाषणले एनआरएन महाधिवेशनको माहोल तात्तिएको छ । एनआरएन प्रतिनिधिहरु उनको समर्थन र विरोधमा बाँडिएका छन् ।

केहीले झाँक्रीले तीतो सत्य बोलेको भन्दै उनको बचाउ गरेका छन् भने केहीले एनआरएनलाई अपमानित गरेको गुनासो गरिरहेका छन् । एनआरएनका बहालवाला अध्यक्ष कुल आचार्य भने झाँक्रीको अभिव्यक्तिबाट खासै उद्वेलित छैनन् । यसलाई सामान्य विषय भन्दै उनले ठूलो इस्यू नबनाउन आग्रह गरे ।

‘उहाँ स्पष्ट वक्ता हो । लामो समय हामीसँग काम गरेको व्यक्ति हुनुहुन्छ । उहाँले आफूलाई लागेको कुरा बोल्नुभएको छ । यसमा आपत्ति जनाउनुपर्ने कुरा केही पनि छैन । मिडियाले पनि ठूलो इस्यू नबनाउँदा राम्रो हुन्छ’, उनले नेपाल प्रेससँग भने ।

त्यसो त झाँक्री उत्तेजित हुनुमा एक एनआरएन प्रतिनिधिले कुल आचार्यविरुद्ध गरेको कठोर टिप्पणी पनि एक कारण थियो । बेलायतबाट आएका ती प्रतिनिधिले एनआरएनलाई वितरण गर्न लागिएको नागरिकतामा धोकाधडी भएको भन्दै आचार्यलाई ‘फाँसी हुनसक्ने’ चेतावनी दिएका थिए । यस्तो अराजक अभिव्यक्तिबाट झाँक्री क्रोधित बनेकी थिइन् ।

यस विषयमा आज ती महाधिवेशन प्रतिनिधिले आचार्यलाई भेटेर माफी मागेका छन् । बोल्दाबोल्दै मुखबाट निस्किहाल्यो भन्दै उनले क्षमायाचना गरेको आचार्यले बताए ।

‘उहाँले मसित माफी मागिसक्नुभयो । यसलाई मैले ठूलो मानेको छैन’, उनले भने ।

आचार्यलाई फासी दिनुपर्छ भनेर उत्तेजक अभिव्यक्ति दिने योगेन क्षेत्रीले माफी मागेका हुन् । उनी एनरआएन निवर्तमान अध्यक्ष तथा हालै अध्यक्षको उम्मेदवारी दिएर फिर्ताकी रविना थापाका भाइ हुन् । क्षेत्री एनआरएन बेलायतको विवादको बेला अध्यक्ष समेत भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *