‘परदेशी २’को डान्सिङ नम्बर ‘कुरा सिधा छ’ सार्वजनिक, चार दिनमा दुई करोड ग्रस कलेक्सन – Nepal Press

‘परदेशी २’को डान्सिङ नम्बर ‘कुरा सिधा छ’ सार्वजनिक, चार दिनमा दुई करोड ग्रस कलेक्सन

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘परदेशी २’को डान्सिङ नम्बरको गीत ‘कुरा सिधा छ’ युट्युबमा सार्वजनिक गरिएको छ ।

चलचित्र प्रदर्शनको छैटौं दिन बुधबार निर्माण टीमले गीतको पूरा भिडियो सार्वजनिक गरेको हो । यो गीत यसअघि ‘बिहाइन्ड द सिन’सहित लिरिकल शैलीमा ल्याइएको थियो ।

यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छन् । प्रताप दास र मीना निरौलाले गीतमा स्वर दिएका छन् । बीबी अनुरागीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई गोविन्द राईले कोरियोग्राफी गरेका हुन् ।

बडा दशैंको अवसर पारेर प्रदर्शनमा आएको ‘परदेशी२’ले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ । चलचित्रले चार दिनमा (सोमबारसम्म) २ करोड हाराहारी ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माण पक्षले सार्वजनिक गरेको छ । मंगलबार र बुधबार पनि चलचित्रले देशभरका हलमा दर्शकको राम्रो साथ पाएको निर्माण पक्षले जनाएको छ ।

नारायण रायमाझीको निर्देशन रहेको चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सविन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर चलचित्र निर्माण गरेका हुन् ।

चलचित्रले सुखद कमाइ गरिरहँदा शीर्ष कलाकारहरू यतिबेला दर्शक भेट्न मोफसलका हलहरुमा पुगिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *