तिलोत्तमामा सडकका बोटबिरुवा मास्ने ९ जनालाई ५-५ हजार जरिवाना – Nepal Press

तिलोत्तमामा सडकका बोटबिरुवा मास्ने ९ जनालाई ५-५ हजार जरिवाना

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित बेलहिया-बुटवल ६ लेन सडकको किनारमा लगाइएका रुखहरु काट्नेहरुकारबाहीमा परेका छन् । तिलोत्तमा नगरपालिकाले उनीहरुको पहिचान गरेर प्रतिव्यक्ति ५ हजार जरिवाना असुल गरेको हो ।

केही दिन पहिले ६ लेन सडक र बुद्ध परिपथमा लगाइएका एस्टोनियाका रुखहरु काटिएको थियो । त्यसपछि नगरपालिकाले रुख काट्नेहरुको खोजी गरेको थियो ।

रुख काट्नेहरुको पहिचान खुलेपछि जनही ५ हजारका दरले हालसम्म ९ जनालाई जरिवाना गराइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको वातावरण शाखाका अधिकृत गोरखनाथ खनालले बोटविरुवा म्हास्न खोज्नेहरुलाई कानूनअनुसार कारबाही गरिने बताए । पहिलो पटकलाई जनही ५ हजारका दरले जरिवाना गरिएको र फेरि पनि यस्तो कार्य दोहोराए थप जरिवाना गरिने उनले बताए ।

सडक किनारमा लगाइएका एस्टोनियाको पात तथा बोक्राले गर्भवती महिला र पशु चौपायाको गर्भपतन गराउने, यसको हावाले समेत मानिसको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने गलत हल्ला फैलाइएको थियो । यसबारे नगरपालिकाले परीक्षणसमेत गरेको जनाएको छ।

नगरपालिकाकी उपमेयर जगेश्वरीदेवी चौधरीले एस्टोनियाको बारेमा गलत हल्ला फैलाइएपछि विज्ञहरुबाट परीक्षण गरिएको र यसबाट मानिस वा पशुपंक्षी कसैको पनि स्वास्थ्यमा हानि नपुग्ने पुष्टि भएको बताइन् ।

नगरपालिकाले कसकसलाई जरिवाना तिराइएको हो, सबै विवरण खुलाएको छैन । ६ लेन सडक निर्माणसंगै सडक किनारमा लगाइएका एस्टोनियाका बोटहरुबारे नकारात्मक हल्ला फैलाइएपछि सडक किनारका कतिपय स्थानीयले यसअघि पनि हुर्किसकेका विरुवाहरु काटेका थिए ।

नगरपालिकाले पाँच वर्ष पहिले नै सुन्दर र हरियाली तिलोत्तमा बनाउने अभियानसँगै सडक किनारमा रुख रोप्ने र सरसफाइ अभियान सञ्चालन गरेको थियो । नगरवासीको अग्रसरतामा ५ वर्ष पहिले लगाएर हुर्किसकेका विरुवा काटिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *