गणेश श्रमणको नयाँ कविता संग्रह ‘आगो लिएर गाउँ गाउँमा’ सार्वजनिक – Nepal Press

गणेश श्रमणको नयाँ कविता संग्रह ‘आगो लिएर गाउँ गाउँमा’ सार्वजनिक

चितवन । कवि गणेश श्रमणको नयाँ कविता संग्रह ‘आगो लिएर गाउँ गाउँमा’ सार्वजनिक गरिएको छ । चितवन भरतपुर-५ स्थित, रामवाग कविकटेरीमा एक कार्यक्रमबीच कविका बुवा रामप्रसाद शर्मा र आमा भीमकुमारी शर्माले उक्त संग्रह लोकार्पण गरे ।

गणेश श्रमणको यो दोस्रो कविता संग्रह हो । यसअघि उनका शब्दक्रान्ति (२०६६ ) कविता संग्रह र गुलियो काठमाडौं ( २०७५ ) लघुकथा संग्रहलगायत प्रकाशित भइसकेका छन् ।

ठोस विषयवस्तुलाई अनुभूतिको तरलतामा घोलेर कोमल भावमा द्रवणशील कविता लेख्ने कविका रूपमा परिचित छन् उनी । कवितामा अनौठो आकर्षण र सम्प्रेषणीयता भएका कारण समकालीन कविपुस्ताको वृहत् समूहबाट आफूलाई पृथक पहिचानका साथ अलग्गै देखाउन सक्षम छन् कवि ।

गणेश श्रमण चितवन साहित्य परिषद, कविडाँडा साहित्य समाज र अक्षर समूह , अभिव्यजना साहित्य प्रतिष्ठा, लगायत साहित्यिक संघ सस्थामा आबद्ध छन् । गाउँ गाउँमा गई कविताका विषयबस्तुको खोज गरी गाउँकै विषयमा कविता लेख्ने कविता चिन्तन यात्राका एक अभियानकर्मी पनि हुन् उनी । कविता चिन्तन यात्राका क्रममा गाउँमै बस्दा र गाउँ गाउँ घुम्दै गर्दा लेखिएका कविता हुन् ‘आगो लिएर गाउँ गाउँमा’ ।

यस कविता संग्रहभित्र गाउँका कविता, प्रतिपक्ष, प्रकृति र अनन्त उपशीर्षकमा करिब ५५ वटा कविताहरू रहेका छन् । कविताको प्रकाशन फिनिक्स बुक्सले गरेको हो ।

सरल भाषामा ग्रामीण र सहज बिम्ब प्रयोग गरी समकालीन राजनीति, सामाजिक विकृति र विसङ्गतिप्रति श्यामव्यङ्ग गरिएका साथै जीवन र जगतप्रति कविले आत्मवोध गरेका गहन चिन्तन मनन् कवितात्मक रूपमा व्यक्त भएका छन् । कविताका केही प्रतिनिधि पङ्क्तिहरू यसप्रकार छन्-

गाउँका कविता

गाउँमा जेल हुदैन
जहाँ जेल हुन्छ
त्यो गाउँ हुदैन ।

कवि र सत्ता

सत्ता भन्छ-
को को मरे
कति मरे

कवि भन्छ
किन मरे
कसले मार्‍यो

ईश्वर

वास्तविकता के छ कुन्नि
अनुमानकै भर
कविहरूले जन्माइदिए
कल्पना ईश्वर

मानौँ

गणितमा मात्र होइन
सारा जीवनमा
यसरी न‌ै मानेर मानिएको रहेछ
यसरी नै मानेर बाँचिएको रहेछ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *