राजेन्द्र बजगाईंले दिएको अन्तरवार्ता भाइरल, धमला भन्छन्– रक्सी गन्हाउँदै गन्हाएन – Nepal Press

राजेन्द्र बजगाईंले दिएको अन्तरवार्ता भाइरल, धमला भन्छन्– रक्सी गन्हाउँदै गन्हाएन

काठमाडौं । पत्रकार ऋषि धमलामाथि आरोप छ– उनी भाइरल हुनका लागि जे पर्न गर्न सक्छन्, र जसको पनि अन्तरवार्ता लिन तयार हुन्छन् । हालै हत्या अभियुक्त रिगल उर्फ योगराज ढकालको अन्तरवार्ता लिएर विवादित बनेका धमलाको फेरि अर्को अन्तरवार्ता चर्चामा आएको छ ।

प्राइम टेलिभिजनका सञ्चालकसमेत रहेका धमलाले हालै आफ्नो टक शो जनता जान्न चाहन्छन् मा कांग्रेस सांसद राजेन्द्र बजगाईंको अन्तरवार्ता लिएका थिए । अन्तरवार्ता युट्यूवमा आएलगत्तै कमेन्टको वर्षा भयो । धेरैले राजेन्द्र बजगाईंले मदिराको सुरमा अन्तरवार्ता दिएको लख काटिहाले ।

उनको हाउभाउ र लर्बरिएको आवाजले सद्दे अवस्थामा लिइएको अन्तरवार्ता होइन भन्ने स्पष्टै देखिन्थ्यो । अन्तरवार्तामा बस्दा बजगाईंले ‘क्याप टोपी’ पछाडि फर्काएर लगाएका थिए । कतिपय प्रश्नमा उनका जवाफ असान्दर्भिक र उत्तेजकसमेत थिए ।

रक्सीले झ्याप भएको मान्छेसँग अन्तरवार्ता किन लिए धमलाले रु धेरैको आशंका छ– भाइरल हुनका लागि जानजान लिएका हुन् । तर, धमलाले भने यो आरोपलाई अस्वीकार गरेका छन् ।

उनले भने, ‘उहाँलाई हामीले अन्तरवार्ताका लागि बोलाएका थियौं । भनिएको समयमै आउनुभयो । आउनासाथ मुख सुँघ्ने कुरा आएन । गन्ध आएको पनि थाहा पाइनँ । त्यसैले अन्तरवार्ता सुरु गरिहालेँ ।’

लाइभ अन्तरवार्ता लिएको १५–२० मिनेटपछि मात्रै आफूलाई महसुस भएको धमलाको भनाइ छ ।

‘सुरुमा त हरेक प्रश्नको फेन्टास्टिक जवाफ दिइरहनुभएको थियो । तर, विस्तारै मलाई शंका लाग्यो । १५ मिनेटजति भएपछि चाहीँ पक्कै रक्सी खाएको हो भन्ने लागेर मैले लाइभ बन्द गर्न लगाएँ ।’

लाइभ बन्द गरेपछि धमलाले बजगाईंलाई रक्सी खाएको हो कि के हो भनेर सोधेका थिए । बजगाईंले स्वीकार गरेको उनी बताउँछन् ।
धमलाले बजगाईंलाई उद्वृत गर्दै भने, ‘म भर्खर एउटा पार्टीमा गएर आएको हो । हल्का पिएको छु । तर, फरक पर्दैन । रक्सी खाएर पनि मज्जाले बोल्न सक्छु ।’

धमलाका अनुसार बजगाईंले युरोप–अमेरिकातिर पनि नेताहरुले रक्सी खाएर अन्तरवार्ता दिने गरेको जिकिर गरेका थिए । बजगाईंले यसरी आश्वस्त पारेपछि धमलाले बाँकी अन्तरवार्ता सुचारु गरे । तर लाइभ होइन रेकर्डेड । पछि सिंगो अन्तरवार्ता युट्यूवमा अपलोड गरिएको थियो ।
व्यापक आलोचना भएपछि धमलाले उक्त अन्तरवार्तां युट्यूवबाट हटाउन लगाएका छन् । तर, यसमा आफ्नो गल्ति नभएको उनको जिकिर छ ।

‘आलोचना त भइराख्छन्, मलाई केही फरक पर्दैन । मैले रक्सी खाएर आउनुस भनेको होइन क्यारे,’ धमलाले भने ।

यसअघि रिगलको अन्तरवार्ता लिएकोमा पनि उनलाई कुनै ग्लानी छैन । सरकारले आममाफी दिइसकेपछि सञ्चारमाध्यमले अन्तरवार्ता लिनु ठूलो कुरा नभएको उनी बताउँछन् ।

‘मैले कति पेलेर प्रश्न सोधेको छु, हेर्नुस न,’ उनले भने ।

गोरखा १ बाट निर्वाचित कांग्रेस सांसद बजगाई राजनीतिमा मात्र नभएर पर्यटन व्यवसायमा पनि स्थापित व्यवसायी हुन् । उनी निर्धक्क बोल्ने र पारदर्शी स्वभावका छन् । उनले मदिरा पिउने कुरालाई मुद्दा नबनाउन समेत आग्रह गरेका छन् । संसदमा पनि उनी जनसरोकार र अन्तर्राष्ट्रिय मामिलामा प्रष्ट कुरा राख्ने सक्रिय सांसदका रुपमा देखिएका छन् ।

पछिल्लो समय शेखर कोइरालालाई गगनले साथ नदिएको भन्दै उनी गगनसँग असन्तुष्ट थिए । सो असन्तुष्टि पोख्ने क्रममा उनी बहकिदा विवादभन्दा पनि चर्चामा आएका छन् ।


प्रतिक्रिया

2 thoughts on “राजेन्द्र बजगाईंले दिएको अन्तरवार्ता भाइरल, धमला भन्छन्– रक्सी गन्हाउँदै गन्हाएन

  1. यस्ता जनप्रतिनिधि रे ! धिक्कार छ मेरो देशका साँसद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *