मधेशको प्रदेशसभा बैठक स्थगित, एमालेको आरोप- मुख्यमन्त्री कमिसनको चक्करमा लागे – Nepal Press

मधेशको प्रदेशसभा बैठक स्थगित, एमालेको आरोप- मुख्यमन्त्री कमिसनको चक्करमा लागे

जनकपुरधाम । मधेश प्रदेश सरकारले मनपरी ढंगले विकास बजेट खर्च गर्न खोजेको भन्दै एमालेले जवाफ माग्दा प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । करिब साढे दुई महिनापछि असोज २३ गते बैठक बस्यो । तर ८ मिनेटमै बैठक स्थगित भएको थियो । त्यसपछि आज बसेको प्रदेशसभा बैठक एमालेले अवरोध गर्दा ५ मिनेट नचल्दै स्थगित गरियो ।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै एमालेका सांसदहरु उठेर सरकारको गतिविधिको विरोध गरे । एमाले सांसद दिपेन्द्र ठाकुरले दलका नेताहरुसँग मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सदस्य सदस्यको रोहबरमा उपभोक्ता समिति गठन गर्ने र बजेट विनियोजन गर्ने भनेर गरेको सहमतीको पालना नभएको भन्दै सरकारसँग जवाफ माग गरे ।

उनले भने, ‘मुख्यमन्त्री यादवले १५ दिनभित्रै सहमती लागु गर्ने भन्नुभएका थियो । तर महिनौं वित्यो । उहाँलाई कुनै मतलव छैन । काम कारबाही भने अगाडी बढाउनु भएको छ । त्यसैले सरकारको जवाफ चाहियो ।’

सभामुख मण्डलले एमाले सांसदहरुलाई बस्न आग्रह गरेपछि उनीहरुले सरकारबाट जवाफ नआएपछि सदन चल्न नदिने अडान लिए । त्यसपछि सभामुख मण्डलले १० का लागि बैठक स्थगित गरेका थिए ।

सभामुखले सत्तापक्ष र प्रतिपक्ष एमालेका साँसदहरुलाई राखेर छलफल गराए । मुख्यमन्त्री पनि छलफलमा थिए । तर करिब २ घण्टासम्म छलफल चल्दा पनि सहमती नजुटेपछि सभामुख मण्डल सूचना टाँसेर प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

एमाले संसदीय दलका उपनेता समेत रहेका ठाकुरले मुख्यमन्त्री र मन्त्रीहरु कमिशनको चक्करमा लागेका कारण सहमति कार्यान्वयण गर्न नचाहेको बताए । उनले भने, ‘हामी भन्छौं विकास योजना सम्बन्धित क्षेत्रका साँसदको रोहबरमा सञ्चालन हुनुपर्छ । तर उहाँहरु दलाल र कमिशनको चक्करमा लाग्नुभएको छ ।’

‘मुख्यमन्त्री यादवले कार्यविधि अनुसार योजनाहरु सञ्चालन हुने भन्नुहुन्छ’, एमाले सांसद ठाकुरले भने, ‘कार्यविधि त बनेको छ । तर त्यसमा स्थानीय तहसँग समन्वय गर्ने कुरा मात्र छ । त्यो पनि संशोधन गर्नुपर्छ ।’

दलका नेताहरुसँग गरेको सहमत अनुसार साँसदसँग सहकार्य नगरी योजना सञ्चालन गरे निरन्तर सदन अवरुद्ध गर्ने उनको चेतावनी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर