दशरथ रंगशालाको फुटबल लाइभमा उडाइएको ड्रोनमा सेनाको चासो – Nepal Press

दशरथ रंगशालाको फुटबल लाइभमा उडाइएको ड्रोनमा सेनाको चासो

काठमाडौं । दशरथ रंगशालामा भएको विश्वकप छनोटको खेल लाइभ गर्न उडाइएको ड्रोनमा नेपाली सेनाले चासो देखाएको छ ।

सैनिक मुख्यालयलाई जानकारीविनै त्यसरी ड्रोन उडाइएको भन्दै चासो देखाइएको नेपाली सेना स्रोतले जनाएको छ । सैनिक प्रवक्ता कृष्ण भण्डारीले यसबारे आफूलाई थाहा नभएको बताए ।

‘मलाई यो घटनाबारे थाहा छैन तर आवश्यक समन्वयविना हाम्रो क्षेत्रमाथि ड्रोन उडाउन चाहिँ पाइँदैन’, प्रवक्ता भण्डारीले भने ।

विश्वकप छनोटअन्तर्गत अक्टोबर १२ तारिखमा नेपाल र लाओसबीच दशरथ रंगशालामा भएको खेलको प्रत्यक्ष प्रसारणका क्रममा ड्रोन उडाइएको थियो । फ्लड लाइटमा खेलाइएको यस खेलका लागि रातको समयमा ड्रोन उडाइएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले नेपाली सेनाले अनौपचारिकरूपमा चासो देखाएको जनाएको छ ।

‘ड्रोन उडाएको देखेपछि सेनाले हामीसँग बुझेको थियो । हामीले हाम्रै सहमतिमा टेलिभिजनले ड्रोन उडाएको जानकारी गराएका थियौं, एन्फा उच्च स्रोतले भन्यो ।

यो खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट भएको थियो । एन्फा प्रवक्ता सुरेश शाहले बाटोतर्फबाट ड्रोनले खिच्ने गरी सहमति दिइएको बताए ।

‘मैदानभन्दा माथिबाट पनि ड्रोन उडाउन नपाइने रहेछ । त्यसैले त्रिपुरेश्वर क्षेत्रबाट खिच्ने भन्ने कुरा भएको थियो’, प्रवक्ता शाहले भने । उनले सेनाको चासोबारे भने अनविज्ञता प्रकट गरे । दशरथ रंगशाला सैनिक मुख्यालयसँगै जोडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर