उपप्रधानमन्त्री खड्काको प्रष्टोक्ति- यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावना गलत हो (भिडिओ) – Nepal Press

उपप्रधानमन्त्री खड्काको प्रष्टोक्ति- यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावना गलत हो (भिडिओ)

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको प्रष्ट्याए । नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झूटो रहेको उनको भनाइ थियो ।

प्रधानसेनापति हुन निश्चित मापदण्ड रहेको बताउँदै रक्षामन्त्री खड्काले सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने बताए । यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको उनको भनाइ छ ।

‘सहायक रथी यमप्रसाद अधिकारी १० वर्षअघि युद्धमा भएको मुलुकलाई शान्तिमा रुपान्तरण गर्ने दलहरुको सहमतिबाट तत्कालीन माओवादीका लडाकुहरुलाई नेपाली सेनामा केही संख्यामा समायोजन गर्ने सहमति अनुसार तोकिएको मापदण्ड, भएको सहमति, नेपाली सेनाको परम्परा, संस्थागत स्थिति, सम्बन्धित ऐन, नियमलाई प्रतिकुल असर नपर्ने गरी समायोजनको बन्दोबस्त गरियो । त्यो अघि बढ्यो । त्यही क्रममा यमप्रसाद अधिकारी २०७६ सालको सरकारले अतिरिक्त सहायक रथीको पद सिर्जना गरेर बढुवा गरेको थियो । सहायक रथीको पदावधि सात वर्षको हुन्छ । नेपाली सेनाको नियम प्रक्रिया अनुसार । चार वर्ष पुग्दा हामी सरकारमा गयौं । उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्था छ’, उनले बताए ।

खड्काले थपे, ‘अहिले सेनाको नियमावली चलाएर केके गरेर यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्ने केही सञ्चारमाध्यमले समाचार बनाए । आज पनि एउटा लेख देखेँ, नियमावलीमा यताउति गरेर केही गर्न खोजिँदैछ भन्ने । यी सबैकुरा मिथ्या हुन्, झूटो हो । नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड छ । सैनिक नियमका आधार भन्दा दायाँबायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, म जाने कल्पना पनि गर्न सक्दिन । त्यसैले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत हो । झूटो हो, सबै सूचना गलत सूचनाको आधारमा केही सञ्चारमाध्यमले गलत सूचनामा समाचार बनाएर एउटा स्थापित संस्थालाई हामीले गलत सूचनाबाट र त्यसै आधारमा फेसबुक भरिएका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर