स्थानीय उत्पादन बजारीकरण गर्न गुल्मी उद्योग संघले महोत्सव गर्ने – Nepal Press

स्थानीय उत्पादन बजारीकरण गर्न गुल्मी उद्योग संघले महोत्सव गर्ने

रुपन्देही । गुल्मी उद्योग संघले जिल्लाका उद्योगीलाई प्रवर्द्धन गरी उत्पादनको बजारीकरण गर्न जिल्लामा पहिलो पटक महोत्सव आयोजना गर्ने भएको छ ।

उपल्लो तम्घासमा दशैं तिहारकोबीचमा महोत्सव हुने भएको संघका अध्यक्ष नवराज भुसालले जनाए ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर
कात्तिक १५ गतेदेखि २५ गतेसम्म उपल्लो तम्घासको खालाका चौरमा महोत्सव सञ्चालन गरिने उनको भनाइ छ । मेलामा जिल्लामा रहेका उद्यमी र उनीहरूको उत्पादन राखिने र यसबाट कृषि, पर्यटनको क्षेत्रमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

महोत्सवमार्फत स्थानीय उत्पादन पनि प्रवर्द्धन गरिने भुसालले बताए । गुल्मी के हो भनेर चिन्ने अवसर सबैले प्राप्त गरून् भन्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको उनको भनाइ छ ।

भुसालले भने, ‘बिदामा घर आएको बेलामा गुल्मी के हो भनेर पढ्न सकुन् भन्ने उद्देश्य छ । सिजनका उत्पादन र मेला पर्वको उत्साहलाई महोत्सवमा जोड्न खोजिएको हो।’

महोत्सव सञ्चालन गर्न लागिएको स्थानमा तम्घासस्थान मन्दिर पनि छ । लाखौँको आस्थासँग जोडिएको यस मन्दिरको प्रचार गर्ने भन्दै रेसुंगा नगरपालिकाले शुभारम्भ गरेको ‘जाऊँ हिँड रेसुंगा’ अभियानलाई सहयोग पुर्‍याउने उद्देश्य राखिएको वरिष्ठ उपाध्यक्ष जनक पन्थले जानकारी दिए । पन्थ अनुसार स्थानीयका लागि स्टलमा ३० प्रतिशत छुट दिइनेछ । स्थानीय तहलाई एक/एक वटा स्टल दिइनेछ ।

एक लाख अवलोकनकर्तासहित १ अर्बको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर