मेडिकल कलेजका आवासीय चिकित्सकले विद्यार्थी आन्दोलनमा साथ दिएपछि अध्ययन र उपचार सेवा बन्द – Nepal Press

मेडिकल कलेजका आवासीय चिकित्सकले विद्यार्थी आन्दोलनमा साथ दिएपछि अध्ययन र उपचार सेवा बन्द

रुपन्देही । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एन्ड टिचिङ हस्पिटलमा विद्यार्थीको आन्दोलनलाई आवासीय चिकित्सकले साथ दिएपछि पठनपाठन र उपचार सेवा पूर्ण रूपमा बन्द भएको छ ।

कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर हस्तक्षेप गर्दा ‘असुरक्षित र मानसिक रूपमा विक्षिप्त’ भएको दाबी गर्दै आवासीय चिकित्सकहरूले अस्पतालमा कुनै पनि उपचार सेवामा सहभागी नहुने जनाएका छन् ।

एमबीबीएस र बीडीएस अन्ययनरत तथा इन्टर्न डाक्टरहरू समेत करिब ६ सय विद्यार्थीको आन्दोलनमा आवासीय चिकित्सकले समेत समर्थन जनाएका हुन् ।

आइतबार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भइरहेको समयमा माग सम्बोधन नगरी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई भगाएर लगिएको र विद्यार्थीमाथि बल प्रयोग गरी केही विद्यार्थीलाई घाइते बनाएको विद्यार्थीको आरोप छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा चार घण्टा बढी समय भएको वार्ता विना निष्कर्ष टुंगिएपछि विद्यार्थीहरूले आन्दोलन थप चर्काउने र रिले अनसन बस्ने बताएका छन् ।

आवासीय चिकित्सकहरूले विद्यार्थीको आन्दोलनमा समर्थन जनाउँदै बिरामीको उपचार नगर्ने घोषणा गरेका हुन् । विद्यार्थीहरूले माग पूरा गर्न दबाबस्वरुप रिले अनसन बस्ने बताएका छन् । विद्यार्थी र चिकित्सकको आन्दोलनले बिरामीहरू उपचार सेवाबाट वञ्चित भएका छन् ।

प्रिन्सिपलमा नियुक्त भएर आएपछि डा। पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए ।

पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ ।

चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्र छात्राहरूलाई मात्र १ वर्षको लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । शुरूमा सामान्यजस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले पाठकको नै राजीनामा माग्न थालेका थिए ।

उनीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत् राख्नुपर्ने माग राखिरहेका छन् ।

आइतबार कलेज परिसरमा धर्नामा रहेका विद्यार्थीलाई धरपकड गरी भित्र रहेकी प्रिन्सिपल पाठकलाई बाहिर निकालिएपछि उनीहरू थप आक्रोशित भएका छन् । कलेजमा ७ सय विद्यार्थी आन्दोलनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर