भैरहवाको मेडिकल कलेजमा बढ्यो विवाद, आन्दोलनरत विद्यार्थी र प्रहरीबीच हात हालाहाल (भिडिओ) – Nepal Press

भैरहवाको मेडिकल कलेजमा बढ्यो विवाद, आन्दोलनरत विद्यार्थी र प्रहरीबीच हात हालाहाल (भिडिओ)

एक सातादेखि विद्यार्थीको ‘नजरबन्दमा’ रहेकी प्राचार्यलाई सीडीओ आफैं पुगेर गरे मुक्त

रुपन्देही । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलका विद्यार्थीहरूले प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकको राजीनामा माग्दै गरेको आन्दोलनले तनाव सृजना भएको छ । एक साताअघि विद्यार्थीहरुले क्याम्पसमा प्रिन्सिपलले अनावश्यक टर्चर दिएको आन्दोलनमा उत्रिएपछि कलेजमा विवाद बढ्दै गएको छ ।

आइतबार आन्दोलनरत विद्यार्थीलाई वार्ताका लागि बोलाइएको भएपनि त्यो विषयमा प्रवेश नै नगरी आफूहरुमाथि प्रहरीले दमन गरेर प्रिन्सिपललाई भगाएको जनाएका छन् । क्याम्पस प्रशासनले भने प्रिन्सिपलले ड्रेस कोर्ड अनिवार्य बनाएपछि विद्यार्थीले आन्दोलन गरेको जनाएको छ ।

एक सातादेखि विद्यार्थीको ‘नजरबन्दमा’ कलेजमै रहेकी प्रिन्सिपल पाठकलाई आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको ठूलो सुरक्षा टोली पुगेर उद्दार गरेर बाहिर ल्याएका छन् ।

‘एक सातादेखि प्रिन्सिपललाई कलेजमा बनधक बनाएर राखिएको विषय थियो, धेरै पटकका वार्ता सहमति भएनन्, प्रशासन र विद्यार्थीका मागका विषय उहाँहरु बसेर टुंगाउने हो, बन्धक बनाएका व्यक्तिलाई म आफै पुगेर बाहिर ल्याएको हो, दिनभर बसेर वार्ता गरेपनि कुनै समाधान निस्केन, हिजै सर्वपक्षीय बैठक बसेर यसरी जाने भनेर गरिएको सल्लाह बमोजिम गरिएको हो’ प्रजिअ अर्यालले नेपाल प्रेससँग भने ।

आन्दोलनरत विद्यार्थीहरुले एक महिनाअघि मात्रै प्रिन्सिपलमा नियुक्त भएकी प्रिन्सिपल पाठकको राजीनामा माग गर्दै आएका छन् । उनले नियुक्त भएसँगै सबै विद्यार्थीहरुलाई ड्रेसकोर्ड अनिवार्य बनाएपछि कलेजमा सामान्य एप्रोन लगाएर आउने र निस्कने विद्यार्थीहरु आक्रोशित भएका थिए ।

आइतबार आफूहरुमाथि धरपकट भएको भन्दै विद्यार्थीहरुले अस्पतालको ओपिडिसमेत बन्द गराएका छन् ।

आइतबार प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सशस्त्र प्रहरी प्रमुख, कलेज प्रशासन सहित विद्यार्थीलाई वार्ताका लागि बोलाइएपनि कुनै सम्बोधन नगरिएको उल्टै प्रहरी लगाएर कलेजमा रहेका प्रिन्सिपल पाठकलाई भगाइएको उनीहरुको आरोप छ । कलेजमा पाठक आएपछि विद्यार्थीहरूलाई अनावश्यक मानसिक र शारीरिक यातना दिने गरेको विद्यार्थीहरूको आरोप छ ।

जसले गर्दा उनीहरूले प्रिन्सिपलको राजीनामा माग गर्दै आएका हुन् । यसअघि प्रिन्सिपल पाठकले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूले आफूलाई बन्धक बनाएको सामाजिक सन्जालबाट सार्वजनिक गरेकी थिइन् ।

करिब १७ सय विद्यार्थीले अध्ययन गर्ने यो कलेजमा दैनिक सयौं जनाले उपचार लिने गरेका छन् । एकसातादेखि यहाँको सबैजसो विद्यार्थी आन्दोलनमा होमिएपनि यहाँको अध्ययन तथा उपचार सेवासमेत प्रभावित हुन थालेको छ ।

प्रिन्सिपलमा नियुक्त भएर आएपछि पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । सुरूमा सामान्य जस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले पाठकको नै राजीनामा माग्न थालेका हुन् ।

चौथो, पाँचौं र इन्टर्नसिप गर्दै आएका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टनसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गरेका छन् ।

केही दिनदेखि युनिफर्मको नाममा क्याम्पसले विद्यार्थीहरूलाई दमन र मानसिक यातना दिँदै आएको आरोप लगाएका छन् । प्रिन्सिपल भएर आएसँगै पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ ।

चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्र छात्राहरूलाई मात्र १ वर्षको लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । उक्त नियमले पहिलादेखि नै धेरै लगानी गरिसकेका विद्यार्थीहरूलाई थप व्ययभार पर्ने भन्दै उक्त ड्रेसकोट अस्वीकार गर्दै आएका छन् ।

कलेजका जनसम्पर्क अधिकृत शुशील गुरुङले समस्या समाधानका लागि विद्यार्थीसँग छलफलको प्रयास भएपनि कुनै टुंगो नलागेको बताए । आइतबार भएको कलेज परिसरको विवाद र प्रहरीको धरपकड विद्यार्थी आफैले सार्वजनिक गरेका छन् । उनीहरुले कलेज परिसरमा आन्दोलन गरेपनि नाम सार्वजनिक गर्न तयार रहेका छैनन् ।

याे पनि पढ्नुस्: किन थुने भैरहवा मेडिकल कलेजका विद्यार्थीले प्रिन्सिपललाई ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर