महोत्तरी, पर्सा र रौतहटको अधिवेशनमा जुट्न एमाले मधेश प्रदेशको निर्देशन – Nepal Press

महोत्तरी, पर्सा र रौतहटको अधिवेशनमा जुट्न एमाले मधेश प्रदेशको निर्देशन

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीको पहिले बैठकले महोत्तरी, पर्सा र रौतहट जिल्ला अधिवेशनको तयारीमा जुट्न निर्देशन दिएको छ ।

प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित एमाले मधेश प्रदेशका पदाधिकारीले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । लगत्तै बसेको पदाधिकारीको बैठकले महोत्तरी, रौतहट र पर्साको जिल्ला अधिवेशन गर्न निर्देशन दिनुका साथै विभिन्न निर्णय गरेको हो ।

महोत्तरीको जिल्ला अधिवेशन मंसिर ७ र ८ गते, रौतहटको जिल्ला अधिवेशन ९ र १० गते र पर्साको जिल्ला अधिवेशन ११ र १२ गते सम्पन्न गर्नका लागि तयारीमा जुट्न सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिने निर्णय गरिएको एमाले प्रदेश सचिव मनोज पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्ने पार्टीका नेताकार्यकर्ता, समर्थक, शुभचिन्तक तथा सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा प्रदेशका सबै पालिका कमिटिहरुले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकबाट निर्वाचित प्रदेश कमिटिका सदस्यहरुको शपथ ग्रहण कार्यक्रम बिजया दशमी सम्पन्न भएलगतै गर्ने निर्णय पनि गरिएको छ ।

बैठकले पार्टीका तत्कालिन प्रदेश सचिव डा. कृष्ण पौडेलको निधनले पार्टीलाई अपुरणीय क्षति भएको निश्कर्ष निकाल्दै उनीप्रति हार्दिक श्रदान्जली अर्पण गर्नुका साथै शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न पार्टी पन्क्तिमा अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर