अरनिको यातायातले आजबाट सञ्चालनमा ल्यायो जडीबुटीको आफ्नै लगानीको बसपार्क (तस्बिरहरू) – Nepal Press

अरनिको यातायातले आजबाट सञ्चालनमा ल्यायो जडीबुटीको आफ्नै लगानीको बसपार्क (तस्बिरहरू)

काठमाडौं । पूर्व अरनिको यातायात प्रालिले आफ्नै लगानीमा काठमाडौंको जडीबुटीमा निर्माण गरेको बसपार्क आजबाट सञ्चालनमा आउने भएको छ ।

काठमाडौं महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आजबाट सञ्चालनमा आएको हो ।

काठमाडौं महानगरपालिकाले बसपार्कमा निर्माण गरेको संरचनालगायत अन्य भौतिक संरचना भत्काउने निर्णय गरेपछि पूर्व अरनिको यातायात अदालत पुगेको थियो ।

असोज १२ गते अल्पकालीन अन्तरिम आदेश मात्रै दिएकोमा ध्रुवराज नन्द र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले २१ गते भने बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको थियो ।

जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्वअरनिको यातयात प्रालिले झण्डै १० करोड रूपैयाँको लगानीमा बसपार्क बनाएको छ ।

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि काठमाडौंबाट छुट्ने लामो तथा छोटो दूरीका सबै बस अनिवार्यरूपमा गोगंबु बसपार्कबाटै छुट्नुपर्ने नियम लागू गरेपनि राजधानीपूर्वका यात्रुहरूका लागि गोंगवबु उपयुक्त नहुने भन्दै पूर्वअरनिकोले आफ्नै लगानीमा बसपार्क बनाएको क्षेत्रीले बताए ।

लामो समयदेखि बसपार्क नहुँदा राजधानी पूर्वका काभ्रे, सिन्धुपाल्चोक,दोलखा, रामेछाप,ओखलढुंगालगायतका जिल्लामा सञ्चालन हुने सवारी साधन र त्यसमा यात्र गर्ने यात्रीहरू समस्यामा थिए । यसअघि पुरानो बसपार्कमा भएको पार्कमा टावर निर्माण सुरू गरेपछि राजधानीपूर्व सञ्चालन हुने बसहरू यत्रतत्र पार्किङ गर्ने गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर