कोशीमा एमालेसँगको समीकरण नतोड्ने मुडमा शेखर, पार्टीमा भने मोर्चाबन्दी बढाउँदै देउवा – Nepal Press

कोशीमा एमालेसँगको समीकरण नतोड्ने मुडमा शेखर, पार्टीमा भने मोर्चाबन्दी बढाउँदै देउवा

काठमाडौं । कोशीमा नेता डा. शेखर कोइरालाले गरेको विद्रोहले नेपाली कांग्रेसमा भएको पराकम्प अझै साम्य भएको छैन । गठबन्धन र पार्टीको निर्णय लत्त्याउँदै शेखरले कोशीमा आफू निकटका केदार कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्री बनाउन सफल भएका छन्।

तर, कोशीमा कार्की मुख्यमन्त्री बनेपछि बालुवाटारमा कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति देउवासँग गठबन्धनलाई दायाँबायाँ नगर्ने कबुलियतनामा गरेका छन् । कोशीमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई पनि गठबन्धनले समर्थन गर्ने भएको छ ।

तर, पार्टीभित्र देउवाको पेलानपछि कोशीबाट विद्रोह थालेको कोइरालाले कहाँसम्म जान्छन् भन्ने यकिन छैन । तर, कोशीको विद्रोहबाट शेखरले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति देउवालाई गलाउन सफल भएका छन्।

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धनले पनि स्वीकार गर्ने भएको छ।

बालुवाटारमा शेखरसँग सहमति भएपछि प्रधानमन्त्री प्रचण्डले चितवन पुगेर भने, ‘बिहान मात्रै कांग्रेस सभापति शेरबहादुरजी, म आफैँ र शेखरबीचमा एउटा समझदारी बनाएका छौँ । हामी गठबन्धनलाई बलियो बनाउनेमा दृढ र स्पष्ट छौँ। कुनै पनि हालतमा गठबन्धनलाई कमजोर बनाउन दिइनेछैन भन्ने सहमति भएको छ ।

उनले केदार कार्की अब गठबन्धनकै मुख्यमन्त्री भएकाले सबैले विश्वासको मत दिने बताए । उनले भने, ‘समस्या जसरी सोचिएको र मिडियामा जसरी चर्चा परिचर्चा भएको छ, अब सेफ ल्यान्डिङ गरिएको छ ।

उनले सर्वपक्षीय सरकार बनाउने असम्भव नभए पनि तत्काल सम्भावना नभएको दाबी गरे । उनले आफूहरूले विश्वासको मत दिने भइसकेको बताउँदै एमालेले के गर्छ ? हेर्न बाँकी रहेको बताए । तर, शेखर निकट एक नेताले भने गठबन्धनले समर्थन गरेपछि कोशीमा एमालेको साथ नछोड्ने बताए।

ती नेताले भने, ‘सहमतीय सरकार बन्न सक्छ। एमालेको सहयोगमा बनेपछि हामी एमालेलाई छाड्दैनौँ। अरूलाई पनि समेटेर लानेपछि छलफल हुन्छ। सहमति सरकारबारे छलफल हुने सम्भावना छ।

पार्टीभित्र देउवाले पेलेपछि आफूहरू विद्रोह गर्न बाध्य भएको सुनाए।

ती नेताले थपे, ‘संस्थापन पक्षले यसरी नै एकलौटी गर्दै जाने हो भने हामी चुप बस्दैनौँ भन्ने सन्देश पनि हो। सुदूरपश्चिममा पनि शेखर समूहको एउटा पनि मन्त्री छैन। मधेशमा पनि छैन उहाँहरूले पेलेर भित्तैमा पुर्‍याएपछि शेखर दाइले बाध्य भएर कदम चाल्नुभएको छ।

उनले कोशीबाट संस्थापन पक्षलाई धक्का दिए पनि केन्द्र सरकारसम्म अहिले नसोचेको बताए।

उनले भने, ‘पार्टी सभापतिको कार्यशैलीमा निर्भर हुन्छ। तर, पेलेरै जाने नीति अझै पनि संस्थापन पक्षले लिन्छ भने सम्भव भएसम्म सबै प्रदेशमा हाम्रो विद्रोह हुन्छ।

उनले इतर पक्षको सबै टिमबाट शेखरको विद्रोहमा साथ नपाएको बताए।

उनले भने, ‘शेखर दाइले हाम्रो टिमबाटै सबैको साथ पाउनुभएको छैन। कोशीमा केदारजीलाई मुख्यमन्त्री बनाउने विषयमा हाम्रो टिमबाट पूर्ण समर्थन पाएका छैनौँ। धनराजजी बाहेक सबैले एकजुट भएर शेखर दाइलाई एक्लाउनुभयो।

शेखर निकट अर्का नेता सञ्जय गौतम नेतृत्वले न्याय र विवेक नपुर्‍याएपछि अहिलेको परिस्थिति आएको बताउँछन्।

उनले भने, ‘कांग्रेसभित्रबाटै विकल्पको सम्भावना बाँकी हुँदा हुँदै अन्य विकल्पमा पनि जान सकिन्थ्यो। नेतृत्वले आफूभित्रको विकल्प नखोज्नुभएको कारणले यो परिस्थिति आएको हो। यसको समीक्षा हुन बाँकी छ। नेतृत्वले विवेश गुमाएको परिणाम हो।

उनले अहिले बेलैमा समस्याको समाधानमा नेतृत्व नलागे आगो लागेपछि कहाँकहाँ सल्किन्छ थाहा नहुने बताए।

उनले भने, ‘कोशीबाट आगो सल्किएको छ। समयमै सम्बोधन गर्नुपर्छ। शेखर दाइ र पार्टीका नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर लानुपर्छ। यो मेरो यो तेरो भनेर कसैलाई काखा कसैलाई पाखा गर्न थाल्यौँ आफ्नोलाई भन्दा अरूकोलाई नजिक देख्न थाल्यौँ सोच राखेपछि अप्ठ्यारो क्षण आउन सक्छ।

तर, देउवा निकट नेता तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा शेखर कोइरालासहित गठबन्धनलाई कायम राख्ने सहमति भइसकेको बताउँछन्।

उनले भने, ‘कार्कीजी अब गठबन्धनकै मुख्यमन्त्री हुनुहुन्छ। एमालेले अस्ति प्रचण्डलाई समर्थन गरेको परिस्थिति बन्नेतिर गयो।

केदार कार्कीसहित ८ सांसदलाई कारबाही नगरेर पार्टीले समर्थन गरेपछि सहमतीय सरकार बन्न सक्ने विकल्प भएको बताए।

उनले भने, ‘सहमति सरकारबारे एमालेसँग कुरा भएको छैन। तर, गठबन्धन नटुट्ने कोशीमा गठबन्धनलाई निरन्तरता दिने त्यसलाई स्वीकार्ने भएपछि हो।

शेखर पक्षले कोशीमा एमालेसँगको गठबन्धनलाई निरन्तर राख्ने भएपछि भोलि मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दा एमाले पनि सरकारमा जाने तयारीमा छ।


प्रतिक्रिया

One thought on “कोशीमा एमालेसँगको समीकरण नतोड्ने मुडमा शेखर, पार्टीमा भने मोर्चाबन्दी बढाउँदै देउवा

  1. शेखर कम्तिमा प्रचण्डजस्तो छेपारे होईनन जस्तो लाग्छ । बरू वेश्यावृत्ति गर्नेको इमान जमान हुन्छ । प्रचण्डको त त्यति पनि छैन । दिल्लीका नोकरहरूलाई उसको आदेश पालन गर्ने र देश लुटने भन्दा अरू ध्यान छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर