सरकारबाट गरिने पक्षपातले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउँछ : ओली – Nepal Press

सरकारबाट गरिने पक्षपातले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था भएको बताएका छन्।

एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राजनीतिक दलका निम्ति सरकारभन्दा जनता ज्यादा महत्वपूर्ण हुनुपर्ने बताए। उनले भने, ‘हामीले आज विशेष जोड दिनुपरेको छ- राजनीतिक दलहरूले केवल कार्यकारी शक्तिको अभ्यास गर्न होइन, दीर्घकालिक राष्ट्रिय हितको रक्षा गर्न सक्षम, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई सम्पूर्ण रूपले केन्द्रित गर्नुपर्दछ।’

कुनै पनि सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत त्यसले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउनले बताए।

उनले भने, ‘एसियाली राजनीतिक दलका हैसियतले विश्व आर्थिक मामिलामा एसियाको प्रभावकारी भूमिका बढाउन प्रयत्नशील रहँदा, आउनुहोस् मित्रहरू हामी विश्वका गम्भीर समस्या समाधान गर्न समेत नेतृत्वदायी भूमिका खेल्ने संकल्प गरौँ। विश्वको बहुसंख्यक ज्ञान र कला एसियामा उत्पादन गर्ने संकल्प गरौँ । विश्वको संस्कृति र विमर्शलाई दिशानिर्देश गर्ने संकल्प गरौँ । हाम्रो प्रकृतिको रक्षा गर्दै मानवीय सम्भावनाको अधिकतम उपयोग गर्ने, साझा समृद्धि र दिगो उन्नति हासिल गर्न नेतृत्व लिने संकल्प गरौँ ।’

एमालेले परिपूर्ण लोकतन्त्रको अवधारणा अवलम्बन गर्दै नेपाली जनताको सुख र समृद्धिको आकांक्षा पूरा गर्नुलाई आफ्नो सबैभन्दा ठूलो कार्यभार मानेको बताए।
उनले भने, ‘हामी नेपालमा तीब्र आर्थिक वृद्धिदर कायम भएको गतिशील अर्थप्रणाली निर्माण गर्न चाहन्छौँ, उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी सृजना गर्न, सामाजिक सुरक्षा कायम गर्न, कनेक्टिभिटि र भौतिक पूर्वाधार निर्माण गर्न तथा वातावारण संरक्षण गर्दै राष्ट्रिय विकासको नेतृत्व गर्न चाहन्छौं । विदेश मामिलामा सार्वभौम समानता, पारस्परिक लाभ, न्याय र निष्पक्षताले हामीलाई निर्देशित गर्दछन् । सबै सँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने सिद्धान्तमा हाम्रो अटल विश्वास छ हामी सबै द्विपक्षीय, क्षेत्रीय, तथा बहुपक्षीय अन्तर्राष्ट्रिय मन्चका सरोकारवालाहरूसँग साझा चासो र पारस्परिक लाभका विषयमा सहकार्य गर्न चाहन्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर