नेत्रहीनद्वारा २० वर्षदेखि सञ्चालित समदृष्टि सहकारीको ज्ञान, राज्यले कतिको दियो त ध्यान ? – Nepal Press

नेत्रहीनद्वारा २० वर्षदेखि सञ्चालित समदृष्टि सहकारीको ज्ञान, राज्यले कतिको दियो त ध्यान ?

काठमाडौं । आजभन्दा २० वर्ष पहिले १७ जना नेत्रहीनहरुले एक-एक सय रुपैयाँ जम्मा गरेर सुरु गरेको समूहले हाल साढे दुई करोड पूँजीसहितको सहकारी स्थापना भएको छ ।

न्यून आय तथा विपन्न वर्ग, बेरोजगार तथा उद्यमी नेत्रहीनहरुको जीवनलाई सहजीकरणका निमित्त स्थापना भएको सहकारी हो ‘समदृष्टि सहकारी संस्था’ । सहकारीले आफ्ना सदस्यलाई ८ प्रतिशत ब्याजदरमा ऋण प्रदान गरिरहेको छ भने १२ प्रतिशतका दरमा लगानी गर्ने गरेको सहकारीका अध्यक्ष लक्षमण सुवेदी बताउँछन् ।

सञ्चालक समितिले समेत कुनै सेवा सुविधा नलिएको एकमात्रै सहकारी संस्था रहेको अध्यक्षको दाबी छ ।

सहकारीले राष्ट्र बैंकमार्फत हालसम्म पाँच पटक ऋण लिएर समयमै तिरेको अभिलेख छ । जहाँ बजारमा सहकारीहरुले लुट मच्चाइरहेका समाचार आउने गरेका छन् । दिनप्रतिदिन सहकारी संस्थाको नामबाट आमनागरिकहरु त्रसित भइरहेका छन् । हालमात्रै राजधानी काठमाडौंमा एक महिना लामो धर्ना दिएर सहकारी पीडितहरुले न्याय मागेका थिए ।

यसरी ठूला सहकारीहरु समस्याग्रस्त घोषणा हुँदै भाग्दै गरेको अवस्थामा विगत २० वर्षदेखि नेत्रहीनहरुले यसरी व्यवस्थित रुपमा सहकारी सञ्चालन गर्दै आइरहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका २६ बुढी बजारस्थित समदृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पूर्ण रुपमा नेत्रहीनहरुले सञ्चालन गर्दै आइरहेका छन् ।

सहकारीका सम्पूर्ण कामहरु अनलाइनमार्फत हुने गर्दछन् । जसका लागि एकजना लेखापाल कर्मचारी राखिएको छ । सदस्यहरुले पनि बचतको काम अनलाइनमार्फत गर्ने गर्दछन् ।

हाल सहकारीको अध्यक्ष लक्षमण सुवेदी छन् भने उपाध्यक्ष भिमपाणी ढकाल, सूर्य भट्टराई, सहसचिव रिता केसी, कोषाध्यक्ष सुशील गोधार रहेका छन् । त्यस्तै, सदस्यहरुमा प्रमोद दहाल, अस्मिता भट्ट्राई, पुष्पराज रिमाल छन् ।

२०६० सालमा संस्थापक लक्ष्मण सुवेदीद्वारा १७ जना नेत्रहीनबाट एक-सय रुपैयाँको बचतबाट ‘बचत तथा ऋण समूह’ सुरु गरिएको थियो । जहाँ विस्तारै सदस्यहरु थपिँदै गएर ८७ जनासम्म पुगे ।

त्यतिबेला १७ लाख रुपैयाँको पूँजी स्थापना भएको अध्यक्ष सुवेदी बताउँछन् । सुवेदीका अनुसार समूह सुरु गरेको आठ वर्षपछि २०६८ मा आएर समूहका ३१ जनाको सहमतिमा समूहलाई सहकारीमा दर्ता गराइएको थियो ।

सुवेदी सुनाउँछन्, ‘सुरुमा सहकारी दर्ता गराउँदा एक सय, पाँच सय, एक हजार र दुई हजार रुपैयाँ गरेर साढे दुई लाख रुपैयाँको पूँजी स्थापना भएको थियो । समूहका ८७ जना सदस्यहरुमध्ये ३१ जना सहकारीमा आबद्ध भए बाँकी रहेकालाई बचतको चिरफार गरिएको थियो ।’

विधिवत रुपमा सहकारी दर्ता हुँदा ३१ जना सदस्य थिए भने बिस्तारै सदस्यहरु थपिँदै जाँदा हाल २४५ जना शेयर सदस्य छन् । सहकारीको कूल पूँजी २ करोड रहेको अध्यक्ष सुवेदीले बताए । प्रायः सहकारीको सबै कामअनलाइन माध्यमबाटै हुने गरेको उनले बताए । सदस्यहरुले पनि बचतको काम अनलाइनबाटै गर्छन् ।

सुवेदी भन्छन्, ‘हाम्रो सहकारीमा मासिक रुपमा बचतहरु संकलन हुने गर्दछ । शेयर सदस्यभन्दा बाहिर बचत र लगानी दुवै गर्ने गरेका छैनौ ।’ न्यून आय भएका तथा स-साना व्यवसायमा लगानी गरिरहेका सदस्यहरुले चलाएको सहकारीले नियमित रुपमा वार्षिक साधारण सभा तथा व्यवसाय उन्मुख तालिमहरु पनि सञ्चालन गर्दै आएको छ ।

यसका साथै व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि बेलाबेलामा कक्षाहरु पनि सञ्चान गर्दै आएको छ । सञ्चालकका अनुसार सहकारीले सदस्यहरुलाई ऋण दिन सक्ने सीमितता रहेको छ । दुई लाख बचत हुने बित्तिकै सदस्यहरुमा नै ऋण प्रवाह भइरहेको हुन्छ । त्यसकारण सहकारीको अवधारणा अनुरुप तरलताको घटबढ देखिन्छ ।

यसरी वर्षौंदेखि सञ्चालन गर्दै आएको सहकारीलाई सरकारको तर्फबाट कुनै प्रकारको सहुलियत नपाएको सदस्यहरु गुनासो गर्दछन् । सदस्यहरुका अनुसार सहकारीले पाएको सुविधा कानूनबमोजिम अन्य ठूला तथा मध्यम वर्गका सहकारीले पाउने सुविधामात्रै पाइरहेका छन् । नेत्रहीन भएर आफ्नो तर्फबाट सक्दो उद्यमी उत्पादन गर्न खोज्दा सरकारले कुनै चासो नदेखाएको उनीहरुको भनाइ छ ।

सरकारले ‘सफ्ट लोन’उपलब्ध गराइदिए मात्रै धेरै सहजिकरण हुने उनीहरुको भनाइ छ ।

राज्यले यस्ता उद्यमी तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि नीति नियमहरु पनि सहजीकरण गर्नुपर्ने देखिन्छ । आफ्नै क्षमतामा केही गर्छु भन्नेलाई राज्यले पनि हौसलाको वातावरण सृजना गर्नुपर्ने देखिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर