गैरीगाउँ हत्याकाण्डका आरोपी युवकमाथि आजन्म काराबासको माग गर्दै मुद्दा दायर – Nepal Press

गैरीगाउँ हत्याकाण्डका आरोपी युवकमाथि आजन्म काराबासको माग गर्दै मुद्दा दायर

काठमाडौं । काठमाडौंको गैरीगाउँमा ४ जनाको सामूहिक हत्या अभियोगमा २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले भन्डारीलाई बाँचुञ्जेल जेल (आजीवन काराबास) को मागदाबीसहित अभियोगपत्र दायर गरेको हो ।

प्रहरीले आरोपी भण्डारीको साथबाट बरामद भएको कपडा र हतियारमा देखिएको रगतसँग मृतकहरूको डीएनए मिलेको अनुसन्धानबाट खुलेको बताएको छ ।

अनुसन्धान सकेर बुधबार प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । व्यक्तिगत प्रतिशोध (रिसिबी) का कारण हत्या भएको प्रहरीको निष्कर्ष छ । उनी जन्मजात बोल्न नसक्ने भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो

बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको बताएका थिए । अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ (दिमागी अवस्था परीक्षण) गरेको थियो । उक्त परीक्षणमा भण्डारीको दिमाग सामान्यभन्दा तीक्ष्ण देखिएको थियो ।

आरोपीले रिसिबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको हत्या गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । राठौरको नेतृत्वमा उक्त घटनाको अनुसन्धान समिति बनाइएको थियो ।

भदौ २९ गते राति ११:५५ बजेको समयमा उक्त घटना भएको थियो । घटनामा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *