‘ब्युँझिएको सिरानी’ ले देखाएको मानसिक स्वास्थ्यको गोरेटो – Nepal Press

‘ब्युँझिएको सिरानी’ ले देखाएको मानसिक स्वास्थ्यको गोरेटो

काठमाडौं । नृत्यको आफ्नै भाषा हुन्छ । आफ्नै कलात्मक भाषामार्फत् नृत्यले कसैको दुःख, दर्द र पीडालाई पस्कन्छ । मूलभूत रुपमा नृत्यले मनोरञ्जन दिन्छ । तर, मनोरञ्जन सँगसँगै यसले धेरै कुरा भन्ने ल्याकत राख्छ । नृत्यले नै सबैभन्दा सरल र सरसपूर्ण रुपमा कसैको कथालाई पस्कन सक्छ । कसैको कथालाई सिलसिलेबर तरिकाले उन्नसक्छ । त्यही नृत्य रंगमञ्चमा उक्लियो भने नाटकले उठाएको मूल मुद्दालाई झनै सबल रुपमा सम्प्रेषणीय बनाउँछ । मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘ब्युँझिएको सिरानी’ले यसलाई प्रमाणित गरेको छ ।

यस नाटकभित्र कथा पनि नाटककै छ । नाटकका मुख्य कलाकार सोनामले मानसिक समस्या झेलिरहेको पात्रको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर, नाटकका निर्देशक र कलाकारहरुको असंवेदनशील व्यवहारका कारण सोनाम आफैं मानसिक समस्याबाट ग्रसित बन्दै जान्छन् ।

अभिनयमा लागेकैले सोनामको घरपरिवार पनि लथालिंग छ । श्रीमती मेग्माले ऊनको धागो उनेर परिवारको गर्जो टारिरहेकी छन् । छोरी स्कुल पढ्छिन् । छोरीको स्कुल फी पनि मेग्माकै ऊन र कुरुषमा अल्झिएको छ । मेग्माको दुःख र संघर्ष पनि त्यही ऊन र कुरुषमै अल्झिएको छ । सोनामको दालभात पनि त्यही ऊन र कुरुषले नै जोहो गरिरहेको छ ।

यही बीचमा सोनामलाई नाटकबाट निकालिन्छ । निर्देशक छत्रमानले नाटकबाट निकालेपछि सोनाम मानसिक रुपमा समस्यामा पर्दै जान्छन् । त्यो समस्याले श्रीमती र छोरीको जीवनमा असर गर्छ । सोनामले झेलिरहेको समस्याले उनीहरुको साँघुरो कोठामा असर गर्छ । छिमेकमा असर गर्छ । सिंगो समाजमा असर गर्छ ।

उक्त समस्याबाट सोनाम बाहिर निस्कन सक्छन् त ? सोनाम फेरि अभिनयमा फर्कन सक्छन् त ? यही प्रश्नको जवाफ दिएर नाटकको बिट मारिएको छ । नाटकलाई मुख्यतया नृत्य र संगीतले झनै बलियो बनाएको छ । संवादहरुमार्फत् भन्नुपर्ने कथा नृत्य र संगीतद्वारा भनिएको छ । संवादहरुबाट भन्नुपर्ने कथा प्रकाशको सुन्दर संयोजनद्वारा भनिएको छ । ‘ब्युँझिएको सिरानी’को मुख्य शक्ति नै नृत्य, संगीत र प्रकाशको कलात्मक संयोजन हो ।

एक व्यक्तिमा मानसिक समस्या हुनसक्छ । तर, त्यो समस्या एक व्यक्तिको मात्रै हुनसक्दैन । त्यो समस्या सिंगो समाजको हो । त्यो समस्याको समाधान खोज्न पनि सिंगो समाज र परिवारको खाँचो पर्छ । जेडी तमु निर्देशित नाटकले यो कुरा कलात्मक ढंगले भनेको छ । जब सोनाम बिरामी हुन्छन्, उनलाई हिजो पैसा नकमाएकोमा गालीमात्रै गरिरहने श्रीमती माग्माले बडो प्रेम गर्छिन् । छोरीले पनि सोनामलाई प्रेम गर्छे । त्यही ओजपूर्ण प्रेमको शक्तिले सोनाम विस्तारै तंग्रिँदै जान्छन् ।

नाटकमा आधा बनाइएको सिलाम साक्मा स्टेजको पछाडि भित्तोमा झुण्डाइएको छ । आधा सिलाम साक्मा माग्माले बुनिरहेकी छन् । भित्तोको आधा सिलाम सक्मालाई आवश्यकताअनुसार प्रकाश दिइएको छ । यसरी निर्देशक तमुले विम्बको रुपमा प्रयोग गरेको सिलाम साक्मा विशेष गरेर लिम्बू समुदायसँग जोडिन्छ । तर, पात्रहरु भने तामाङ समुदायका छन् । तामाङ समुदायमा विशेष भनेको लुङ्दरहरु हो ।

सोनामलाई झारफुक गराउन पनि लामा नआएर लिम्बू झाँकी आउँछन् । जो ‘तागेरा निमाफुङ’ भन्दै ढ्यांग्रो पिट्छ । तर, सोनामलाई त समुदायगत हिसाबले लामा चाहिने हो । खैर, निर्देशक तमुको आफ्नै खाले दृष्टिकोण होला । तर पनि तामाङ समुदायको पात्रले सिलाम साक्मा के कारणले बनाएको हो ? दर्शकको मनमा यस खालको खुल्दुली भने उब्जनसक्छ ।

नाटकमा पात्र निर्देशक छत्रमानलाई निकै नै असंवेदनशील देखाइएको छ । ऊ स्क्रिप्ट पनि लेख्दैन । आफूलाई जे लाग्छ, त्यही नाटक हो भन्ने भ्रममा छ । अनि भद्दा मजाक गर्छ । सुरुमा दर्शकलाई लाग्नसक्छ, मानसिक समस्या सोनाममा होइन, छत्रमानमा छ ।

के रंगमञ्चमा काम गर्ने निर्देशकहरु यति धेरै असंवेदनशील छन् त ? नाटकमा यति धेरै हेलचेक्र्याइँ गर्छन् त ? अवश्य पनि त्यति असंवेदनशील छैनन् । यदि हिजो त्यस्तो हुन्थ्यो भनेर निर्देशक तमुले देखाउन खोजेका हुन् भने हिजो महसुस हुनेगरी दृश्यहरु निर्माण गर्न सकिन्थ्यो । त्यो भने गरिएको छैन ।

समग्रमा ‘समाज नै मानसिक बिरामी छ’ भनेर सकिएको नाटकले मानसिक स्वास्थ्यमाथि बहस छेडेको छ । मानसिक स्वास्थ्यमा समस्या झेलिरहेको एउटा मान्छेका कारण सिंगो परिवार र समाज कसरी बिथोलिन्छ भनेर देखाइएको छ । कोही मानसिक बिरामी हुन्छ । तर, ऊ आफ्नै कारणले मात्रै बिरामी हुँदैन । ऊ बिरामी हुनुमा धेरै फ्याक्टरहरुले काम गरेको हुन्छ । त्यसैले उसलाई साथ, सहयोग गरेर निको बनाउने जिम्मेवारी पनि सबैको हो । ‘ब्युँझिएको सिरानी’ले यही कुरालाई सघन रुपमा उठाएको छ ।

निर्देशक तमु कन्टेम्पोररी नृत्यमा पारंगत नृत्यकार हुन् । उनले आफ्नो त्यही विशेषज्ञतालाई नाटकसँग जोडेका छन् । त्यही कारण नै कम संवादमै नाटकले नृत्यमार्फत् धेरै थोक भनेको छ । पात्रको छटपटी र बेचैनीलाई नृत्यबाटै भनिएको छ । पात्रको खुसी, उल्लासलाई नृत्यबाटै भनिएको छ । पात्रको दुःख र पीडालाई नृत्यबाटै देखाइएको छ । यसकारण पनि ‘ब्युझिएको सिरानी’ पछिल्लो समय शहरमा चलिरहेको नाटकभन्दा निकै पृथक अवश्य छ ।

कलाकारहरु रुपेश लामा, वेदना राई, सुरज तमु, सृष्टि महर्जन, मनी के राई, सौजन सेनेहाङ, दीया शाक्य, रेनुका घर्ती मगर, मुस्कान राउतलगायतको अभिनयले नाटकलाई बलियो बनाएको छ । उमेश तामाङको लाइट डिजाइन, अनिल सुब्बाको कला निर्देशन, प्रवृत्ति राई, नवीन बयलकोटी र आयुषको लाइभ संगीतले नाटकलाई गजब बनाएको छ । साथै नाटक हेर्ने दर्शकलाई एक पटक मानसिक स्वास्थ्यमाथि सोच्न बाध्य बनाउँछ ‘ब्युँझिएको सिरानी’ले । यो नाटक यही असोज २८ गतेसम्म मञ्चन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *