१२ दिनपछि अवकाशमा जान लागेका सहसचिव अर्जुनजंग थापा सचिवमा बढुवा – Nepal Press

१२ दिनपछि अवकाशमा जान लागेका सहसचिव अर्जुनजंग थापा सचिवमा बढुवा

काठमाडौं । सरकारले १२ दिनको कार्यकालका लागि मात्रै सहसचिव अर्जुनजंग थापालाई प्राविधिक (इन्जिनियरिङ सेवा)तर्फको सचिवमा बढुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले दोस्रो नम्बरमा सिफारिस गरेका सहसचिव थापालाई सचिवमा बढुवा गरेको हो । थापा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका छन् ।

निजामती किताबखानाको अभिलेखअनुसार सचिव बढुवा भएका थापाले आगामी कात्तिक ६ गते अनिवार्य अवकाश पाउनेछन् । यसअघि पनि सरकारले सचिव बढुवा गर्दा अनिवार्य अवकाशमा जाने तयारीमा रहेको सहसचिवलाई केही दिन भए पनि बढुवा गर्दै आएको छ ।

सचिव सिफारिस समितिले इन्जिनियरिङतर्फ पहिलो नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान तथा प्रविधितर्फ पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुख विश्वबाबु पुडासैनी र तेस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडीलाई सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।

शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले केहि दिन अघि उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि प्राविधिकतर्फ एक सचिव पद रिक्त भएको थियो । सचिव श्रेष्ठको अवकाशसँगै प्राविधिक (इन्जिनियरिङ सेवा)तर्फ एक जना सहसचिव रिक्त भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *