आफ्नो भविष्य अन्धकार देख्नेहरु एमालेको विरोध गर्दैछन् : ओली – Nepal Press

आफ्नो भविष्य अन्धकार देख्नेहरु एमालेको विरोध गर्दैछन् : ओली

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देख्नेहरु एमालेको विरोध गरिरहेको बताएका छन् ।

एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष ओलीले विरोध गर्दा पनि एमालेलाई धराशायी बनाउन नसक्ने बताए । उनले भने, ‘एमाले काम गर्न नसकेर विरोध गरेको छैन । एमालेको राम्रो काम देखेपछि अब आफ्नै भविष्य अन्धकार हुने देखेर विरोध गरिदैछ ।’

उनले नेपाली कांग्रेस र माओवादी पनि एमालेको राम्रो काम देखेर आत्तिएको बताए । उनले चेतावनी दिए, ‘तपाईहरु सच्चिनुस् । सचिएनौं भने भविष्य राम्रो हुने छैन । अन्धकारमा जाने नै छ ।’

‘एउटा समय थियो, धेरै वर्ष अगाडी होइन् । अलिकति मात्र अगाडी । ०७४ को निर्वाचनमा हामीलाई प्रवेश गर्न दिएनन् । त्यो अवस्था थियो’, अध्यक्ष ओलीले भने, ‘तर ०७९ को निर्वाचनमा परिणाम नै बेग्लै आयो ।’ उनले देश बनाउने जिम्मेवार पार्टीलाई चिनेकोमा मधेशका जनतालाई पटक पटक धन्यवाद दिए ।

उनले मधेशबाटै संगठन निर्माण गरेको र ५० वर्ष अगाडी आफूलाई हत्या गर्न खोजेको पनि सुनाए । ‘मलाई हत्या गर्ने जिम्मा जसलाई दिएको थियो, त्यो प्रहरीले नै मलाई साइड लगायो र बाँचिए’, उनले भने ।

घटनाको ५० वर्ष भयो, प्रधानमन्त्री पनि भइसकेको देखेर आफूलाई हत्या गर्ने योजना बनाएकाहरुलाई भतभत पोलिरहेको उनको भनाई थियो ।

अध्यक्ष ओलीले कम्यूनिष्टका नाममा जनतालाई भ्रमित पार्ने काम भइरहेको पनि बताए । उनले सच्चा कम्यूनिष्टहरुलाई एमालेमा आउन आह्वान गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर