दुर्गा प्रसाईंको त्यो भाषण- बाहिर रुँघेर बस्ने, च्याप्प समाएर कालो मोसो दलिहाल्ने (भिडिओ) – Nepal Press

दुर्गा प्रसाईंको त्यो भाषण- बाहिर रुँघेर बस्ने, च्याप्प समाएर कालो मोसो दलिहाल्ने (भिडिओ)

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंमाथि गत सोमबार कालो मोसो दलिएपछि उनको एउटा पुरानो भाषण सामाजिक सञ्जालमा भाइरल भएको छ । गत फागुन १ गते प्रसाईंले एक सार्वजनिक कार्यक्रममा बैंक र लघुवित्तका कर्मचारीलाई कालो मोसो दल्न आफ्ना समर्थकलाई खुलेआम निर्देशन दिएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारसलाई समेत राखेर राष्ट्र बचाउ महाअभियानको घोषणा गर्दा उनले उत्तेजक भाषण गरेका थिए ।

प्रसाईंको भाषण यस्तो थियो-

‘ह्याँ सुन्नुस्… लघुवित्तका मान्छे गाउँमा आए भने च्याप्प समाउने कालो मोसो दलिहाल्ने । बैंकको मान्छेले टर्चर गर्‍यो भने च्याप्पसितले…. बैंक भित्र पस्यो भने डाका मुद्दा लाग्छ, बाहिर रुँघेर बस्ने कालो मोसो घस्ने । कालो मोसो दल्दा केही हुँदैन । जम्मा ५ दिन लगेर हिरासतमा राख्छ । … कालो मोसो…। त्यसले गर्दाखेरि हामीले अब लडाईं लड्नुछ । सामन्तहरुबाट मुक्ति पाउनुछ । देशका लागि लड्न तपाईंहरु तयार हुने कि नहुने ?’

प्रसाईंको यस्तो उक्साहटपछि जाजरकोटमा किस्ता उठाउने क्रममा एक लघुवित्तका कर्मचारीमाथि कालो मोसो दलिनुका साथै पैसा पनि लुटिएको थियो । प्रसाईंले ‘कालो मोसो दस्ता’ समेत गठन गरेका थिए । चितवनमा गठन गरिएको कथित कालो मोसो दस्ताका संयोजक शम्भु थापा नै पक्राउ परेपछि भने यो अभियान यत्तिकै सेलायो । तर, अहिले आएर प्रसाईंले उज्याएको हतियार उनीतिरै फर्किएको छ ।

प्रसाईंले भाषणमा आफ्ना कायकर्तालाई जे सिकाएका थिए, त्यसैलाई पछ्याएर उनीमाथि दुर्व्यवहार भयो । आफूले आयोजना गरेको पत्रकार सम्मेलनबाट निस्किने क्रममा उनलाई बाटोमा रुँघिरहेका एमाले कार्यकर्ताले कालोमोसोको लोलाले हाने । प्रसाईं निथ्रुक्कै भए ।

यस घटनामा प्रसाईंले कसैमाथि पनि उजुरी दिएका छैनन् । प्रहरीले उजुरी दिन आग्रह गर्दा पनि उनी तर्किएका थिए । उजुरी नपरेपछि प्रहरीले कसैलाई पक्राउ पनि गरेको छैन ।

प्रसाईंले त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलाई आरोपित गरेका छन् । बस्नेतले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईंलाई ‘युवाहरुले तह लगाएको’ टिप्पणी गरेका थिए ।


प्रतिक्रिया

One thought on “दुर्गा प्रसाईंको त्यो भाषण- बाहिर रुँघेर बस्ने, च्याप्प समाएर कालो मोसो दलिहाल्ने (भिडिओ)

  1. त्यस्ता सडकछापको कुरा के उचालिरहेको नि य‍ो अनलाइनले ? कि लेखेबापत प्रचण्डले दिन्छन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *