शेखरविरुद्ध कांग्रेसमा मोर्चाबन्दी, एमालेको समर्थनमा केदारलाई मुख्यमन्त्री बनाउन अघि बढे कोइराला
कोशीबाट एमालेसँग सत्ता साझेदारीको प्रस्थानबिन्दु तय गर्दै डा. शेखर, उद्धव थापाको विकल्प खोज्न कांग्रेसको संस्थापन पक्ष असहमत


काठमाडौं । डा. शेखर कोइरालाको प्रभाव रोक्न कांग्रेसभित्रै मोर्चाबन्दी बढेपछि कोशी प्रदेशको अन्तिम विकल्पको सरकार गठन पेचिलो बन्दै गएको छ ।
सत्ता गठबन्धनमा कांग्रेसभित्रै सहमति नहुँदा धारा १६८ को उपधारा ५ बमोजिमको सरकार गठन पेचिलो बनेको हो ।
सत्ता गठबन्धनसँग उक्त धारा अन्तर्गत सरकार गठनका लागि दाबी पेश गर्न चाहिने ४७ सीट छ । तर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई अघि सार्दा उनले एक महिनापछि विश्वासको मत नपाउने निश्चित छ । किनकि राप्रपाले थापालाई स्वीकार गर्दैन ।
उद्धव थापा दुई पटक मुख्यमन्त्री नियुक्त भएर पनि सरकार टिकाउन असफल बनेको र संविधानको पटक पटक उल्लंघन गरेको भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा उनको विकल्प कांग्रेसभित्रैबाट खोज्न शेखरले पहल थालेका छन् । तर शेखरलाई उनकै समूहका महामन्त्री गगन थापाले समेत साथ दिएनन् ।
मंगलवारको पदाधिकारी बैठकमा कांग्रेस संसदीय दलका नेता थापालाई बनाउन नसक्ने हो भने गठबन्धनकै अर्को घटक माओवादीलाई सघाउनुपर्ने प्रस्ताव संस्थापन पक्षले राख्दा थापा पनि त्यसमा सहमत भएका हुन् । शेखरले भने थापाको विकल्पमा केदार कार्की अघि सारेका छन् ।
केदार कार्कीको पक्षमा १२ जना कांग्रेस सांसदको हस्ताक्षर छ भने उनलाई एमालेले समेत समर्थन गर्ने आश्वासन दिएको शेखर पक्षको दाबी छ । थापाको विकल्पमा शेखरले कांग्रेसकै अमृत अर्यालको नाम समेत लिएका छन् । तर कांग्रेसभित्रै शेखरविरुद्ध मोर्चाबन्दी भएको छ ।
कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापा तथा नेताहरू कृष्ण प्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की शेखरविरुद्ध एक ठाउँमा उभिएकाले उद्धव थापाबाहेक अन्यलाई मुख्यमन्त्रीमा अघि सार्ने सम्भावना देखिएन ।
ती नेताले भने- कोशीमा शेखरको प्रभाव रोक्न सबै नेता एक ठाउँमा देखिए । अब सम्भवतः संविधानको धारा १६८ को उपधारा ५ बमोजिम जोसुकै प्रदेशसभा सदस्यले बहुमत देखाएमा मुख्यमन्त्री बन्ने व्यवस्था र सर्वोच्च अदालतको असार २८ को परमादेशले त्यस धारा बमोजिम सरकार गठन गर्दा सांसदलाई पार्टी ह्विप नलाग्ने भनेकाले केदार कार्कीलाई एमालेको समर्थन लिएर मुख्यमन्त्री बनाउने बाटोमा शेखर दाइ जानुहुन्छ । त्यसमा राप्रपालाई पनि समर्थनमा लिने तयारी छ ।
कोशीमा एमालेका ४० सांसद छन् । राप्रपा र एमाले मिल्दा पनि ४६ मात्र पुग्ने भएकाले गठबन्धन भत्काउने प्रस्थानबिन्दु कोशी बन्न सक्ने भएकाले शेखर पक्षलाई एमालेले समर्थन गर्न सक्ने नेताहरू बताउँछन् ।
यसबारेमा शेखरले एमाले र माओवादीको शीर्ष नेतृत्वसँग पनि छलफल गरेको उनीनिकट नेताहरूले बताएका छन् । प्रचण्डले उद्धव थापाको विकल्प कांग्रेसबाटै खोज्न गठबन्धनमा भने पनि कांग्रेस नेतृत्व थापाको विकल्प खोज्न तयार देखिएको छैन ।
यदि केदार कार्कीले कांग्रेसका कम्तीमा ७ जना सांसद लिएर एमालेको समर्थन पाए भने उनी मुख्यमन्त्री बन्न सक्नेछन् । त्यसमा पनि एमाले र राप्रपा एक ठाउँमै रहेका कारण केदार एक्लै भए पनि केन्द्रको सत्ता गठबन्धनले कोशीमा सरकार बनाउन सक्ने छैन । शेखर यस पटक कुनै हालतमा ब्याक हुने अवस्थामा नरहेको बताइन्छ ।
यसअघि दुई पटक कोशीमा सरकार गठन र विघटन हुँदा देउवाले शेखरसँग कहिल्यै छलफल गरेनन् । शेखरले दुवै पटक संविधान मिच्ने काम गठबन्धनले गरेको भन्दै आपत्ति जनाएका थिए । यस पटक भने शेखरले नै कोशीमा सरकार गठनको पहल लिएका छन् । उनी कांग्रेसभित्रै उद्धव थापाको विकल्प खोजेर गठबन्धनकै सरकार बनाउने पक्षमा छन् ।
तर पार्टीभित्रै पदाधिकारीहरूले आफूविरुद्ध मोर्चाबन्दी गरेका कारण उनी केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेसँग सत्ता साझेदारी गर्ने प्रक्रियामा अघि बढेको निकट स्रोतले जनाएको छ । कोशीबाट शुरु भएको एमालेसँगको सत्ता साझेदारी दीर्घकालीन हुनसक्ने उनीहरूको भनाइ छ ।
एमालेले अहिलेसम्म औपचारिक रुपमा यसबारे प्रतिक्रिया दिएको छैन । मध्यावधिमा जानबाट पनि रोकिने र सत्ता गठबन्धनलाई पनि रोक्ने उपायका रूपमा शेखर पक्षसँग सहकार्यको सम्भावना रहेको एमालेका नेताहरूले बताएका छन् । त्यसो गर्दा राप्रपा भने एमालेसँगै रहने उनीहरूको भनाइ छ ।
उद्धव थापा सिटौला पक्षका हुन् । उनको विकल्पमा देउवा पक्षकै उम्मेदवार खडा गर्न पनि पदाधिकारीहरु सहमत देखिएनन् । त्यसो त माओवादीले पनि कोशीको मुख्यमन्त्री लिन खोजेको छैन । दलको नेता इन्द्र आङ्बोलाई बनाउन प्रचण्डले गठबन्धनमा धेरै पापड बेल्न चाहेका छैनन् र उनका ज्वाइ जीवन आचार्यको पक्षमा दलभित्र सहमति बन्न सक्दैन । त्यसैले कांग्रेसले नै वैकल्पिक उम्मेदवार दिए हुन्थ्यो भन्ने चाहना प्रचण्डको छ ।
गठबन्धनको बैठकमा पनि कांग्रेसले वैकल्पिक उम्मेदवार खोजेर भने पनि कोशीमा गठबन्धनको सरकार बनाउने सहमति जुटाएको नेताहरुको भनाइ छ । तर अब शेखर भने अर्को कोर्षमा गइसकेका छन् । शेखरनिकट केदार कार्कीले आफ्नो समूहका सांसदहरुलाई एकै ठाउँमा राखेर बसेका छन् ।
कोशीमा सरकार गठनका लागि प्रदेश प्रमुखले असोज २६ गतेसम्मको समय दिएका छन् ।
काेसी प्रदेश सातवटा प्रदेशहरूमध्ये असाध्यै विवाद प्रदेश मानिन्छ ।अझै सरकार गठन र विघटनकाे त कुरै नगरौ नेपाली काङ्ग्रेसले आफ्नै पार्टीकाे उम्मेदवार मुख्यमन्त्री बन्नबाट राेक्ने घृणित खेल उच्चस्तरीय नेताहरूले खेलिरहेको बुझ्न त्यति गाह्रो छैन्। यसबाट सार्वभौम नेपाली जनताले याे बुझ्न जरुरी छ कि अब नेपालमा संघीयता असफल भईसक्याे र यसको अविलम्ब अन्त हुनुपर्छ ।