हुलाकी: पहिले सबैले खोज्थे, अहिले कसैले पुछ्दैन – Nepal Press
सन्दर्भ: विश्व हुलाक दिवस

हुलाकी: पहिले सबैले खोज्थे, अहिले कसैले पुछ्दैन

रुपन्देही । अहिले हुलाक कार्यालयमा सुरुवातमा जसरी चिठीपत्र आउने अवस्था छैन । कुनैबेला चिठीपत्रका लागि विभिन्न संस्थाले पोष्टबक्स नम्बर लिने गर्थे । प्रविधिमा आएको परिवर्तनले यसको प्रयोग नै हुन छाड्यो । जिल्लाअनुसार बनाइएको पत्र-मञ्जुषाहरु पनि प्रायः खाली देखिन्छन् ।

प्रविधिमा आएको परिवर्तनले हुलाकका कर्मचारीलाई पनि हलुका बनाएको छ । उनीहरुले जागिर सुरु गरेको दिनको हुलाक सेवा अहिले फेरिएको छ । हुलाकमार्फत गरिने व्यक्तिगत र संस्थागत सन्देश र सूचना आदानप्रदानको तरिका नै फेरिएको छ । मोबाइल, इन्टरनेट र पछिल्लो समय प्रविधिमा आएको विकासले क्षणभरमै सन्देश र सूचना आदानप्रदान गर्न सकिने भइसकेको छ ।

महिनौं पर्खेर हात पर्ने चिठीपत्रको सन्देश आजको पुुस्ताका लागि कथा जस्तै भइसकेको छ । त्यसैले त पहिलेका हुुलाकीले बोकी ल्याउने चिठीपत्रको खबर आजका पुुस्तालाई कथा लाग्ने गरेको छ । एक दशकयता व्यक्तिगत चिठीपत्र हुलाकमा आउने क्रम पातलिएको छ । हुँदाहुँदा अहिले हुुलाक कार्यालयमा पत्र नै भेटिँदैन । अहिले प्रविधिको विकासले तुरुन्तै भिडियोसहित कुराकानी गर्न मिल्छ । त्यही भएर हुलाकमा केही संस्थागत र पार्सलमात्रै आउँछ । त्यही संस्थागत पत्र र पार्सल बोकेर पुगेका हुलाकीलाई पहिले जसरी सोधखोज हुँदैन ।

हुलाकी नामले चिनिने रुपन्देहीको सियारी- २ सीतापुुरका ५६ वर्षीय चिनक कुमाललाई अहिले पनि गाउँका बुुढापाकाले उहीं हुुलाकी बाबु भनेर बोलाउँछन् । ३६ वर्षदेखि जिल्ला हुलाक कार्यालय रुपन्देहीमा कार्यरत कुमाललाई आजभोलि हुलाकी भनेर बोलाएको मनपर्दैन । तर, बुढापाकाले त्यही भन्छन् । सेवा निवृत्त हुन एक वर्षमात्रै बाँकी छ उनको ।

‘पहिले हामीलाई देख्नेबित्तिकै सम्मान हुन्थ्यो, आज कसको के खबर आयो भनेर सबैले चासोको साथ हेर्थे, सोध्थे’, उनले भने, ‘तर, आजभोलि हुलाकी भनेर बोलाउँदा जिस्काए जस्तो लाग्छ ।’

रुपन्देहीको जिल्ला हुुलाक कार्यालयमा सबैभन्दा पुराना कर्मचारी कुुमाल नै छन् अहिले । हल्काराबाट सेवा प्रवेश गरेका उनी अहिले डाँकहरुको व्यवस्थापन र तथ्यांक राख्ने काम गर्छन् ।

कुुमालले तीन दशकअघि र अहिलेको हुुलाक सेवामा धेरै फरक देखिएको सुनाए । उनले प्रविधिमा यति चमत्कार होला भन्ने कहिल्यै नसोचेको बताए ।

‘पहिले चिठी बुुझ्दा मानिसहरु खुशी हुन्थे, चिया र नास्ता दिन्थे । उस्तै सम्मान गर्थे, चिठी नै खबर आदानप्रदानको एकमात्र माध्यम थियो’, उनले थपे, ‘हामीलाई देख्नेबित्तिकै हुलाकी आयो भनेर मानिसहरु हतारिएर नजिक आउँथे ।’

त्यतिखेर विदेशबाट पैसासमेत हुलाकबाटै पठाउने र सरकारी अड्डादेखि व्यक्तिगत चिठीपत्रले हुलाक कार्यालयमा चहलपहल हुन्थ्यो ।

‘दैनिक ७-८ सय चिठी आउँथ्यो, चिठी बोकेर घर पुुग्दा मानिसहरुको अनुहारमा खुशी देखिन्थ्यो, त्यो अर्कै संसार थियो, त्यतिखेरको हुलाक सम्झँदा पनि सपना जस्तो लाग्छ अहिले’, उनले भने ।

अहिले जिल्ला हुलाक कार्यालयको पोष्टबक्स नम्बर राखिएको पत्र मञ्जुुषा बेवारिसे जस्तै छ । आजभोलि कसैले पोष्टबक्स नम्बर प्रयोग गर्दैनन् । पोष्टबक्सको ठाउँ इमेल, मेसेन्जरले लिइसके ।

‘पहिलेका हुलाकीहरुको कुरा सुन्दा कथा जस्तो लाग्छ, अहिले त हामीले संस्थागत पत्र र पार्सल बोकेर घर पुुग्दा धन्यवादसम्म पनि पाउँदैनौं’, १० वर्षदेखि जिल्ला हुुलाक कार्यालय रुपन्देहीमा कार्यरत अशोक हरिजनले गुनासो गरे ।

कुनै बेला सबैभन्दा ब्यस्त र कामकाजी हुलाक कार्यालय अहिले खुम्चिँदै गएको छ । वि.सं २०२० सालमा जिल्ला हुुलाक कार्यालयको स्थापना भएसँगै रुपन्देहीको भैरहवाबाट सेवा सुरु भएको थियो ।

साविकको लुम्बिनी अञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रमै भैरहवास्थित हुलाक सबैभन्दा बढी चिठीपत्र आउने कार्यालयमा पर्दथ्यो ।

बढ्दो सूचना प्रविधिको विकाससँगै व्यक्तिगत चिठीपत्र हुलाकबाट दर्ता र वितरणमा कमी आएको बताउँछन् जिल्ला हुलाक कार्यालय रुपन्देहीका प्रमुख हुुलाक अधिकृत ऋषिकेश रेग्मी । इन्टरनेट, मोबाइल सेवाका कारण चिठीपत्र आउनेक्रम घटेको उनको भनाइ छ ।

२०६१ सालमा लोकसेवा आयोगले हुलाक समूूह खारेज गरेर प्रशासनमार्फत कर्मचारी ल्याउन थालेपछि हुलाकको गरिमा घटेको सरकारी अधिकारीहरु बताउँछन् ।

‘समय र प्रविधिमा अपग्रेड आयो । तर, हुलाक सेवालाई समयानुकूल परिमार्जन गरेर स्पष्ट योजना बनाउन नसक्दा यो समस्या देखिएको हो’, रेग्मीले भने ।

सरकारले हुलाक सेवालाई वर्तमान समयअनुसार विकास गर्नसके यो कार्यालयको औचित्य थप बलियो हुने उनले बताए ।

हुलाकमा निजी चिठीपत्र नआए पनि अहिले पार्सलले भने भरिभराउ हुन्छ । स्वदेश तथा विदेशबाट मोबाइल, ल्यापटप, कपडा, खाद्यान्न र अन्य महत्वपूर्ण सामानहरु हुलाकमार्फत आउने गरेका छन् । हुलाक कार्यालयले वैदेशिक पार्सल चेकजाँच गरेर दर्ता र वितरण गर्ने भएकाले यो सेवा प्रभावकारी देखिएको हुलाक अधिकृत रेग्मीले बताउँछन् ।

‘नेपालका अधिकांश युुवाहरु विदेशमा छन्, कानूनले निषेध गरेकाबाहेक सबै सामान पार्सल गरेर पठाउन मिल्छ’, उनले भने, ‘अहिले रुपन्देहीमा दैनिक एक ट्रककै हाराहारीमा पार्सल आउँछ ।’

उनका अनुसार पार्सलको संख्याले हुलाक कार्यालयको महत्व थप पुुष्टि गरेको छ । नेपालका सुुगमदेखि विकटसम्म हुलाक कार्यालय रहेकाले पार्सलका लागि असाध्यै उपयोगी बनेको उनको भनाइ छ । रुपन्देहीबाट स्थलगत र हवाई मार्गबाट सेवा दिइएको छ ।

ईएमएस सेवा, साधारण हुलाक मञ्जुषा, पार्सल, साधारण र अन्य सेवा जिल्ला हुलाक कार्यालयबाट हुँदै आएको छ । पार्सल र संस्थागत चिठीपत्र, कागजपत्रका लागि हुलाक कार्यालय सहज भएकाले अहिले टिकटको राजस्वबाट हुने आम्दानी पनि बढेको छ । हुलाक अधिकृत रेग्मीका अनुसार रुपन्देहीमा मासिक ७ लाख टिकट बिक्री भइरहेको छ । त्यस्तै विदेशबाट आएका पार्सल वितरणवापत वार्षिक करोडौं विदेशी मुद्रा आम्दानी भएकोसमेत उनको भनाइ छ ।

रुपन्देहीस्थित जिल्ला हुुलाक कार्यालयले डाँक व्यवस्थापन र सञ्चालन तथा अन्य जिल्लाबाट प्राप्त डाँक वितरण, हुलाक बचत बैंक, धनादेश सेवा सञ्चालन गर्दै आइरहेको छ । यस्तै हुलाकसम्बन्धी कार्यको अतिरिक्त लोकसेवा आयोगका कार्यालय नरहेका जिल्लामा लोकसेवा आयोगको दरखास्त फारम दस्तुर संकलन, केवल टीभीको अनुगमन तथा राष्ट्रिय सूचना आयोगले तोकेबमोजिम आआफ्नो जिल्लामा अन्य कार्यालयहरुले गरेका सूचनाको हकसम्बन्धी कामको अनुगमन निरीक्षणको कामसमेत गर्ने गरेको छ ।

हुलाकमा पुरानै संरचना

सरकारले ‘एक पालिका एक हुलाक’ नीति ल्याएर अतिरिक्त हुलाक खारेजको कार्यक्रम ल्याए पनि कर्मचारीहरुले आन्दोलन गरेका कारण अहिले त्यो स्थगित भएर पुरानै संरचनामा काम भइरहेको छ । रुपन्देहीमा १ जिल्ला, १५ इलाका र ४९ अतिरिक्त हुलाक कार्यालयको संरचनाअनुसार अहिले पनि काम भइरहेको हुलाक अधिकृत रेग्मीले बताए ।

रुपन्देहीको हुलाक कार्यालयमा अहिले पनि स्थायी ३२, करार ३५ र अस्थायी १५४ जना गरी २२१ जना कर्मचारी छन् । सोमबार १४९ औं विश्व हुलाक दिवस कर्मचारीले टुगेदर फर ट्रस भन्ने नाराका साथ मनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर